जहरसिंह पौवामा प्रहरी र स्थानीयबिच झडप, ३ प्रहरी घाइते, १० जना पक्राउ
काठमाडौँ । अपर तामाकोशी जलविद्युत परियोजनाको सब–स्टेसन निर्माणका लागि सशस्त्र प्रहरीको क्याम्प राख्न लागेपछि काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ३ जहरसिंह पौवामा स्थानीय र प्रहरीबिच झडप भएको छ ।
झडपमा डिएसपी देवराज राईसहित ३ प्रहरी घाइते भएका छन् भने प्रहरीले १० जना स्थानीयलाई पक्राउ गरेको छ ।
शुक्रबार साँझ भएको झडपमा ३ प्रहरी घाइते भएका थिए भने ४ जना पक्राउ परेका थिए । शनिवार पनि स्थानीयले सब–स्टेसन निर्माणको विरुद्धमा आन्दोलन जारी राखेका छन् । शनिवार बिहान ६ जना स्थानीय पक्राउ परेका छन् । यस्तै ५ जना स्थानीय महिला पक्राउ गर भन्दै स्वतःस्फूर्त रूपमा प्रहरीसँग आएको प्रहरीले जनाएको छ ।
शनिबार तुलाराम लामा, मानबहादुर तामाङ, दीपक लामा, राजमान स्याङबो, अशोक तामाङ पक्राउ परेका छन् । शुक्रबार साँझ सूर्यमान तामाङ, मनिष तामाङ, सुकुमान वाइवा र मानबहादुर तामाङ पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीमाथि ढुङ्गामुडा गरेको अभियोगमा पक्राउ गरिएको हो ।
सब–स्टेसन निर्माण अघि बढाउनेबारे बिहीबार नेपाल विद्युत् प्राधिकरण, शंखरापुर नगरपालिका, इलाका प्रशासन कार्यालय साँखु, स्थानीयबासी लगायतबीच छलफल भएको थियो । सबै पक्षको साझा सहमति बनाएर अघि बढ्ने कुरा भए पनि आयोजनास्थलमा एक्कासि सशस्त्र प्रहरीको क्याम्प राख्न गएपछि स्थानीय आन्दोलनमा उत्रिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले भने–‘जनताका जाहेज मागलाई संवोधन गर्नुपर्छ र विकासका कामलाई अघि बढाउनुपर्छ भन्ने दृष्टिकोणबाट नगरपालिकाले मध्यस्थताको पहल गरिरहेको छ । धेरै प्रगति भइसकेको अवस्थामा सशस्त्र प्रहरीको क्याम्प खडा गर्न खोजिएपछि त्यहाँको महोल बिग्रिएको छ । अहिले पनि हामी यो विवादलाई वार्ता छलफलको माध्यमबाट नै टुङ्ग्याउनुपर्छ भनेर लागिरहेका छौँ । घर घरमा गएर पक्राउ गर्न थालेपछि आज ५ जना महिलाहरूले स्वतःस्फूर्त गिरफ्तारी दिनुभएको छ । यसले राम्रो सन्देश गएको छैन । पक्राउ परेकालाई बिना सर्त रिहाइ गर्नु, स्थानीयको माग पनि पूरा हुने र काम पनि हुने गरी अघि बढ्न हामी छलफलमा जुटिरहेका छौँ ।’
प्रवक्ता श्रेष्ठले प्रहरीले घर–घरमा पुगेर स्थानीयलाई पक्राउ गर्दा समस्या बल्झिएको बताएका छन् ।
एमसिसी परियोजनाको प्रशारणलाईन जहरसिंह पौवा हुँदै नुवाकोटको रातोमाटे लैजाने योजना रहेको छ । स्थानीयले बस्तीबिचबाट प्रसारण लैजान नहुने र सवस्टेशन बनाउँन नहुने भन्दै सो स्थानबाट आयोजना अन्यत्र सार्न माग गर्दै आन्दोलन गरिरहेका छन् । शनिवारपनि आयोजना स्थलमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण