तीन दिनमा एक लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिए
काठमाडौँ । नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार तीन सय नौ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए । उनका अनुसार असोज २७ बिहान ६ बजेसम्म ४७ हजार छ सय ४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार दुई सय ७९ र आज बिहान ६ बजेसम्म ५१ हजार तीन सय ८७ यात्रु बाहिरिएका छन् ।
ट्राफिकले अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ । ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वको यातायात सहजताका लागि ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र एक हजार आठ सय जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताए ।
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमासमेत घर जाने यात्रुको भीड लागेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताए ।
“लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्याधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयको भन्दा अगाडि सारेका छौँ,” उनले भने । दसैँका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए ।
सरकारले दसैँकोे यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताए । यात्रुलाई सहज रुपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल
-
सत्ता समीकरणमा फेरियो अङ्कगणित, सरकार सुरक्षित
-
कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त
-
करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि
-
एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी
-
सभामुख घिमिरेले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक