शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

जनताको पिर-मर्काबारे सचेत छु, आफू राजा नबन्ने कुरामा सतर्क छु : राष्ट्रपति

आइतबार, २१ असोज २०८०, १६ : ४३
आइतबार, २१ असोज २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताका पिर-मर्काका बारेमा आफू सचेत रहेको बताएका छन् । साथै उनले संविधान विपरीतका काम कारबाहीलाई जायज मान्न नसकिने प्रस्ट पारेका छन् । 

आइतबार विभिन्न सञ्चरामाध्यमका सम्पादकहरुलाई शीतल निवासमा बोलाएर छलफल गरेका राष्ट्रपति पौडेलले आफू जनताका पिर-मर्का र धेरै समस्याबारे सचेत रहेको भन्दै आफ्नोतर्फबाट गर्नुपर्ने योगदानमा कुनै कमी हुन नदिने बताएका हुन् । 

‘म विकसित घटनाक्रमहरुप्रति सचेत छु । जनतालाई पिर-मर्का पार्नु हुँदैन भन्ने कुरामा पनि पहिलादेखि नै ध्यान पुर्‍याउँदै आएको छु’, राष्ट्रपति पौडेलले भने, ‘केही कुरामा सरकारलाई सुझाव समेत दिएको छु ।’

अर्थतन्त्रका बारेमा विज्ञहरुसँग आफूले छलफल गरेर सरकारलाई स्वेतपत्र जारी गर्न सुझाव दिएको राष्ट्रपतिको भनाइ छ । 

राष्ट्रपतिसँगको छलफलमा सम्पादकहरुले जनतामा देखिएको निराशा, व्यवस्थाप्रतिको आक्रोश, रिगलको कैद कट्टा प्रकरणको विषयले राजनीतिक दल र राष्ट्रपति संस्थाप्रति नै आलोचना भएको प्रशंग उठाएका थिए । पत्रकारहरुको कुरा सुनेपछि राष्ट्रपति पौडेलले संक्षिप्तमा आफ्ना केही धारणाहरु पनि राखेका थिए । 

‘रिगलबारे सरकारले प्रस्ट पार्नुपर्छ’ 

योगराज ढकाल रिगलको कैद कट्टा प्रकरणमा आफू र राष्ट्रपति संस्थामाथि नै भएको आलोचनाबारे पनि जानकार रहेको राष्ट्रपति पौडेलले बताए । 

‘रिगल प्रकरणमा जसरी राष्ट्रपतिमाथि प्रश्न उठ्न पुगेको छ त्यसमा सरकारले स्पष्ट पार्नुपर्छ’, राष्ट्रपति पौडेलले भने, ‘गणतन्त्रमा म आफू राजा नबन्ने कुरामा पनि सर्तक छु ।’ उनले रिगल प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले समेत आफूसँग कुराकानी गरेको भन्दै जनतालाई धेरै कुरा थाहा नहुने र बाहिर आएका कुराहरुमा विस्वास गर्नुपर्ने अवस्था रहेको बताए । 

‘पछिल्लो समय योगराज ढकाल ‘रिगल’ प्रकरण जो चर्चामा आयो । त्यो प्रक्रिया पुगेर आएको डकुमेन्ट थियो’, पौडेलले भने, ‘आम माफीका लागि सिफारिस भएका केही नाम त मैले फिर्ता पनि गरेको हुँ । तर एकएक जनाको नाममा मैले मिहिनेत गर्न सकिनँ, खोतल्न सकिनँ ।’ 

राष्ट्रपति पौडेलले आफू फ्याट्ट राष्ट्रपति नभएको पनि बताए । आफूसँग केही अनुभव रहेको भन्दै आफूले सुरुमै सरकार र गठबन्धनलाई संविधानविपरितका काम नलगाउन आग्रह गरेको सुनाए । 

‘म फ्याटटै राष्ट्रपति बनेको होइन,त्यसैले मैले सुरुमै सरकारलाई संविधानविपरित काम गर्न नगराउनुहोला भनेको पनि थिएँ । त्यसमा ‘टेकअन फर ग्रान्टेट’ नलिनुहोला भनेको थिएँ’, राष्ट्रपति पौडेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप