बैंकको ५० खर्बभन्दा बढी लगानी कहाँ जाँदैछ ?

काठमाडौँ । केही समय अघिसम्म बैंकहरुले कर्जा लगानी गर्ने ठाउँ नै भेटिरहेका थिएनन् । २० वटा वाणिज्य बैंकले मात्र ५–६ खर्ब रुपैयाँ तरलता (लगानी योग्य पुँजी) होल्ड गरेर बसेका थिए । आर्थिक मन्दीका बाबजुद बढ्दो ब्याजदर तर उपभोग्य बजारको शिथिलताका कारण कर्जाको माग घटेपछि बैंकहरु अत्तालिएका थिए ।
तर, पछिल्लो समय एकाएक वित्तीय इतिहासमै रेकर्ड बस्ने गरी बैंकहरु तीब्र लगानीमा उत्रिएका छन् । कर्जा लगानीमा बैंकहरुले हालसम्मकै उच्च ५० खर्ब कटाएका छन् । यस्तो रेकर्ड दसैँकै मुखमा रहन पुगेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०८० असोज २९ गते बैंक तथा वित्तीय संस्थाहरुले कुल ५८ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप (डिपोजिट) संकलन गर्दै ४९ खर्ब ७० अर्ब रुपैयाँमात्र कर्जा लगानी गरेका थिए । तर यसको भोलिपल्ट अर्थात् असोज ३० गते नै एकाएक बैंकहरुको कर्जा लगानी बढेर ५० खर्ब पुग्यो । जुन नेपालको बैंकिङ इतिहासमा हालसम्मकै उच्च लगानी हो ।
यो ऐतिहासिक रेकर्डमात्र नभएर २४ घण्टाको अन्तरालमै बैंकहरुले चामत्कारिक रुपमा गरेका ३० अर्ब रुपैयाँ बढी कर्जा लगानीले सिङ्गो वित्तीय क्षेत्र नै तरङ्गित हुन पुगेको छ ।
तर, अर्थविद् रामेश्वर खनाल अहिलेको बैंकिङ कारोबार, बढेको कर्जा लगानीलाई औसत रुपमा लिनुपर्ने बताउँछन् ।
‘विगत ५–६ महिना बैंकहरुले कर्जा लगानी नै गरेनन् भने पनि हुन्छ । आर्थिक शिथिलताका बिच लगानी जोखिमलाई लिएर बैंकहरु कर्जा दिनै डराए । बैंकहरुको वित्तीय स्थिति (ब्यालेन्स सिट) पनि उति राम्रो थिएन । तर, अहिले केही सहज भएको बैंकहरुले गरेको लगानीबाटै प्रस्ट हुन्छ । यो भनेको अब बजार गतिशील बन्दैछ, सुधार हुँदैछ भन्ने नै हो,’ खनालले रातोपाटीसँग भने ।
यद्यपि, सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भेट्न अहिलेको लगानी नै पर्याप्त नहुने खनालको भनाइ छ ।
‘आर्थिक वर्षको पहिलो त्रैमासमा खासै आर्थिक उन्नति हुन सकेन । सरकारी खर्च, राजस्व र वित्तीय लगानी (उत्पादनमा) उति भएन । जसको प्रभाव दोस्रो, तेस्रो हुँदै चौथो त्रैमासमा पर्ने निश्चित छ । तथापि, यही गतिमा बैंकहरुको लगानी बढ्यो र उपयुक्त क्षेत्रमा गयो भने बढीमा ४ देखि ४.५ प्रतिशतसम्मको आर्थिक वृद्धिदर भेट्ने सम्भावना छ,’ उनले भने ।
५० खर्बभन्दा बढी लगानी कहाँ जाँदैछ ?
केन्द्रीय बैंकको तथ्याङ्क अनुसार गत भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट कुल प्रवाहित ४९ खर्ब १२ अर्ब रुपैयाँ कर्जामध्ये ३ खर्ब ६५ अर्ब ७ करोड रुपैयाँ कृषि तथा वन पैदावार क्षेत्रमा गएको छ । यस्तै, ८ खर्बभन्दा बढी कर्जा कृषि, वन पैदावारका साथसाथै पेय पदार्थ, गैर–खाद्य पदार्थ उत्पादनको क्षेत्रमा गएको तथ्याङ्कले देखाएको छ ।
सोही समयमा अधिक कर्जा लगानी होल्ड गर्ने कन्स्ट्रक्सन (निर्माण) क्षेत्र, घरजग्गा तथा रियल स्टेट, फाइनान्स तथा इन्स्योरेन्स क्षेत्रले क्रमशः २ खर्ब ६ अर्ब र ३ खर्ब ५६ अर्ब बढी कर्जा उपभोग गरेको देखिन्छ । यस्तै उपभोक्ता (व्यक्तिगत) खपत कर्जामै बैंकहरुले ९ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको केन्द्रीय बैंकको तथ्याङ्क छ । तर, असोज मसान्तसम्ममा एक महिनामै एकाएक बढेको ३० अर्बभन्दा बढी कर्जा लगानी कहाँ जाँदैछ ?
सवारी कर्जामा बैंकहरु आकर्षित हुँदा लगानी बढ्यो : पोखरेल
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था अनुगमन शाखाका ईडी नारायण प्रसाद पोखरेल पछिल्लो समय बैंकहरु सवारी कर्जामा आकर्षित हुँदा लगानी ह्वात्तै बढ्न पुगेको बताउँछन् ।
‘फेस्टिबल मुभमेन्ट दसैँ–तिहारको मुखमा सवारी आयात र किनबेच राम्रो भयो । यसै समयमा अटो व्यवसायीहरुले गरेको नाडा अटो शोले केही भूमिका खेल्यो भन्ने मलाई लाग्छ,’ पोखरेलले रातोपाटीसँग भने, ‘यो समयमा एक सय वटा गाडीको खरिद बिक्री भएको रहेछ भने पनि ३० अर्ब चानचुन त यसै कर्जा बढ्यो नि ।’
२–३ वर्षदेखि रोकिएको अटो बजार चलायमान हुँदा कर्जाको माग बढेको र यसले वित्तीय लगानी र अवसरलाई गति दिएको उनको भनाइ छ । तथापि, यो अवधिमा कुन क्षेत्रमा के–कति लगानी गएको छ भन्ने पूर्ण विवरण प्राप्त भएपछि मात्र थाहा हुने उनले बताए ।
दसैँ अघि भदौ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको केन्द्रीय बैंकले असोज महिनाको रिपोर्ट सार्वजनिक गर्न बाँकी नै छ । कुन बैंकले कुन सेक्टरमा कति लगानी गरे र कुन क्षेत्रको कर्जा बढ्यो भन्ने रिपोर्टपछि मात्र यकिन हुन्छ । अहिले आएको तथ्याङ्क एकमुस्ट हो ।
घट्दो ब्याजदरको असर लगानीमा
उसो त पछिल्लो समय बैंकहरुले लगानीको वातावरण सहज गदै निक्षेप र कर्जा दुबैको ब्याजदर घटाएसँगै यता कर्जा लगानी समेत बढ्न पुगेको पोखरेलको भनाइ छ ।
‘१.५ प्रतिशतसम्मले ब्याजदर घट्नु भनेको सामान्य होइन । तीब्र ब्याजदरले लगानी गर्न डराइरहेका र वेट एण्ड सी (पर्ख र हेर) को अवस्थामा रहेका लगानीकर्ताहरुले समेत एकै पटक कर्जा माग बढाउँदा बैंकहरुको लगानी बढ्न गएको देखिन्छ,’ पोखरेलले रातोपाटीसँग भने ।
यता राष्ट्र बैंकले पनि आवश्यक सरकारी ट्रेजरी तथा बन्डहरु आर्थिक वर्षको पहिलो त्रैमासमै अधिक उठाइसकेकाले दोस्रो र तेस्रो त्रैमासमा कम चाप पर्ने हुँदा बैंक तथा वित्तीय संस्थाहरु लगानीका लागि फ्री हुने उनको भनाइ छ । थप लगानीका लागि पछिल्लो समय केन्द्रीय बैंकले सहज नीति लिएकाले पनि बैंकहरु लगानीका लागि आकर्षित भएको उनको भनाइ छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति लगत्तै कर्जा लगानीमा केही लचक नीति लिएको केन्द्रीय बैंकले घरजग्गा तथा रियल स्टेटसँगै सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) मा सहज वातावरण बनाएको छ । आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाएको ४÷१२ को सीमा परिमार्जन गर्दै केन्द्रीय बैंकले २० करोड पु¥याइदिएको छ । साथै घरजग्गा कर्जामा २ करोड रुपैयाँसम्म कर्जा लगानी गर्न दिने व्यवस्थासमेत केन्द्रीय बैंकले गरिदिएको छ । यसले बैंकहरुलाई कर्जा लगानीमा सहज भएको पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
-
पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण
-
पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्यो
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
-
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा
-
सोमबार प्रचण्ड सुर्खेत आउँदै, वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुने