बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाम : छठमा सुरक्षा व्यवस्था कडाइ

शनिबार, ०२ मङ्सिर २०८०, १० : २०
शनिबार, ०२ मङ्सिर २०८०

जनकपुरधाम । धनुषा प्रहरीले छठ पर्वका व्रतालुहरूलाई छठ पर्वमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी मित्रबन्धु शर्माका अनुसार श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वमा कुनै पनि अप्रिय घटना घट्न नदिन विशेष सुरक्षा कार्य योजना बनाइएको हो ।

जिल्लाभरिकै महत्त्वपूर्ण स्थानहरूमा भिडभाड हुने ठाउँहरूमा छठ पर्वका भक्तजनहरूलाई सुरक्षा दिन तथा भिड नियन्त्रण गर्न विशेष कार्य योजना बनाइएको एसपी शर्माले बताए ।

‘छठ पर्वका अवसरमा जनकपुरधाम लगायतका कतिपय स्थानमा रातिको समयमा छठ घाटमै बस्ने परम्परा छ,’ उनले भने, ‘यस्तोमा आपराधिक क्रियाकलाप हुने सम्भावना बढी हुने भएकाले सुरक्षा सतर्कता बढाएका छौँ ।’ उनले जनकपुरधाम क्षेत्रसहित ग्रामीण भेगमा समेत प्रहरी सुरक्षा चेकजाँच तथा गस्ती बढाएको जनाए।

सुरक्षा व्यवस्था कडा पार्न सशस्त्र प्रहरीसँग समेत सहकार्य गरिने उनले जानकारी दिए । साथै सीमावर्ती क्षेत्रमा पनि थप निगरानी बढाइने एसपी शर्माले जनाए ।

स्थानीय स्तरमा स्थानीय प्रहरी र ठुला–ठुला पोखरीहरूमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भिडभाड नियन्त्रण गर्न ट्राफिक प्रहरी पनि खटाइने जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जनाए । उनले सुरक्षा व्यवस्थालाई मध्यनजर गरी छठ घाटमा अवाञ्छित तथा आपराधिक घटना हुन नदिन सादा पोसाकमा पनि पुरुष तथा महिला प्रहरी परिचालन गरिने बताए ।

भक्तजनहरू छठ पर्व निर्बाध मनाउन पाउन भन्ने उद्देश्यले धनुषामा छठ पर्वको मुख्य दिन भोलि(आइतबार) तीन सय बढी प्रहरी खटाइने उनले जनाए ।

जिल्लामै आकर्षणको रूपमा रहेको र अत्यधिक मात्रामा भिडभाड हुने जनकपुरधामस्थित गङ्गा सागरमा बढी प्रहरी परिचालन गरिने डीएसपी अवाले जनाए । उनले गङ्गा सागर र धनुषा सागर वरिपरिको सडकहरूमा सवारी साधनहरूलाई आवतजावतमा समेत रोक लगाउने योजना रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप