बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

कस्तो रह्यो दसैँलक्षित रिलिज फिल्मका व्यवसाय ?

‘पशुपति प्रसाद २ः भष्मे डन’ र ‘परदेशी २’ दुई फिल्मको सन्तोषजनक व्यापार
मङ्गलबार, १४ कात्तिक २०८०, १० : २५
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौंँ । नेपाली फिल्मको व्यवसाय चाडपर्वमा राम्रो हुने गर्छ । विशेष गरी दसैँ र तिहारमा रिलिज भएका फिल्मको व्यवसाय सधैँ राम्रो हुने गरेका छन् । त्यसैले त निर्माता, निर्देशक यस अवसरमा फिल्म रिलिजका लागि तँछाडमछाड गर्छन् ।

यस पटकको दसैँ पनि नेपाली फिल्म व्यवसायको लागि सुखद नै रह्यो । दसैँको लामो बिदामा दुई नेपाली फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ र ‘परदेशी २’ दुवै फिल्मले राम्रो व्यवसाय गरेका छन् । यी दुवै सिक्वेल फिल्म हुन् ।

हुन त दसैँका लागि भनेर यी दुई फिल्म मात्र प्रदर्शनमा आएका भने होइन । दसैँका लागि गत असोज २६ गते ‘परदेशी २’, ‘कौसीद’ र ‘बासेन्जी’ र कार्त्तिक ४ गते ‘पशुपति प्रसाद २ः भष्मे डन’ गरेर ४ फिल्म प्रदर्शनमा आए । 

कमजोर प्रचार प्रसारसहित प्रदर्शनमा आएको ‘कौसीद’ र ‘बासेन्जी’ यी दुई फिल्मले भने बक्सअफिसमा खासै कमाल देखाउन सकेनन् । 

दसैँका फिल्म कस्ता र व्यवसाय कस्तो ?

यस पटक दसैँका लागि भनेर प्रदर्शनमा आएका ४ फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’, ‘परदेशी २’, ‘कौसीद’ र ‘बासेन्जी’ सबै फिल्म एक अर्को भन्दा निकै भिन्न छन् । दसैँका लागि भन्दै घटस्थापनाको केही दिन अगाडि अर्थात् २६ असोजमा प्रदर्शनमा आएको तीन फिल्ममध्ये ‘परदेशी २’ हिट फिल्म ‘परदेशी’को सिक्वेल हो । 

नारायण रायमाझी निर्देशित फिल्ममा चलेका कलाकारको बाक्लो उपस्थिति छ । प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुको समेत यसमा अभिनय देख्न सकिन्छ । 

राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको फिल्म विदेशिने युवाको कथामा निर्माण भएको हो । फिल्मले आइतबारसम्म ६ करोड माथिको व्यवसाय गरेको अनुमान वितरकको छ ।

फिल्मका निर्माता राजेश बंशल पनि आफ्नो फिल्मले करिब ६ करोड माथि व्यवसाय गरेको अनुमान गर्छन् । ‘बिदाको दिन परेकोले वितरकबाट हिसाब लिन सकेको छैन’, निर्माता बंशल भन्छन् ।

फिल्म ‘बासेन्जी’ र ‘कौसीद’ले भने प्रदर्शनको दिनदेखि नै राम्रो दर्शक पाउन सकेन । अभिनेत्री ऋचा शर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको ‘कौसीद’ले ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ कथामा उठाएको थियो । फिल्मका निर्देशक कुमार भास्कर हुन् । 

‘बासेन्जी’ नेपाली फिल्म क्षेत्रमा पहिलो पटक भिडियो गेममा देखिने प्रस्तुतीकरणसहित निर्माण भएको थियो । अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशनमा गौरीशङ्कर इन्टरटेनमेन्टबाट सुरज मैनालीको निर्माण रहेको फिल्म मिथिला शर्मा र सरिता गिरीको मुख्य भूमिका थियो ।

त्यस्तै ‘पशुपति प्रसाद २ ः भष्मे डन’ले रिलिजको दिनदेखि नै आक्रामक व्यवसाय गरेको छ । गत शनिवारबाट दोस्रो सातामा प्रवेश गरेको फिल्मले गत शनिवार ६ करोड ८० लाख बढी व्यवसाय गरेको वितरकको भनाई छ । 

यसका निर्देशक दीपेन्द्र के खनाल भने फिल्म रिलिज समयदेखि बिदा भएकोले फिल्मको अहिले सम्मको व्यावसायिक रिपोर्ट आउन बाँकी रहेको बताउँछन् । उनको पनि फिल्मले ६ करोड माथिको व्यवसाय गरिसकेको अनुमान छ ।

फिल्म ‘पशुपति प्रसाद २ ः भष्मे डन’ मल्टिस्टार कलाकारले भरिएको छ । फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ ।

‘पशुपति प्रसाद’को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मले पशुपति प्रसादको मृत्युपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनकथा बोल्छ ।

खगेन्द्र लामिछाने निर्माता र लेखक रहेको फिल्ममा खगेन्द्र र वर्षा शिवाकोटी विशेष भूमिकामा छन् । फिल्म टुकी आर्टस्को ब्यानरमा निर्माण भएको हो । फिल्मले रिलिजको दिनदेखि नै अहिलेसम्म राम्रो व्यवसाय गरिरहेको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । फिल्मले रिभ्यू भने मिश्रित पाएको छ । 

बोर्डको बक्सअफिस छैन भरपर्दो

फिल्मको व्यवसाय के कस्तो छ निर्माताले सजिलै थाहा पाउन् । फिल्म निर्माता र हलवालाबिच व्यवसायको मामलामा असमझदारी पैदा नहोस् भनेर राज्यले चलचित्र विकास बोर्डअन्तर्गत बक्सअफिस सिस्टम लगाएको छ । उक्त सिस्टम भने प्रभावकारी हुन सकिरहेको छैन ।

दसैँमा रिलिज भएका फिल्मका बक्स अफिस रिपोर्टका लागि रातोपाटीले चलचित्र विकास बोर्ड प्रवक्ता केएल पीडितलाई अनुरोध गरेको थियो । उनले अहिले बक्सअफिसको सिस्टम भरपर्दो हुन नसकिरहेको बताए ।

‘बक्सअफिसको विषयमा निर्माता संघ, चलचित्र संघलगायत सबै संघसंस्था बसेर एउटा धारणा बनाउनुपर्ने भएको छ’, पीडितले भने, ‘बक्सअफिस सिस्टम अपडेट गर्ने र भरपर्दो बनाउन भनेर बोर्डले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचारसमेत गरिसकेको छ । यसका लागि बोर्डको तर्फबाट यो वर्ष बजेट पनि छुट्याइएको छ ।’ 

बक्सअफिस पहिले प्रभावकारी बनाउने र त्यसपछि बक्सअफिस रिपोर्ट प्रकाशन गर्ने बोर्डको योजना रहेको उनले सुनाए । भने, ‘अहिले रिलिज भएका फिल्मको बक्सअफिस रिपोर्ट सिस्टम अपग्रेड नभएसम्म सार्वजनिक गर्दैनौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप