बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
एसियाली खेलकुद

एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का

बुधबार, १७ असोज २०८०, ०९ : २२
बुधबार, १७ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले कम्तीमा कांस्य पदक पक्का गरेको छ । नेपालले महिला कबड्डीमा कांस्य पदक जित्ने पक्का भएको हो । नेपालले एसियाली खेलकुदको महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाएको हो । 

महिला कबड्डीको बुधबार खेलिएको समूह ‘बी’ अन्तर्गतको खेलमा इरानले बङ्गलादेशलाई ५४—१६ अङ्कले हराएपछि नेपालको पदक पक्का भएको हो । बुधबारको नतिजापछि समूह ‘बी’ बाट इरान र नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । 

सेमिफाइनलमा पराजित भए पनि नेपालको हातमा कम्तीमा कांस्य पदक पर्नेछ । कबड्डीको सेमिफाइनलमा पराजित हुने दुबै टोलीलाई कांस्य पदक प्रदान गर्ने प्रावधान रहेको छ । एसियाली खेलकुदको इतिहासमै नेपालले कबड्डी (पुरुष र महिला) मा पदक जितेको यो पहिलो पटक हो ।

बङ्गलादेश भने समूहगत चरणबाटै बाहिरिएको छ । यसअघि समूहगत चरणको आफ्नो पहिलो खेलमा गत सोमबार नेपालले बङ्गलादेशलाई ३७—२४ अङ्कले हराएको थियो । मंगलबार खेलिएको समूहगत चरणको दोस्रो खेलमा इरानले नेपाललाई ४३—१९ अङ्कको फराकिलो अन्तरले हराएको थियो । 

एसियाली खेलकुदको महिला कबड्डीमा कुल सात राष्ट्रले सहभागिता जनाएका छन् । प्रतियोगिताको समूह ‘ए’ मा भने भारत, चाइनिज ताइपेई, दक्षिण कोरिया र थाइल्यान्ड रहेका छन् । नेपालले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने टोलीको भने टुङ्गो लागिसकेको छैन । 

आफ्नो पहिलो सहभागितामै महिला कबड्डीले पदक पक्का गरेसँगै १९औँ एसियाली खेलकुदबाट नेपाल रित्तो हात नफर्कने निश्चित भएको छ । १९औँ एसियाली खेलकुद प्रतियोगिता सुरु भएको ११औँ दिनसम्म नेपालले एउटा पदक पनि जित्न सकेको थिएन । 

असोज ६ गते एसियाली खेलकुदको औपचारिक रूपमा उद्घाटन भएको थियो । जारी एसियाली खेलकुदमा नेपालले विभिन्न खेलमा दुई सय ५३ जना खेलाडीलाई सहभागिता गराएको छ । पदकको आशा गरिएको खेल तेक्वान्दो र बक्सिङमा नेपाल पदकविहीन बनेको थियो । 

एसियाली खेलकुदको इतिहासमा नेपालले सर्वाधिक पदक जितेको खेल तेक्वान्दो र बक्सिङ नै हो । एसियाली खेलकुदमा नेपालले हालसम्म तेक्वान्दोमा एक रजत र १४ कांस्य तथा बक्सिङमा ६ वटा कांस्य पदक जितेको छ । 

यसका अतिरिक्त एसियाली खेलकुदको कराँतेमा पनि नेपालले दुईवटा कांस्य पदक जितेको छ । १९औँ एसियाली खेलकुदमा भने कराँतेको स्पर्धा बिहीबारदेखि सुरु हुँदै छ । पदकको आशा गरिएको अर्को खेल पुरुष क्रिकेटमा नेपाली टोली मंगलबार क्वार्टरफाइनलमा भारतसँग पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप