सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथमा केबलकार बनाउन भारतको के एन्ड आर इन्जिनियरिङसँग सम्झौता

बुधबार, १७ असोज २०८०, १७ : २७
बुधबार, १७ असोज २०८०

काठमाडौँ । मुक्तिनाथ केबलकार परियोजना अघि बढाउन भारतको के एन्ड आर रेल इन्जिनियरिङसँग सम्झौता सम्पन्न भएको छ । मुक्तिनाथ दर्शन प्रालिले हैदराबादस्थित इन्जिनियरिङसँग प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

लगानी बोर्डबाट स्वीकृति प्राप्त आयोजना बनाउन भएको सम्झौतासँगै उक्त कम्पनीले सो परियोजनाका ईपीसी ठेक्का लिने छ । यस्तै, परियोजना कर्जा अपरिवर्त्य मुद्रामा उपलब्ध समेत गराउनेछ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन अध्ययन सकिएको दुई वर्ष भई सकेको छ ।

यस्तै, वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम चरणमा छ । परियोजनालाई आवश्यक पर्ने जग्गा ९० प्रतिशत खरिद प्रक्रियामा गई सकेको छ । अव कर्जा स्वरूप आवश्यक पर्ने रकम ईपीसीएफबाट व्यवस्था गर्ने भएपछि परियोजनाको वित्तीय स्रोत लगभग जुटिसकेको अवस्था छ ।

परियोजनामा २ प्रतिशत लागत प्रभावित क्षेत्रलाई आरक्षित शेयरबाट व्यहोरिने छ भने ७ प्रतिशत सर्वसाधारणका लागि शेयर निश्कासन हुनेछ बाँकी ११ प्रतिशत प्रवर्द्धक शेयर रहनेछ । यो ५५ अर्ब अनुमानित लागत रहेको परियोजना हो । कम्पनीले परियोजना विकास गर्न बाँकी प्रशासनिक र कानुनी प्रक्रिया समाप्त पारेपछि उक्त कम्पनीसँग तत्कालीन अवस्थाको मूल्य निर्धारणका आधारमा पूर्ण सम्झौता हुनेछ ।

शिलान्यास भएको मितिले बढीमा ४८ महिनामा परियोजना सम्पन्न हुने कम्पनीले जनाएको छ । समझदारी पत्रमा कम्पनीका तर्फबाट प्रवन्ध संचालक श्रीधर सापकोटा र ठेकेदारकारतर्फबाट इन्जिनियरिङका अध्यक्ष कुरु प्रविर काल्‍राले हस्ताक्षर गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप