जाजरकोटवासीलाई रात कसरी बिताउने चिन्ता
सुर्खेत । बेलुका ६ बजेतिर । झिसमिसे साँझ पर्न थालिसकेको थियो । शुक्रबार मध्यरातको भूकम्पका कारण त्रसित जाजरकोट सदरमुकाम खलंगाबासी भित्रै बस्ने कि बाहिर भन्ने आ–आफ्नो तरखरमा थिए । कोही कुम्लो, कुटुरो बोकेर सडक किनारामा थिए त कोही सडक किनारमा स–परिवार बसिरहेका थिए ।
भेरी नगरपालिका–३, तल्लो थाप्लोको सडक किनारामा केही महिलाहरू पसलका अगाडि पालहरू ओछ्याउँदै गरिरहेको अवस्थामा भेटिए । उनीहरू भूकम्पको त्रासका कारण घरबाहिर नै बस्ने निधो गरेर बाहिर नै पाल ओछ्याएर बस्न थालेका रहेछन् ।
त्यहीँ नजिक भेटिए, गणेश खत्री (३१) । उनी शुक्रबार साँझको विनाशकारी भूकम्पबाट बालबाल बचेका रहेछन् । मलिन अनुहारमा आफ्नो पीडा सुनाउँदै भनिहाले, ‘बिहानदेखि पानीसम्म खान पाएको छैनौँ ।’
गणेश आफूलाई भाग्यले बाँचेको बताउँछन् । शुक्रबार भएका कारण उनका छोरा बज्यैसँग बजारभन्दा अलि नजिकैको गाउँमा गएका रहेछन् । त्यही घरमा बस्ने बहिनी र भाञ्जा पनि आफ्नै घर गएका रहेछन् । उनी एक्लै घरमा थिए । उनकी श्रीमती भने परीक्षा दिनका लागि बर्दिया गएकी छन् ।
उनी भन्छन्, ‘म एक्लै भएँ, हेर्नुस्, यस्तो त हामीलाई कहिल्यै भएन । म मस्त निद्रामा थिएँ, भूकम्प आएर म जुरुक्क उठेँ । पछाडिबाट अगाडितर्फ घर ढलेको भए म बाँच्थिनँ । भत्किएको घरको आधा भाग बाहिर गयो मतिर आएन । जता घरको दैलो थियो, त्यता ।’

उनको घरको मूल ढोका सडकतर्फ नभई तल्लो साइडतर्फ फर्किएको छ । उनी निन्द्राबाट खुलञ्जेलसम्म मूल ढोकातर्फको भाग भत्किँदै आइसकेको रहेछ । उनी दोस्रो तलमा सुतेका थिए । पछि घरको ढोकातिर जान्छु भनेको घरको ढोकातिरको भाग भत्किएको उनले बताए ।
‘त्यसपछि माथिल्लो तलाबाट भत्किएकै ठाउँतर्फ हामफालेर बाँचे,’ उनले भने, ‘ मैले कसरी हामफालेँ भन्ने कुरा म अहिले पनि सोच्न सक्दिनँ ।’
त्यसपछि उनले हामीलाई भत्किएको घर देखाउन लगे । भिरालो ठाउँमा रहेको उक्त कच्ची घरको आधा भाग भत्किएको रहेछ ।
उनले घरभित्रको कुनै पनि सामाग्री अहिलेसम्म उठाउन पाएका छैनन् । सुनदेखि उनको, बहिनी र श्रीमती डकुमेन्टहरू पनि भित्रै छन् ।
उनले उक्त घर द्वन्द्व कालमा बनाएको बताए । घर भत्किएपछि सबै परिवारलाई फोन गरेको उनले सुनाए । ‘त्यसपछि रातभर हामी जाग्राम बस्यौँ, बाहिर सडकमा । बजारको अवस्था निकै तनावग्रस्त थियो,’ उनले भने, ‘यस्तो त कहिल्यै भएन हजुर !’
उनले अहिले बाहिर बस्नका लागि पालसम्म पनि पाएका छैनन् । आजको रात कसरी बिताउने भन्ने चिन्ता उनीमा थियो । ‘हिजो रातभर उभिएर नै बस्यौँ, आज पनि के भर छ यो भूकम्पको निकै डर लाग्दो । आज पनि उभिएर नै त बस्ने होला,’ उनले चिन्ता व्यक्त गरे, ‘श्रीमतीलाई आइज भनेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण