आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना : २९ हजार जनशक्ति परिचालन गरिने

शुक्रबार, २६ असोज २०८०, १६ : ३९
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । सशस्त्र प्रहरीले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना तयार पारेको छ । सशस्त्र प्रहरीका निरीक्षक दिल कुमार श्रेष्ठले जारी गरेको प्रेस नोटअनुसार चाडपर्वमा २९ हजार १ सय ५४ जना जनशक्ति सुरक्षा योजना अन्तर्गत परिचालित गर्ने गरी योजना तयार गरिएको छ । यस्तै तत्कालै खटाउन सक्ने गरी करिब २ हजार ९ सय २९ जना सशस्त्र प्रहरी कर्मचारी तयारी हालतमा पनि राखिएको छ । उनका अनुसार करिब ७५ प्रतिशत जनशक्ति फिल्डमा खटिने छन् । 

चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानहरूमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजना अन्तर्गत रही चाडपर्व विशेष सुरक्षा योजना तयार पारिएको सशस्त्र प्रहरीको भनाइ छ । 

यसैगरी देशभरका इकाइहरुले सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आगमनको व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पु¥याउने अभिप्रायले भारत र चीनतर्फका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा १ सय २५ स्थानमा हेल्प डेस्क (नागरिक सहायता कक्ष) र ३३ स्थानमा हेल्थ डेस्क (नागरिक स्वास्थ्य सहायता कक्ष) समेत स्थापना गरेको सशस्त्र प्रहरीले जनाएको छ । 

साथै झापाको पूर्वी नाका काँकडभिट्टाको मेची पुल इलाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ  र लागूऔषध पहिचान गर्न सक्ने तालिम प्राप्त डग समेत परिचालन गरिएको छ । 

दसैँ, तिहार, छठ तथा अन्य चाडपर्वमाहरुमा हुने सक्ने आपराधिक क्रियाकलापहरूको रोकथाम एवं नियन्त्रण गर्न सशस्त्र प्रहरीको गस्ती, पेट्रोल, चेक प्वाइन्ट ड्युटी खटिनुको साथै मुख्य राजमार्गमा हुनसक्ने घटना लगायत दुर्घटनाहरूलाई न्यूनीकरण तथा दुर्घटना भएमा समयमै उद्धार गर्न ५३ स्थानमा एम्बुलेन्स सहितको आई.आर.टी. टोली परिचालिन गरिने सशस्त्र प्रहरीको भनाइ छ । 

यसैगरी प्राकृतिक तथा मानवसृजित विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्ने गरी सशस्त्र प्रहरी बल नेपालले धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङ्गको भालुवाङ्ग, सुर्खेतको चिप्ले, डडेलधुराको अमरगढी र सिन्धुलीको खुर्कोट गरी ८ ठाउँमा स्थापना गरिएको विपद् व्यवस्थापन बेसमा आवश्यक स्रोतसाधनसहित तालिम प्राप्त जनशक्ति तयारी हालतमा राखिएको छ । यस्तै स्वास्थ्यकर्मी सहित सुविधा सम्पन्न ८ वटा एम्बुलेन्स र ठुलो दुर्घटना घटेको समयमा एकै पटक घाइते बिरामीलाई अस्पतालसम्म लैजान सकिने गरी मास क्याजुअल्टी भेइकल (एमसीबी) समेत सातै प्रदेश र उपत्यकामा तयारी हालतमा राखिएको छ ।   

सुरक्षा योजना अन्तर्गत ५ सय ६३ स्थानमा पैदल गस्ती, ३ सय ६६ स्थानमा मोबाइल गस्ती, ३७ स्थानमा एलआरपी (लामो दुरीको गस्ती), २ सय ९ स्थानमा क्यु.आर.टी. र ३ सय ७३ स्थानमा चेकप्वाइन्ट तथा पिकेट ड्युटीमा सशस्त्र प्रहरी कर्मचारी तैनाथ हुने पनि श्रेष्ठको भनाइ छ । यस्तै उपत्यकाका विभिन्न स्थानहरूमा ५ वटा अनुगमन टोली समेत परिचालित हुने सशस्त्र प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप