बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

छठ पर्व मनाउने पहाडिया समुदाय बढ्दै

आइतबार, ०३ मङ्सिर २०८०, १५ : ०५
आइतबार, ०३ मङ्सिर २०८०

चितवन । तराई समुदायका व्यक्तिले मनाउँदै आएको छठ पर्वमा पछिल्ला वर्षमा पहाडिया समुदायका व्यक्तिले पनि मनाउन थालेका छन् । छठीमाईको पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने भन्दै पहाडिया समुदायका व्यक्ति पनि यस पर्वलाई मनाउन थालेका हुन् । तराई सामुदायिक सेवा समितिले हरेक वर्ष नारायणी नदी किनारमा छठ पर्व मनाउँदै आएको छ ।

यहाँ पूजा गर्न आउनेको सङ्ख्या बर्सेनी बढ्दै गएको समितिका सल्लाहाकार राजकुमार गुप्ताले बताए । उनले भने, “तराई मुलकासँगै पाहाडिया समुदायका व्यक्तिमा पनि छठ पर्वको महत्त्व बढ्दै गएको छ । अहिले ४५ प्रतिशत हाराहारी पाहाडिया समुदायका व्यक्तिले यो पर्वमा पूजा गर्ने गरेका छन् ।”

गुप्ताका अनुसार विसं २०२२ तिर नारायणगढमा छ/सात घरले मात्रै छठ पर्व मनाउने गरेकामा अहिले यो सङ्ख्या बढेको हो । प्रकृति र अदृश्य शक्तिसँग जोडेर सूर्य भगवानलाई पूजा गर्ने गरिएको उनको भनाइ थियो । उनले थपे “छठीमाईको पूजा गर्दा सन्तान प्राप्ति हुनुका साथै दीर्घरोग निको हुने विश्वासका साथ मनाइने गरिएको छ ।” छठ पर्वप्रति आस्था र विश्वास बढ्दै गएको गुप्ताले बताए ।

व्रत बस्ने र छठीमातालाई प्रसाद चढाउनेको सङ्ख्या पाहाडिया समुदायमा बढ्दै गएको भन्दै उनले भने, “पाहाडिया समुदायका व्यक्ति तराई समुदायका व्यक्तिकामा गएर पर्वको विधिबारे बुझ्ने र आफूले पनि मनाउने प्रचलन वढ्दै गएको छ ।” 

नदी किनारमा बसी बालुवाको स्तुप बनाउने भन्दा प्रसाद चढाउन आउने पाहाडिया समुदाय धेरै रहेका समितिका सल्लाहाकार गुप्ताले जानकारी दिए । यसवर्ष नारायणी नदी किनारमा २५/३० हजार भक्तजनले छठीमाईको पूजा गर्ने अनुमान गरिएको उनले बताए । समितिले पूजा व्यवस्थापनका लागि नदीको बगरमा त्रिपाल टाँगेर व्यवस्थित गरेको छ । व्रत बस्ने भन्दा हेर्न आउनेको सङ्ख्या निकै धेरै हुने उनले जानकारी दिए । 

भरतपुर–१० की जुना पौडेलले विगत पाँच वर्षदेखि छठीमाईको पूजा गर्दै आएको बताइन् । उनले भनिन्, “छठीमाईको वर्त बस्दा मनलाई शान्ति मिल्नुका साथै मनोकाङ्क्षा पूरा भएपछि हरेक वर्ष व्रत बस्ने गरेकी छु ।” आफू मात्रै नभई अन्य दिदीबहिनी पनि परिवारको श्रीवृद्धि र दिर्घायुको कामना गर्दै छठ पर्वको व्रत बस्ने गरेका उनको भनाइ थियो ।

भरतपुर–१९ की नवीना चौलागाईं ढकालले दुई वर्षदेखि छठ पर्वको व्रत बस्न थालेको बताइन् । छठीमाईप्रति विश्वास भएकाले व्रत बस्न थालेको बताउँदै उनले व्रत बस्दा मनोकाङ्क्षा पूरा भएको अनुभव सुनाइन् । विधिपूर्वक व्रत बसेर आज अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अघ्र्य चढाउने, प्रसाद चढाउने गरेको उनले जानकारी दिइन् ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चल भरि धुमधामका साथ मनाइँदैछ । 

छठपर्वका अवसरमा सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा अघ्र्य चढाउने गरिन्छ । छठ पर्व सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप