सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘कन्स्ट्रक्सन’ क्षेत्र सुस्ताउँदा विद्युतीय सामग्रीको व्यापार बढ्दैन

झिलिमिली बत्तीको आयात बढ्यो, कारोबार घट्यो: अध्यक्ष देवकोटा
शुक्रबार, २४ कात्तिक २०८०, १२ : १०
शुक्रबार, २४ कात्तिक २०८०

तिहारलाई उज्यालोको पर्व भनिन्छ । यो समयमा मालादेखि झिलिमिली बत्तीको माग अत्यधिक हुने गर्छ । तिहारमा उपभोक्ताले आ–आफ्नो घरमा झिलिमिली बत्तीले रंग्याउने भएकाले यो समयमा अर्बौमा यसको कारोबार हुन्छ । बर्सेनि करोडौं रुपैयाँको माला बत्ती विदेशबाट आयात हुनेगर्छ । 

गत वर्षको तुलनामा झिलिमिली बत्तीको आयात बढेपनि बिक्री भने घटेको व्यवसायीहरुको भनाई छ । तिहारको समयमा माला, बत्तीको कारोबार नबढ्नुमा कोभिड–१९ महामारीका कारण आएको मन्दीलाई नै व्यवसायीले दोष दिइरहेका छन् । प्रस्तुत छ, यही विषयमा आधारित रहेर रातोपाटीले नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम देवकोटासँग गरेको कुराकानीको सम्पादित अंशः

तिहारलाई उज्यालोको चाड भनिन्छ । अहिले त तपाईहरुलाई भ्याई न भ्याई होला नि ?

तिहारको समयमा भ्याई न भ्याई हुनुपर्ने हो तर यतिबेला विविध कारणले बजारमा बिक्री छैन । खासगरी, कोरोना महामारीपछि आएको मन्दीका कारण बिक्री नभएको हो । 

यतिबेला धमाधम कन्सट्रक्सनको काम हुनुपर्ने हो र सोहीअनुसार माग बढ्नुपर्ने हो, त्यो छैन । तर पनि सामान्य अवस्थामा भन्दा यसबेला व्यापार केही मात्रामा बढेको छ ।

अघिल्ला वर्षहरुको तुलनामा हाल व्यवसाय धेरै घटेको छ । भूकम्पपछि निर्माण कार्य सुरु हुँदा र कोभिड अघिसम्म बजारमा माग थियो । 

विद्युतीय वस्तुको मुख्य सिजन दसैँअघि हुन्छ । किनकि, यो समयमा निजी घरहरू बन्ने र गृहप्रवेशको समय हो । ढलान गर्दा राख्नुपर्ने पाइपदेखि फिनिसिङपछि राखिने बत्तीसम्म विद्युतीय व्यवसायीको क्षेत्राधिकारमा पर्छ ।

गत वर्षको भन्दा माग घटेको भन्नुभयो । कति प्रतिशतले माग घटेको छ यो वर्ष ?

त्यो अहिले नै भन्न सकिने अवस्था छैन । माला, बत्तीको मात्रै कुरा गर्दा गत वर्षभरी ३६ करोड रुपैयाँ हाराहारीको आयात भएको थियो । तर, सबै प्रकारका विद्युतीय वस्तुमा भने वर्षभरी खर्बौँ रुपैयाँको आयात र कारोबार हुन्छ । यसवर्ष मालाबत्तीको आयात ४० करोडभन्दा धेरै हुन सक्ने आकलन छ । गत वर्षमा कोभिडका कारणले चीनमा प्रवेश सहज थिएन । यो वर्ष खुकुलो भएपछि व्यवसायी स्वतस्फूर्त रूपमा चीन जाने र आयात गर्दा बढेको देखिन्छ ।

व्यवसायी त्यति कच्चा छन् र ? बजारमा माग नभई आयात गरेर भण्डारण गरेर राख्नलाई ?

अहिले चीन प्रवेश सहज भएसँगै व्यवसायी त्यतातर्फ जाने र ल्याउने गर्दा यसो भएको हो । अहिले ल्याएको बढी सामान आगामी १ वर्षसम्म गोदाममा राख्नुपर्ने हुन्छ । यसबाहेक, क्रिसमस र अंग्रेजी नयाँ वर्षको समयमा र लोसार र बिहे तथा व्रतबन्ध लगायतका पर्वमा समेत माला बत्ती जान्छ । तर, तिहारको समयमा हुने बिक्रीको तुलनामा ती समयमा बिक्री बढ्दैन । लिस्टी र विद्युतीय वायरिङ तारको उत्पादनमा हामी आत्मनिर्भर छौँ । 

विद्युतीय व्यवसायी महासङ्घमा आबद्ध व्यवसायीले गर्ने कारोबार कुन–कुन वस्तुको हुन्छ ?

हामीले गर्ने कारोबारको क्षेत्राधिकार धेरै छ । घरायसी रूपमा प्रयोग हुने विद्युतीय वस्तुलगायत हाइटेन्सन लाइनमा प्रयोग हुने वस्तुको समेत हामीले कारोबार गर्छौँ । 

resham 2

हाइटेन्सनतर्फ ट्रान्सफर्मर, पोल र तारको कारोबार पनि विद्युतीय व्यवसायी महासङ्घमा आबद्ध व्यवसायीले गर्छन् । यसबाहेक, घरमा जडान हुने सम्पूर्ण विद्युतसम्बन्धी वस्तुको कारोबार महासङ्घमा आबद्ध व्यवसायीमार्फत् नै हुन्छ । यसमध्ये घरायसी रूपमा जडान हुने तार, लिस्टी बक्स लगायतका वस्तुमा आत्मनिर्भर छन् ।

नेपालमा उत्पादित ट्रान्सफर्मरको गुणस्तरसमेत राम्रो छ । हाइटेन्सन लाइनको तार समेत उत्पादन नेपालमै सुरु भइसकेको छ ।

विद्युतीय वस्तु उत्पादन गर्ने देशभर उत्पादनमूलक उद्योग कति छन् ? तिनको अवस्था के कस्तो छ ?

विद्युतीय वस्तु उत्पादन गर्न देशभर १०० वटा उत्पादनमूलक उद्योग छन् । तर, यी उद्योगको वर्तमान अवस्था भने निराशाजनक अवस्थामा छ । सरकारले आर्थिक नीति र मौद्रिक नीतिमार्फत हामीलाई सहयोग गर्नुपर्छ । 

बजारमा माग ह्वात्तै घटेपछि अस्वस्थ प्रतिस्पर्धासमेत बढेको छ । उद्योगले राखेका कर्मचारी पाल्नकै लागि मागबिना नै उद्योग चलाइएको छ । अस्वस्थ प्रतिस्पर्धाको अर्थ अण्डर भ्यालू हुने कारोबारको विरोधमा महासंघ कटिबद्ध छ । यसका लागि वस्तुको उत्पादन लागत र बजार मूल्यबारे लेखेरै सरकारी निकायलाई दिएका छौँ ।

‘अण्डर भ्यालू’मा बिक्री भएको छैन भने कसरी अस्वस्थ प्रतिस्पर्धा हुन्छ र ? अस्वस्थ प्रतिस्पर्धाको अर्थ लागत मूल्यभन्दा न्यून मूल्यमा बिक्री गरिनु होइन र ?

अस्वस्थ प्रतिस्पर्धाको अर्थ न्यून गुणस्तरको सामान पनि हुन आउँछ । हामी व्यवसायी गुणस्तरको सामग्री बेच्न चाहन्छौँ । र, त्यो परीक्षण गर्नका लागि सरकारले एउटा अत्याधुनिक ल्याब स्थापना गर्न सकियो भने उपभोक्ताले गुणस्तरहीन वस्तुको बिक्री हुँदैनथ्यो । 

म महासङ्घमा आबद्ध भएको २० वर्षभन्दा धेरै भइसकेको छ । सुरुदेखि नै सरकारसँग ल्याब स्थापनाको माग गर्दै आइरहेको हो । तर, अहिलेसम्म सुनुवाइ भएको छैन । 

यसबाहेक, महासंघको प्रत्यक्ष लविङमा विद्युतीय वस्तुको बिक्रीमा उच्च छुट दिएर गुणस्तरहीन वस्तुको बिक्रीमार्फत् हुने लुटलाई भने रोकेको छ ।

अब बजार मागतर्फ नै फर्किऔं । बजारमा बिक्री बढ्नका लागि कन्स्ट्रक्सन क्षेत्र नै चलायमान बन्नुपर्ने हो ?

हो, सबै क्षेत्रको विकास हुनका लागि र देशको आर्थिक स्तर सुधार हुनका लागि पनि निर्माण क्षेत्र नै बलियो र चलायमान बन्नुपर्छ । निर्माण क्षेत्र चलायमान बन्दै बाटो, विभिन्न पूर्वाधार र घरहरू बन्नु नै पर्छ । 

हाम्रो व्यवसाय कन्सट्रक्ससँग प्रत्यक्ष रूपमा आबद्ध छ । सोहीकारण, सरकारी लगानीको पूर्वाधारसँगै निजी घरहरुसमेत बन्नुपर्छ । यसबाहेक, हाइड्रोपावरहरुको निर्माणसमेत द्रुत गतिमा अघि बढ्यो भने मात्र विद्युतीय व्यवसायीको माग बढ्छ ।

जलविद्युत क्षेत्र चलायमान हुने सम्भावना देखेर पछिल्लो समय नेपालमा विद्युतीय सामग्रीको एसेम्बल प्लान्ट स्थापना सुरु भएको छ । तर, सरकारले नबुझ्दा व्यवसायीहरूले दुःख पाइरहेका छन् । 

सरकारले उद्योगमैत्री नीति बनाइदिएमा हाल व्यापार गरिरहेका व्यापारीले समेत भविष्यमा उद्योगमा लगानी गर्न सक्थे । सुरुवातमा एसेम्बल प्लान्टबाट सुरु भएको औद्योगिक उत्पादन भविष्यमा स्वदेशी कच्चा पदार्थको प्रयोगसम्मै पुग्न सक्छ । 

भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप