मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कुन क्षेत्रमा कस्तो उखु रोप्ने ?

बिहीबार, ०२ कात्तिक २०८०, १६ : ३४
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । नगदे बालीका रुपमा रहेको उखु तराई मधेसमा खेती हुन्छ । २७ वर्ष यता देशभर उखुका ७ वटा जात खेतीका लागि सिफारिस भएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले जीतपुर–१, जीतपुर–२, जीतपुर–३, जीतपुर–४, जीतपुर–५, जीतपुर–६ र जीतपुर–७ जात सिफारिस गरेको हो ।

नार्कले २०५३ सालमा जीतपुर–१ र जीतपुर–२ सिफारिस गरेको थियो । पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चलको सिञ्चित तराई क्षेत्रमा खेतीका लागि जीतपुर–१ जात सिफारिस गरिएको हो भने सोही क्षेत्रको असिञ्चित क्षेत्रमा खेती गर्न जीतपुर–२ सिफारिस गरिएको छ ।

यी दुवै जातका उखु बाली ३ सयदेखि ३ सय ६० दिनमा तयार हुने नार्कले उल्लेख गरेको छ । नार्कका अनुसार, जीतपुर–१ ले प्रतिहेक्टर ७१ मेट्रिक टन उखु उत्पादन दिन्छ । जीतपुर–२ प्रतिहेक्टर ९२ मेट्रिक टन उत्पादन गर्न सकिने नार्कले जनाएको छ ।

तराई क्षेत्रमा जीतपुर–३ र जीतपुर–४ जातका उखु खेती गर्न सकिने नार्कले सुझाएको छ । यो जातको उखु रोपेको ३ सयदेखि ३ सय ६० दिनमा तयार हुन्छ । यी दुवै जात २०६० सालमा सिफारिस भएका हुन् । जीतपुर–३ बाट प्रतिहेक्टर ७९ दशमलब २ मेट्रिक टन उत्पादन हुन्छ । जीतपुर–४ प्रतिहेक्टर ८६ मेट्रिक टन उत्पादन हुने नार्कले जनाएको छ ।

नारायणी नदी पूर्वका तराई तथा भित्री मधेसका क्षेत्रमा जीतपुर–५, ६ र ७ सिफारिस गरिएको छ । यी तीनै जात २०७७ मा सिफारिस गरिएको हो । यो ३ सयदेखि ३ सय ३० दिनमा तयार हुन्छ । जीतपुर–५ जातको उखु बालीले प्रतिहेक्टर ७१ मेट्रिक टन उत्पादन हुन्छ । जीतपुर–६ को खेतीबाट प्रतिहेक्टर ८३ मेट्रिक टन उत्पादन लिन सकिन्छ । यस्तै, जीतपुर–७ जातको उखु खेती गरेमा ८३ दशमलब ३ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुने नार्कले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप