शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी उपाध्यक्ष भुसाललाई प्रश्न : संघीय गणतन्त्र धरापमा परेको हो ?

बुधबार, २२ कात्तिक २०८०, १६ : ५८
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले तत्काल व्यवस्थामाथि कसैबाट पनि खतरा नभएको बताएकी छिन् । मङ्गलवार प्रधानमन्त्री प्रचण्डले बोलाएको १२ बुँदे पक्षधर दलहरूको बैठकमा सहभागी भएकी उनले व्यवस्थामाथि छिटफुट प्रहार भइरहेको बताएकी हुन् ।

गणतन्त्र पक्षधर शक्तिहरूलाई कसैले कमजोर नठानुन् भनेर दलहरूबिच सङ्कल्प भएको उनले जानकारी दिइन् । 

‘व्यवस्थामाथि सङ्कट नै आयो भन्ने होइन । छिटफुट रूपमा कुनै प्रकारले सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यवस्था, संविधान, नेतृत्वहरूप्रति जुन ढंगले प्रहार भएको छ । त्यसमा कसैले कमजोरी नठानुन् भन्ने प्रतिबद्धता र सङ्कल्प हो । परिवर्तनका नेतृत्वदायी शक्तिहरूबिच पटक पटक समीक्षा पनि हुनुपर्छ’, रातोपाटीसँग उनले भनिन्, ‘प्रधानमन्त्रीले राम्रो काम गरे भनेर सबै दलले प्रशंसा गरेका छन् । सङ्घीयता गणतन्त्र, समावेशी लोकतन्त्रप्रति सबै प्रतिबद्ध छौँ भन्ने सहमति भएको छ ।’

यस्तै व्यवस्थामाथि खतरा कोबाट भए भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिइनन् । तर पूर्वराजावादी र वैकल्पिक नयाँ शक्तिहरूबाट समाजमा अराजकता सिर्जना खोजेको सङ्केत गरिन् ।  तिनीहरूमात्र होइन, अराजक मान्छेहरू, परिवर्तनमा कुनै भूमिका नभएकाहरू जुन ढंगले परिवर्तनका आन्दोलनबाट पराजित भएका छन् । यी प्रवृत्तिको कुरा हो । यहाँ कसैलाई दोष दिनुभन्दा पनि व्यवस्था जोगाउन सबै सङ्कल्पबद्ध र एकताबद्ध छौँ । केही असन्तुष्टिका कुरा छन् । त्यसलाई सम्बोधन गर्दै लैजान्छौँ’, उनले भनिन् । 

व्यवस्था परिवर्तन भएपछि त्यसलाई संस्थागत विकास गरी कार्यान्वयन गर्न ढिलाइ भएको स्वीकार गरिन् । परिवर्तनबाट प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्न नसक्दा सङ्घीयतामाथि केही प्रश्न उठेको उनले बताइन् । 

पहिलो संघबाट कानुन नबन्दा सङ्घीयता कार्यान्वयनमा ढिलाइ भएको छ । सङ्घीयतामाथि प्रश्न उठेको छ । दोस्रो शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउनु ढिलाइ भएको छ । अर्को अधिवेशनबाट टुङ्ग्याउनुपर्छ भन्नेमा सबै दल एकमत छन् । तेस्रो आर्थिक विकास परिवर्तन सापेक्ष नहुँदा केही असन्तुष्ट देखिएको छ’, आगामी योजनाबारे उनले भनिन्, ‘त्यसका लागि प्रधानमन्त्रीले फेरि सरकार, राजनीति दल र आर्थिक विज्ञसमेत राखेर समग्र आर्थिक स्थितिको चित्रण जनतासमक्ष प्रस्तुत गर्ने, छलफलबाट निष्कर्ष जे आउँछ कार्यान्वयनमा जाने विषयमा छिट्टै अर्को बैठक डाक्ने भन्ने छ ।’ 

कर्णालीमा भूकम्पपीडितको उद्धारको काम सकिएको जानकारी दिँदै उनले राहत वितरणमा राजनीति दल,सङ्घसंस्था, दातृ निकाय, मित्रराष्ट्रहरूबाट सहयोग आइरहेको बताइन् । बैठकमा आर्थिक सङ्कट वा भूकम्पबाट भएको  विनाशलाई लिएर तत्काल सहमतिको सरकार अहिले आवश्यक नभएको र कसैले कुरा पनि नउठाएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप