शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनएमा प्रस्तावक र समर्थक खोज्नै मुस्किल, हालसम्म कतिले दिए उम्मेदवारी ?

आइतबार, २८ असोज २०८०, २२ : ३१
आइतबार, २८ असोज २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन कार्यक्रमअन्तरगत उम्मेदवारहरुलाई प्रस्तावक र समर्थक खोज्नै मुस्किल देखिएको छ । एनआरएनएमा उम्मेदवारको प्रस्ताव र समर्थक २/२ जना हुनुपर्ने व्यवस्था छ । त्यसमा पनि डेलिगेट रहेकामध्येबाट संघको बालुवाटारस्थित कार्यालयमा पुगेर सनाखत गरेपछि मात्रै प्रस्तावक र समर्थक बस्न पाइने नियम छ भने एक जनाको प्रस्तावक र समर्थक बसिसकेको व्यक्ति अर्को व्यक्तिको फेरि समर्थक र प्रस्तावक नपाइने व्यवस्था छ । सीमित एनआरएनएमात्रै काठमाडौँमा रहेको तथा त्यसमा पनि धेरै उम्मेदवार हुँदा प्रस्तावक र समर्थक जुटाउन हम्मेहम्मे परेको हो । यस्तै उम्मेदवार रहने व्यक्ति प्रस्तावक र समर्थक बस्न नपाइने नियम पनि छ । 

मनोनयन दर्ताको समय सोमबारमात्रै बाँकी रहँदा अझै धेरै आकांक्षीले मनोनयन दर्ता गराउनै बाँकी रहेको बताइएको छ । गैरआवासीय नेपाली संघको निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालले मनोनयन दर्ता सोमबारसम्म जारी रहने बताए । उनका अनुसार मनोनयन दर्ताको पहिलो दिन असोज २५ गते एक जनाले मात्रै उम्मेदवारी दर्ता गराएका थिए । यस्तै २६ गते १४ जना, २७ गते १० जना तथा आइतबार २८ गते २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

उनका अनुसार आइतबारदेखि मनोनयन दर्ता गराउने चाप देखिएको छ भने सोमबार थप चाप हुने बताए । हालसम्म अध्यक्षमा बद्री केसी र आरके शर्माले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा महेश श्रेष्ठ र रविना थापाले समेत आकांक्ष देखाएका छन् । 

निर्वाचन समितिका सदस्य ढकालले निर्वाचन प्रक्रिया सहजरुपमा अघि बहिरहेको पनि जानकारी दिए ।  उनकाअनुसार सोमबार नेपाली समय अनुसार सोमबार दिउँसो १ बजेसम्ममात्रै उम्मेदवारी दर्ताको समय रहेको छ । ढकालले कम्तीमा निर्वाचित हुने पद भन्दा दोब्बर  उम्मेदवारी दर्ता हुने अपेक्षा गरिएको बताए । हाल उम्मेदवारी दर्ता केन्द्रीय कार्यालयमै हुँदै आएकोमा  सोमबारको उम्मेदवारी दर्ता होटेल सोल्टीमा हुने पनि उनको भनाइ छ । 

chiranjibi

१९ तारिख होटेल सोल्टीमा हुने निर्वाचन सम्पन्न भएको आधादेखि १ घण्टाको समयमा मत परिणाम सार्वजनिक हुने पनि जानकारी दिए ।

यसैबीच उम्मेदवारलाई प्रस्तावक र समर्थक भेट्न मुस्किल परेको विषयमा उनले आफूहरूको मूल उद्देश्य नै धेरै भन्दा धेरै एनआरएनहरूलाई काठमाडौँ बोलाउने रहेको बताए । सन् २००३ मा एनआरएन गठन हुँदा संस्थापक सचिव समेत रहेका ढकालले अहिले अनलाइन मतदान भएका कारण थोरै मानिसहरू नेपाल आउने भएकाले प्रस्तावक र समर्थक दुई दुई जना राखिएको बताए । उनले भने कम्तीमा १ जना उम्मेदवार बन्दा ५ जना अनिवार्य उपस्थित हुनु पर्ने भएकाले यसले नेपाल आउनेको सङ्ख्या पनि बढ्ने बताए । 

एनआरएनए निर्वाचनबाट अध्यक्षसहित ७४ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । जसअनुसार महाधिवेशनबाट अध्यक्षसहित उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३, महिला सहकोषाध्यक्ष १ महिला संयोजक १ र  युवा संयोजक १ जना निर्वाचित हुनेछन् । 

यसैगरी क्षेत्रीय संयोजक प्रत्येक क्षेत्रबाट १–१ जना गरी ६ जना, क्षेत्रीय उपसंयोजक १२ जना निर्वाचित हुनेछन् । जसमा अफ्रिका क्षेत्रबाट २ र अन्य क्षेत्रबाट ३ जनाका दरले निर्वाचित हुने विधानमा उल्लेख छ । यस्तै क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय युवा संयोजक ६ जना, क्षेत्रीय युवा उपसंयोजक पनि ६ जना निर्वाचित हुनेछ । संयोजक र उपसंयोजक उनीहरु सबै प्रत्येक क्षेत्रबाट १–१ जनागरी ६ जना निर्वाचित हुने भएका हुन् । यसैगरी दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक १ जना निर्वाचित हुने विधानमा व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप