आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दीपुरमा चालिस रोपनी क्षेत्रफलमा ‘सयपत्री खेती’

मङ्गलबार, २१ कात्तिक २०८०, २१ : ३७
मङ्गलबार, २१ कात्तिक २०८०

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिकामा चालिस रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ । भारतबाट आयात हुने फूललाई निरुत्साहित गर्दै  स्वदेशमै उत्पादित फूलको प्रवर्द्धन गर्न फूलखेती थालिएको हो । 

बन्दीपुर गाउँपालिका–५ स्थित थुम्का,कल्चोकमा नेत्रप्रसाद लामिछाने,नारायण लामिछाने लगायतका २० जना बढी किसानले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका छन् ।  

बिगत चार वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको स्थानीय किसान तामप्रसाद भट्टले जानकारी दिए । अघिल्ला वर्षमा थोरै क्षेत्रफलमा फूल लगाए पनि यसवर्ष चार रोपनी क्षेत्रफलमा फूलखेती गरेको उनले बताए । उत्पादित फूल जिल्लाभित्र र नारायणगढमा लगेर बिक्री गर्ने गरेको छु,उनले भने, “प्रतिमाला रु दुई सयदेखि तीन सय ५० सम्म बिक्री गर्ने गरेको छु ।”

यसवर्ष करिब रुडेढ/दुई लाखसम्मको फूल बिक्री हुने अपेक्षा रहेको किसान भट्टले बताए । त्यसक्षेत्रका फूल उत्पादक किसानले सिजनमा रु एक लाख बढीसम्मको बिक्री गर्ने गरेका छन् । गाउँपालिकामा सयपत्री फूलखेती गरेसँगै तिहारको समयमा बाह्य देशबाट ल्याउनु नपरेको व्यवसायी बताउँछन् ।  

भारतको तुलनामा नेपालमा फूल उत्पादनमा लागत बढी पर्ने भएकाले दसैँ तिहारका समयमा भारतबाट आउने फूलको मूल्यसँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको अर्का किसान नारायण लामिछानेले बताए । बिरुवा लगाएको चार महिनाभित्र फूल उत्पादन हुन्छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि पछिल्ला समय व्यावसायिक किसानको यसतर्फ आकर्षण बढ्दै गएको पाइन्छ ।  

उक्त वडालाई बाह्रै महिना फूल उत्पादन गर्ने क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । 

आगामी वर्षदेखि उक्त वडामा नर्सरी बनाएर गाउँपालिकाले हाइब्रीड फूलको बीउमा अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइने उनले बताए । 

उक्त क्षेत्रमा गरिएको व्यावसायिक फूल खेतीको आफूले स्थलगत अवलोकन गरिसकेको अध्यक्ष थापाले बताए । फूलखेतीबाट आफू प्रभावित भएको बताउँदै अध्यक्ष थापाले आउँदो वर्ष समयमै गाउँपालिकाको सक्रियतामा किसानलाई प्रोत्साहन हुने किसिमले काम गर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप