शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् निरन्तर अवरुद्ध भयो भने यो व्यवस्था नै कमजोर हुन्छ : रमेश लेखक

बिहीबार, १६ कात्तिक २०८०, १३ : ०३
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले निरन्तर रूपमा संसद् अवरुद्ध भयो भने यो व्यवस्था नै कमजोर हुने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले वैशाख २४ गतेदेखि सुरु भएको बर्खे अधिवेशन ७ महिना चल्दा ११ पटक सूचना टाँस गरेर स्थगित भएको र विभिन्न कारणले पटक पटक अवरोध भएको बताए । 

सांसद लेखकले भने–‘संसदमा विभिन्न विचार भावहरूको टकराब हुनु स्वाभाविक हो । आफ्ना दृष्टिकोणहरूलाई जनताका सामु लैजानका लागि सदनका मार्फत ध्यानाकर्षण गराउने कुरा जाहेज छ । यो संसदीय अभ्यासमा जायज हुन्छ तर लामो समयसम्म निरन्तर रुपले पटक–पटक यदी सदन अवरोध हुन थाल्यो भने यसले सदनको प्रभावकारितालाई कमजोर गर्छ । संसद्को प्रभावकारिता कमजोर भयो भने सरकारको मात्रै हैन यो व्यवस्था नै कमजोर भयो कि भन्ने सन्देशको सम्प्रेषण हुन्छ । त्यसले यो व्यवस्थाका विरुद्धमा जुन प्रायोजित विचारहरू आइरहेका छन्, जुन भाष्यहरू निर्माण भइरहेका छन्, त्यसले स्वाभाविक रूपमा बल पुग्दछ ।’

उनले सदनको अवरोध किन हुन्छ, केका लागि भइरहेको छ त्यसबारेमा संवादमा बसेर समाधान गर्न आग्रह गर्दै अर्को संसद् अधिवेशनबाट संसद् अवरोध नहुने वातावरणका लागि आग्रह गरे । 

संविधान जारी भएको ८ वर्ष बितिसक्दापनि केही महत्त्वपूर्ण कानुन बन्न नसकेको बताउँदै सांसद लेखकले मौलिक हकसँग सम्बन्धित कानुन अझै बन्न नसकेको बताए । 

सङ्घीयताको कार्यान्वयनको लागि सङ्घीय सरकार र संसद् प्रभावकारी भएर मात्र नहुने बताउँदै प्रदेश सरकार, प्रदेश सभा र स्थानीय तहपनि सबल हुनुपर्नेमा जोड दिए । 

सङ्घले कानुन निर्माण गर्न नसकेकोले प्रदेश सरकार कमजोर हुन पुगेकोले ती विषयसँग सम्बन्धित कानुनको मस्यौदा बनाएर संसदमा ल्याउन सरकारलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप