मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमा मिर्गौला खराबीको जोखिम बढी

मङ्गलबार, २३ असोज २०८०, १५ : ४०
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमा मिर्गौला खराबीको जोखिम धेरै देखाएको छ । वैदेशिक रोजगारी जाने र स्वदेशमै रहेका नेपालीहरूबिच गरेको एक अध्ययनले यस्तो नतिजा देखाएको हो ।

एक गैरसरकारी संस्थाले गरेको अध्ययन अनुसार स्वदेशमै रहेका नेपालीको तुलनामा वैदेशिक रोजगारीमा गएका नेपालीमा मिर्गौला सम्बन्धी समस्या बढी देखिएको हो ।

मलेसिया तथा खाडी मुलुकमा कार्यरत नेपाली मिर्गौलामा बढी समस्या देखिएको अनुसन्धानकर्ता डा. निर्मल अर्यालले जानकारी दिए । उनका अनुसार मधेस प्रदेशसँगको सहकार्यमा धनुषाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ गाउँपालिकामा अध्ययन गरिएको हो ।

अध्यययनमा विगत एक वर्षभित्र खाडी मुलुक कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन तथा मलेसियामा काम गरी नेपाल फर्किएका ७१८ जना पुरूषको मिर्गौलाको परीक्षण गरिएको थियो ।

त्यस्तै उक्त अध्ययन सोही क्षेत्रका ७२० (३७९ पुरूष र ३४१ महिला) स्थानीयको समेत मिर्गौला परीक्षण गरिएको थियो । दुवैबिच तुलना गर्दा स्वदेशमै रहेकाको भन्दा बढी वैदेशिक रोजगारीमा गएकाहरूको मिर्गौलामा समस्या देखिएको अनुसन्धानकर्ता अर्यालले बताए ।

अध्ययनको क्रममा रगतमा भएको क्रियटिनिन तत्वको मात्राका आधारमा मिर्गौलाले एक मिनेटमा कति रगत छान्छ भनेर हेरिएको थियो । जसमा विदेश जानेहरूमा मिर्गौलाको कार्यक्षमतामा कमी देखिएको हो ।

अध्ययनको नतिजा अनुसार मिर्गौलाको अवस्था जनाउने सबैभन्दा महत्त्वपूर्ण परीक्षण मानिने ग्लोमेरूलर फिल्ट्रेशन रेटको क्षमतामा कमी ५.८ प्रतिशत थियो । जबकि स्वदेशमै रहेकाहरूको हकमा ३.६ प्रतिशत थियो । गैरआप्रवासीहरूमा पनि कहिल्यै विदेश नगएका पुरूष र महिलाहरूभन्दा पूर्व आप्रवासीहरूमा बढी समस्या देखिएको छ ।

परीक्षणले रगतमा क्रियटिनिन भन्ने तत्वको मात्रालाई हेरी त्यसमा उमेर र लिङ्गलाई समायोजन गरी मिर्गौलाले एक मिनेटमा कति मात्रामा रगत छान्छ भन्ने निर्क्यौल गर्ने गरिएको अर्यालले बताए । त्यो घट्दो दरले मिर्गौलाको कार्य क्षमतामा कमी आएको मानिने उनको भनाइ छ ।

रगतमा क्रियटिनिनको औसत आप्रवासीहरूमा बढी देखिएको अर्यालले बताए । गैरआप्रवासीमा ०.७२ र आप्रवासीमा ०.८८ देखिएको उनले जानकारी दिए । विदेशबाट फर्किएकाहरूमा स्थानीयको तुलनामा उच्च रक्तचाप, मधुमेह, मोटोपनलगायत समस्या पनि बढी देखिएको उनले बताए ।

जीवनशैलीसम्बन्धी अन्य कारक तत्वहरू जस्तै मदिरापान, धुम्रपान, सुर्तीसेवन जस्ता कारणले समेत उनीहरूमा जोखिम बढाएको अर्यालको भनाइ छ ।

सेक्युरिटी गार्डको रूपमा काम गर्दै आएका नेपालीमा यस्तो खालको समस्या बढी देखिएको छ । उनीहरूले लामो समय ड्युटी गर्ने, पर्याप्त पानी खान नपाउने, पेनकिलर धेरै खाने, अत्यधिक मादकपदार्थ सेवन गर्ने जस्ता कारण उनीहरूमा समस्या देखिएको उनको भनाइ छ ।

कतिपयमा पहिल्यै मिर्गौला खराबीको जोखिम रहेको पाइएको उनको भनाइ छ । २० वर्ष पूरा भएको र विदेशबाट फर्किएको १२ महिना ननाघेका व्यक्तिमा सो अध्ययन गरिएको थियो । गैरआप्रवासीको हकमा भने २० वर्षदेखि ५० वर्ष उमेरसमूहका व्यक्ति थिए ।

अध्ययनमा सहभागी ९० प्रतिशत कतार, साउदी अरब र मलेसियामा कार्यरत नेपाली थिए । जसमा दुई तिहाई बढी निर्माण क्षेत्र र उद्योग क्षेत्रमा कार्यरत थिए । उनीहरूले औसतमा दैनिक १०.७ घण्टा काम गर्ने गरेको बताएका थिए । ४५.५ प्रतिशतले गर्मीमा काम गर्नुपरेको बताएका थिए ।

बेलायतको बर्नमथ विश्वविद्यालय र ग्रीनतारा नेपालले गरेको सो अध्ययन अनुसार विदेशमा लामो समय काम गरेका र विशेषतः सुुरक्षागार्ड र सवारी चालकहरूको मिर्गौला रोगको समस्या बढी देखिएको अनुसन्धानकर्ता अर्यालले बताए ।

बाहिर काम गर्ने, गर्मीमा काम गर्ने र धुलोको सामना गर्नेहरूमा समेत मिर्गौला रोगको जोखिम बढी देखिएको छ ।  

परीक्षण गरिएकाहरूको तीन महिनापछि पुनः परीक्षण गर्न नसकिएको उनको भनाइ छ । अध्ययनका क्रममा तीन महिनापछि पुनः मिर्गौला परीक्षण गर्नुपर्ने हुन्थ्यो । तर, उनीहरू छोटो समयका लागि बिदा लिएर नेपाल आएका र बिदा सकिएपछि विदेश फर्किसकेकाले पुनः अध्ययन गर्न नसकिएको उनको भनाइ छ ।

मिर्गौला रोग विशेषज्ञ तथा अनुसन्धानमा संलग्न प्राडा अरुण सेढाईंले समुदायस्तरबाट यस्तो पहिलो अध्ययन भएको बताए । अरू बेला अस्पतालमा आउने बिरामीको आधारमा सामान्य खालको अध्ययन हुने गरे पनि यो समुदायस्तरमै गएर ठूलो मासमा गरिएको उनको भनाइ छ ।

कतिपय मिर्गौलाका बिरामी विदेशबाट स्वदेश फर्किदा एयरपोर्टबाट सिधै अस्पताल आउने गरेको डा. सेढाईंले बताए । अब समुदायसँगै हस्पिटलबेस अध्ययन हुनुपर्ने बताउँदै उनले त्यसका लागि राज्यले पहल गर्नुपर्नेमा जोड दिए ।

विदेशमा रहेका नेपालीहरूको प्राकृतिक मृत्यु भनेर टार्ने काम गरिएको भन्दै त्यसमा मृत्युको कारण पनि खोजिनुपर्ने उनले बताए ।

‘मिर्गौला, मुटु जस्तामा समस्या आएर मरेका पनि हुन्छन् । तर, विदेशमा पोष्टमार्टम नै नगरी नेचुरल डेथ भनिन्छ । कमसे कम पोष्टमार्टम गर्न पायो भने कारण त पत्ता लगाउन सकिन्थ्यो,’ उनले भने ।

सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई विभिन्न जोखिम तथा लाग्न सक्ने रोग सम्बन्धमा सचेत बनाएर पठाउनुपर्ने उनको जोड छ ।

जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका डा. श्रवणकुमार मिश्रले विदेश जाँदा मात्र नभई फर्किदा समेत स्वास्थ्य परीक्षण गराउनुपर्ने बताए ।

अरूको देश बनाउन गएका युवाहरू आफू भने बिरामी भएर आउने गरेको भन्दै उनले त्यसका लागि समयमै सोच्नुपर्ने बेला आएको बताए ।

‘हामी आफ्नै देश होइन, अरूको देश बनाइरहेका छौँ । तर, घर फर्किदा जीवनभरका लागि अशक्त बनेर फर्किरहेका छौँ । उनीहरूको देश बनाउँदा आफ्नो स्वास्थ्य भने खराब भइरहेको छ । यसबारे सबैले सोच्नुपर्ने देखिन्छ,’ उनले भने ।

त्यसका लागि विदेश जाने बेलामात्र नभई स्वदेश फर्किएपछि समेत स्वास्थ्य परीक्षण गराउनुपर्ने वातावरण राज्यले सिर्जना गरिदिनुपर्ने मिश्रको भनाइ छ ।

‘अहिले हामीले गरेको अनुसन्धान सानो क्षेत्रमा भए पनि यसले समग्र देशकै प्रतिनिधित्व गर्छ । धनुषामा जस्तो खालको नतिजा आयो, त्यो देशैभरको हो । हामी समयमै सचेत हुन सकेनौँ भने यसले भोलि ठूलो समस्या निम्त्याउन सक्छ,’ उनले भने ।

पूर्व प्रस्थान अभिमुखीकरणमा जीवनशैली जोखिम (जस्तैः रक्तचाप, सुगर, रक्सी सेवन, धुम्रपान) बारे विस्तृतमा जानकारी गराउन सकियो भने जोखिम कम गर्न सकिने अनुसन्धानकर्ता अर्यालले बताए ।

नेपाली दूतावास, नेपाली संघ संस्थाहरूले समेत स्वास्थ्य र जीवनशैलीका विषयमा विदेशमा कार्यरत नेपालीहरूलाई सचेत गराउनुपर्ने उनको भनाइ छ । यस्ता कार्य गर्न सकेको खण्डमा वैदेशिक रोजगारीमा जाने नेपालीहरूमा हुने मिर्गौला समस्याको जोखिम कम गर्न सकिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप