आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

जाजरकोटबाट राज्यव्यवस्था समिति सभापति खतिवडा : पुरिएका पशु चौपाया निकाल्न अझै बाँकी रहेछ

बिहीबार, २३ कात्तिक २०८०, १६ : ४०
बिहीबार, २३ कात्तिक २०८०

 काठमाडौँ  । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पर्याप्त मात्रामा आए पनि अझै पुरिएका पशु चौपाया निकाल्ने काम बाँकी रहेको बताएका छन् ।  बुधवार बिहान समितिका ९ सदस्यीय टोली जाजरकोट र रुकुममा भूकम्पले पुर्‍याएको क्षति, सरकारले राहत र उद्धारका लागि गरेको कामको अनुगमनका लागि त्यसतर्फ प्रस्थान गरेका थिए । 

सभापति खतिवडाले अनुगमनका क्रममा प्रभावित क्षेत्रमा राहत सामग्री प्रशस्त पुगेको र सरकारले एकद्धार नीतिबाट वितरण गरिरहेको बताए ।  जाजरकोटमा १७ हजार २ सय ब्याङ्केट र २२ हजार १ सय ३१ पाल बाँडेको बाँडिएको र पालहरू सबैलाई पुगेको देखिएको बताए ।  

घरबास गुमाएका नागरिकले यो पुगेन, त्यो पुगेन भनेर सरकारको आलोचना हुनु स्वाभाविकै भए पनि राहत सामग्रीको अभाव नदेखिएको बताए ।  गत कार्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई भूकम्प जाँदा १५३ जनाले ज्यान गुमाएका थिए भने ३ सय जनाभन्दा बढी घाइते भएका थिए । 

जाजरकोटमा अवलोकन गरेर रुकुमका विभिन्न क्षेत्रको अनुगमनका हिँडेका सभापति खतिवडाको भनाई जस्ताको तस्तै :  

बुधवार जाजरकोटको अवस्था अवलोकन गरेर बिहीबार हामी रुकुम आइपुगेका छौँ । रुकुमको सानोभेरी वडा नम्बर ४ मा अवलोकन गरेर रुकुम सदरमुकाममा अवलोकन गरेका छौँ ।  भूकम्प पीडितलाई टेन्ट, पाल सरकारको तर्फबाट पठाइरहेको पाएका छौँ । भूकम्पले ठुलो क्षति भएको छ । जाजरकोट र रुकुममा भेरी नदी किनार तर्फका गाउँहरूमा नराम्रोसँग ठुलो क्षति भएको छ ।  

jajarkot

धनको भन्दा जनको ठुलो क्षति भएको देखिन्छ । अरू नपुगेको बादी समुदाय रहेको ठाउँ, विकट ठाउँमा पनि हामी पुग्यौँ । सरकारले राम्रै गरिरहेको छ । सुत्केरी बालबालिकाले भनेजस्तो राहत पाएनौँ, जसरी व्यवस्थित हुनुपर्ने थियो, त्यसरी व्यवस्थापन नभएको गुनासो गरेका छन् ।  भूकम्प पीडितका लागि भनेर सामानहरू व्यापक रूपमा आएको देखियो । कोही विराटनगरदेखि आएका छन्, कोही काठमाडौँबाट, कोही बुटवलदेखि आएका छन् । सरकारले एकद्धार नीति अनुसार सामग्री दिइरहेको छ । 

भूकम्प गएको ७ दिन बितिसक्दा पनि कतिपय ठाउँमा पुरिएका गाई बाख्रा पशुचौपाय निकाल्न सकिएको छैन, त्यसका लागि सुरक्षाकर्मी खटिएका छन् । शव व्यवस्थापनको काम २४ घण्टाभित्र द्रुत गतिमा भएको पायौँ ।   मृतक १५३ जनामध्ये एकजना बच्चाको शव परिवारले बुझ्न बाँकी रहेछ । आमा नआएका कारण बुझाउन सकिएको रहेनछ । २ सय ५६ जना घाइतेमध्ये ९९ जना डिस्चार्ज भएका छन् ।  

उद्धारका लागि सरकारले नेपाली सेनाको २ वटा हेलिकप्टर स्ट्याण्डबाई राखेको छ ।  जाजरकोटमा १७ हजार २ सय ब्याङ्केट बाँडिएको देखिन्छ भने २२ हजार १ सय ३१ बाँडेको देखिन्छ । सबैतिर पर्याप्त मात्रामा पालहरू पुगेको देखियो । 

एकद्धार प्रणालीमार्फत एउटाले वितरण गर्ने र अर्को पक्षले अनुगमन गर्ने यो पनि राम्रोसँग भएको पाइयो । यो पुगेन, त्यो पुगेन भनेर यो बेला सरकारको आलोचना हुनु स्वाभाविकै हो ।  सरकारी संचनाहरुतर्फ स्कुलहरू ध्वस्त भएका छन्, स्वास्थ्य चौकी, सिडिओ कार्यालय ध्वस्त छ । अदालत, मालपोत कार्यालय ध्वस्त भएको छ । 

गोठहरू भत्किएर गाई भैँसी, भेडा बाख्रा पुरिएको छिटो निकाल्नुपर्ने आवश्यकता छ ।  यो बेला तीनै तहका सरकार मिलेर काम गर्न आवश्यकता छ । यो बेला गरेको कामलाई कसैले राजनीतिक रङ नदिई जाती र पातीभन्दा माथि उठेर सहयोग गर्न सबैलाई हामीले अपिल गरेका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप