आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट अभाव छः मन्त्री ज्वाला

बुधबार, १७ असोज २०८०, १६ : १६
बुधबार, १७ असोज २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताएका छन् । 

बजेटको अभावका कारण दसैँअघि नै सडक मर्मत, सम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाइ थियो । बुधवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले दसैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला समेत रहेको बताए । मन्त्री ज्वालाले भएको स्रोत र साधनको अधिकतम परिचालन गरी दसैँअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको पनि बताए । उनले काठमाडौँ उपत्यकाको खाल्डाखुल्डी भने दसैँअघि नै व्यवस्थापन गरिसक्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

मन्त्री ज्वालाले भने, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि गम्भीर छ । अब बजेटको अभाव छ । यहाँहरूलाई जानकारी छ । अव बजेटको अभावले भनेजस्तो नहुन पनि सक्छ । प्रक्रियागत झमेलाहरू पनि छन् । तर भएका स्रोतलाई अत्यधिक प्रयोग गरेर सडक मर्मत गर्ने कुरा, खाल्डाखुल्डी व्यवस्थापन गर्ने कुरा र यातायात सहज गर्ने कुरामा मन्त्रालय गम्भीर छ । दसैँअगाडि चाहिँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडकहरूका खाल्डाखुल्डी हामीले व्यवस्थित गरिसक्छौँ । यो चाहिँ समितिमा हाम्रो कमिटमेन्ट हो । त्यसै अनुसार हामीले निर्देशन दिइरहेका छौं । र, उहाँहरू त्यो काममा लागि सक्नुभएको छ । तर सडक भनेको चाहिँ सबै भौतिक पूर्वाधार मन्त्रालयको मात्रै हो कि भन्ने आम जनताको माझमा परेको छ । अव माननीय ज्युहरूलाई भन्न चाहन्छु–करिडोर अन्तर्गतका सडकहरू सहरी विकास मन्त्रालय अन्तरगत पर्दछ । कतिपय भित्री सडकहरू महानगरपालिका, पालिकाको मातहतका पर्दछन् । त्यसैले म चाहिँ भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पर्ने काठमाडौँ उपत्यकाका सडकहरूको खाल्डाखुल्डी हामी व्यवस्थित गरिसक्छौँ । र, अलि बढी गम्भीर ढङ्गले ध्यान दिनुपर्ने मुख्य सडक भनेको नारायणगढदेखि मुग्लिङसम्मको सडक खण्ड हो । पानी परिरहने र पहिरो गइरहने यो सडकमा यो वर्षचाहिँ यात्रुहरुले धेरै सास्ती भोग्नुपरेन । यस वर्ष चाडपर्वका बेला त्यहाँ पहिरो आइहाले त्यसको तत्काल व्यवस्थापन हुने गरी विशेष व्यवस्था गर्छौँ ।’

मन्त्री ज्वालाले दसैँअघि नै बसको टिकटका लागि अग्रिम बुकिङ खुला गर्ने जानकारी दिए । उनले जथाभाबी भाडा लिएर यात्रुहरूलाई ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिए ।  यात्रुहरूलाई बस भाडामा ठगिन नदिने गरी तीन वटै तहको सरकारले सहकार्य गरेर अनुगमनको कामलाई सशक्त बनाउने उनले बताए । 

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले चाडपर्वको मुखमा आएर राजमार्ग मर्मतका लागि बजेटको अभाव छ भनेर गैर जिम्मेवार बन्न नहुने बताए । उनले यात्रुहरूलाई सहज हुने गरी यातायातको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए । 

सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वाधार विकासका लागि सरकारले पुँजी नै परिचालन गर्न नसकेको गुनासो गरे । उनले एउटै परियोजनामा अर्ब बजेट विनियोजन गर्ने तर त्यसको परिचालन नहुने कुराले मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने भएकोले यसतर्फ गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप