सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
निबन्ध

‘म मात्रै राम्रो छु...’

आइतबार, २१ असोज २०८०, १२ : ०७
आइतबार, २१ असोज २०८०

‘धेरै कुरा गर्नु छ’ र ‘केही पनि गर्नु छैन,’ बिचको कडी रहेछ सायद जीवन । 

सायद किन भनिरहेको छु भने यो नहुन पनि सक्छ । मलाई मात्रै यस्तो लागेको पो हो कि ! मलाई लागेको जस्तै अरूलाई लाग्छ या लाग्नुपर्छ भन्ने पनि त छैन । 

‘तपाईंका निम्ति जीवन के हो’ भनेर सोध्यो भने मान्छेअनुसार उत्तर पनि फरक फरक आउला । 

कसैले भन्लान्, “जीवन समय कटाउने मेलो हो ।”

अनि कसैले भन्लान्, “जीवन सङ्घर्ष हो ।” 

जीवन मस्ती हो, परमात्मा पाउने अवसर हो, दुःख हो, व्यवस्थापन हो, यात्रा हो । या यस्तै यस्तै कुनै एउटा भाव व्यक्त गर्लान् । 

तर, ठ्याक्कै ‘जीवन के हो’ भन्ने परिभाषा सायदै कसैलाई थाहा होला । यदि कसैले आफूलाई थाहा भएको दाबी गर्छ भने ऊ झनै अपुरो व्यक्ति हो । 

पछिल्लो समय ‘जीवन दृष्टिकोण हो’ भन्ने लागिरहेको छ मलाई । 

हिजोआज नेपालगञ्जमा निषेधाज्ञा चलिरहेको छ । धार्मिक हिंसा नभड्कियोस् भनेर प्रशासनले केही दिन अघिदेखि लगाएको कफ्र्यु अहिले पाँच जनाभन्दा बढी भेला हुन नपाउने भन्ने कुरामा परिवर्तन भएको छ । 

फरक फरक धर्म अपनाएकाहरू र धर्म मान्दिनँ भन्नेहरू समेतलाई यसतर्फ यसो ध्यान दिन्छु । लाग्छ, जीवनलाई हेर्ने फरक दृष्टिकोणकै कारण त यस्तो अवस्था आइपरेको हो । 

अचम्म त के भने फरक फरक दृष्टिकोण राख्ने सबै जनाले आ–आफूलाई श्रेष्ठ मान्छन् । 

यहाँ ‘धर्म नै सबै कुरा हो’ भन्नेहरू पनि छन् र ‘धर्म अफिम हो’ भन्नेहरू पनि । अनि ‘आफ्नै धर्म उत्कृष्ट हो’ भन्नेहरू पनि । 

‘ईश्वरबिना संसार चल्न सक्छ,’ भनेर प्रतिक्रिया दिने स्टिफन हकिङजस्ता मान्छे पनि यही संसारमा जन्मिएका छन् । 

‘यस्तो विविधता किन भयो होला’ भनेर सोचिरहँदा म आज आफ्नो स्कुलमा पुगेँ, जहाँ त्यो बेला म आठ कक्षामा पढ्थेँ । 

नेपाली पढाउने सरले एक दिन ‘इन्द्रेणी’ मा हुने रङका बारेमा पढाउँदै हुनुहुन्थ्यो, प्रसङ्गवश सातवटा रङका बारेमा चर्चा चल्यो । 

“भोलिसम्म सबै जनाले एक एकवटा रङ हेर्ने र कहाँ कहाँ देख्यौ भनेर मलाई सुनाउने । अनि म यसका बारेमा व्याख्या गर्छु ।” सरले भन्नुभयो । 

उहाँले सबैलाई एक एकवटा रङ हेर्न भन्नुभयो । मेरो भागमा प¥यो, हरियो । 

मैले हरियो हेर्न सुरm गरेँ । म भन्दा अगाडि बसेकी एक जना साथीको कपाल बाँधेको रिबन हरियो रहेछ । नजिकै बसेकी अर्की साथीको झोलामा हरियो बुट्टा रहेछ । बाहिर त झन् हरियै हरियो । ‘हरियो चस्मा लगाएको गोरुले चैतमा पनि हरियै देख्छ’ भनेझैँ भयो एकाएक मेरो जीवन । मानौँ, संसार भनेकै हरियो हो । हरियोबाहेक केही पनि छैन । जेमा पनि मैले हरियो नै खोजिरहेको थिएँ । 

भोलिपल्ट सरले सोधेपछिको साथीहरूको उत्तरपछि पो मलाई अचम्म लाग्यो, मेरा लागि मात्रै पो थियो हरियो संसार ! अरूमध्ये त कसैका लागि कालो, कसैका लागि नीलो र कसैका लागि पहेँलो थियो ! 

आज त्यो दिन सम्झेँ र निचोड निकालेँ– आखिर दृष्टिकोण नै त रहेछ संसार । 

यसरी हेर्दा मैले आफूलाई अझै साँघुरो पाएँ । ‘ब्रह्माण्डका अनन्त ग्रहहरूमध्ये एउटा फुच्चे ग्रहमा रहेको एउटा सानो देशको, सानो गाउँको, सानो परिवारको एक सामान्य सदस्य हुँ म’ भन्ने त मलाई लागिरहन्थ्यो सधैँ, ‘दृष्टिकोण मात्रै रहेछ संसार’ भन्ने सोचेपछि त मैले आफूलाई अझै खुम्चिएको पाएँ । किनभने, जीवनमा धेरै कुरा छुट्दा रहेछन् । 

हरियोमा ध्यान दिँदा अन्य छवटा रङ छुटे । एउटा सडकमा हिँडिरहँदा अन्य लाखौँ सडक छुटिरहेका हुन्छन् । एक खालको खानेकुरा खाँदा अन्य हजारौँ प्रकारका खानेकुरा छुटिरहेका हुन्छन् । एउटा लुगा लगाउँदा अन्य कैयौँ लुगा छुटिरहेका हुन्छन् । 

के रहेछ आखिर जीवन ! काठमाडौँ गए, अरू ठाउँ छुट्छन् । विदेश गए, देश छुट्छ । जुट्नेभन्दा छुट्ने चीज कैयौँ गुणा धेरै रहेछन् । 

जीवनमा कुनै पनि चीज एउटा कणजति पनि त गर्न सकिँदैन रहेछ ! 

जब जब यसरी सोच्छु, ‘धेरै कुरा गर्नु छ’ भन्ने सपना त्यसै त्यसै कताकता बिलाएर जान्छ । 

फेरि मान्छे जुन सानो कण बराबरको प्राप्तिका निम्ति दौडिरहेको छ, त्यो पाउने मान्छे पनि कहाँ खुसी हुँदो रहेछ र ! 

लता मंगेशकरको अन्तर्वार्ता हेरिरहेकी थिएँ । पत्रकारले सोधे– “तपाईं त यतिको चर्चित मान्छे, लता मंगेशकरका रूपमा परिचय पाउँदा खुसी हुनुहुन्छ होला ।” 

उनले ‘छैन’ भनिन् । अर्को जन्ममा लता मंगेशकर हुन नपरे हुन्थ्यो समेत भनिन् । ‘हरेक मानिसको आ–आफ्नो समस्या हुन्छ।’ भनेर उनले कारण बताइन् । 

कस्तो अचम्म ! मान्छेका सपना हुन् उनी, तर...

यसरी सोचिरहँदा ‘आ, केही पनि गर्नु छैन अब’ भन्ने पनि लाग्छ । यस्तो लाग्दा अलिकति आनन्द पनि आउँछ । तर, मनले तर्क सुरm गरिहाल्छ, “फूर्ति गर्छेस् ! यहाँबाट बाहिर निस्कनेबित्तिकै पैसाको खोला बगाउनुपर्छ । पैसाबिना के खान्छेस्, के लाउँछेस्, परिवार कसरी पाल्छेस् !”

हो पनि, पैसा त चाहिन्छ नै । अनि जति बढी पैसा भयो, त्यति बढी सुख–सुविधाका साथ जीवन बाँच्न सकिन्छ । एक जना झुपडीमा बस्ने मान्छे र महलमा बस्ने मान्छे बिचको जीवनमा धेरै नै फरक पर्छ । 

अनि धेरै कमाउन समाजमा चर्चा कमाउनुपर्‍यो, मान–प्रतिष्ठा चाहियो, आफ्नो क्षमता बेच्न सक्नुपर्‍यो । क्षमता बिक्री गर्दागर्दै मान्छे ‘जीवनमा धेरै गर्नु छ,’ भन्ने अवस्थामा पुगिसक्दो रहेछ । 

यही ‘धेरै गर्नु छ’ र ‘केही पनि गर्नु छैन’ को बीचमा रुमल्लिइरहेको थिएँ आजसम्म । 

रुमल्लिनु झनै गाह्रो कुरा रहेछ । ‘धेरै गर्नु छ’ को पछि लागिरहनेहरू लागिरहेकै छन् । उनीहरूलाई मतलब नै छैन अरू कुराको । ‘केही पनि गर्नु छैन’ भन्ने साथीहरू पनि लागिपरिरहेकै छन् । उनीहरू ‘ध्यान नै जीवन हो’ भनेर सबै छोडेर लागिपरेका छन् । 

यता म छु, दुवै ठिक लाग्छ कहिलेकाहीँ । एउटा ठिक लागेर त्यसैमा लागिरहेका बेला अर्को भावले बिथोलिदिन्छ । फेरि अर्को ठिक लागेर त्यसमा लाग्न खोज्दा पहिलो भावले बिथोलिदिन्छ । दुई भावले आपसमा लडिरहेका छन्, नेपालगञ्जमा भइरहेको दुई पक्षबिच हुन खोजेको झडपजस्तै । उनीहरूलाई जस्तै मलाई पनि थाहा छ, मेरा दुई भावले आपसमा युद्ध गरे भने हानी मलाई नै हुन्छ । 

यसरी सोचिरहँदा कता कता भित्रैदेखि सकस भएको महसुस गरेँ मैले । 

जीवन सहज बनाउनु त छँदै छ जसरी पनि । नभए दुःख आफैँलाई हो । आफ्नो दुःख अरू कसैले आएर भोगिदिने पनि होइन । 

यस्तो दोधारको मनस्थितिमा मैले एउटा निचोड निकालेँ – 

म एउटा सडकमा हिँडिरहेको छु भने अरू सडकका बारेमा सोच्नु त मेरै कमजोरी हो नि । म नेपालमा छु भनेर अमेरिका या बेलायत किन सोच्छु ? घरमा बस्दा अफिस किन पुगिरहेको हुन्छु ? चाउमिन खाँदा मःमः किन सम्झिरहेको छु ? 

म एक नर्स । यदि नर्सिङको काम गरिरहेको छु भने मलाई राजनीति किन चाहियो ? जहाँ छु, जे गरिरहेको छु, त्यहीँ म किन गहिराइमा छैन । तन र मन किन फरक फरक ठाउँमा छ ? जहाँ तन हुन्छ, त्यहीँ मन किन हुन सक्दैन ? 

ओहो, मेरो समस्या यहीँ थियो सायद । यस्तो चिन्तनपछि साह्रै आनन्द आयो । 

अहँ, अझै पूरै सन्तुष्ट भने हुन सकिनँ । नेपालगञ्ज या कुनै पनि ठाउँमा लड्न खोजिरहेका दुई पक्षकै मान्छेहरूको सोच पनि त यही हो । एउटा सम्प्रदायमा लागेको मान्छेले आफ्नै सम्प्रदायका बारेमा बढी सोचेर त समस्या भयो । 

अनि मैले आफ्नो निचोडलाई थोरै परिमार्जन गरेँ – 

मैले खाइरहेको खानेकुरा, हिँडिरहेको बाटो, गरिरहेको पेसा, अपनाइरहेको मार्ग, सुनिरहेको दर्शन, मानिरहेको धर्म, बसिरहेको ठाउँ– यी सबै राम्रा छन् । तर, ‘तर यो मात्रै राम्रो छ’ भन्ने सोचले आफैँलाई हानी गर्छ । ‘म राम्रो छु’ भन्नु आत्मविश्वास हो, तर ‘म मात्रै राम्रो छु’ भन्नु अहङ्कार । ‘मेरो धर्म राम्रो छ’ भन्ने भावले समाजमा सहिष्णुताको वातावरण बनाउँछ भने ‘मेरो मात्रै राम्रो’ भन्ने भावले आपसमा द्वेषभाव निम्त्याउँछ । 

समस्या के छ आखिर, विश्वमा भएका सात अरबमध्ये सातै अरब मानिस फरक फरक छन् । कुनै पनि दुई जनाको औँठाछाप एकै जनाको जस्तो छैन । संसारमा रहेका रुखका पातसमेत गहिराइमा हेर्दा फरक फरक हुन्छन् । 

यहाँ के छ एउटै, केही पनि त छैन ! आफूजस्तै भएन भनेर के अरू मानिसलाई मानिस नै होइनन् भन्ने ! आफूले देखेको बाहेक ठाउँ नै छैन भन्ने ! 

प्रश्न उठाउन सकिन्छ, “उसले मलाई नराम्रो भन्यो, त्यसैले मैले प्रतिकार गरेँ । उसले आफू राम्रो भनोस्, तर आफू मात्रै राम्रो नभनोस् न, समस्यै हुन्न नि !”

अरबौँ मानिसमा दुई–चार मानिस चोर भए भने सबै जनालाई चोर भन्न मिल्दैन । यस्तै अराजकता उत्पन्न नहोस् भन्नकै निम्ति त नियम–कानुन बनेका हुन् । 

त्यसैले मेरो आग्रह पनि छ – हामी भीडको पछि नलागौँ । बरु, नियम–कानुनलाई निष्पक्ष कार्यान्वयन गर्न सहयोग गरौँ । यदि यस्तो भएन भने बरु आवाज उठाऔँ । ध्यान दिएर बसौँ, हामीले जिताएर पठाएका नेताले राम्रो गरेका छन् कि छैनन् ? छैनन् भने चुनावबाट नामोनिशान मेटाइदिऔँ । तर, सिस्टमबाहिर आफू पनि नजाऔँ र नजान प्रोत्साहित पनि गरौँ । 

‘म राम्रो छु’ भन्दा जुन सरल आनन्द आउँछ र आत्मविश्वास बढ्छ, ‘म मात्रै राम्रो छु’ भन्दा कहाँ आउँछ ! धन्यवाद ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अन्जु न्यौपाने
अन्जु न्यौपाने
लेखकबाट थप