शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनीमा शिखर सम्मेलनको तयारी तीव्र, मुख्यमन्त्रीको दौडधुप

सोमबार, ०४ मङ्सिर २०८०, १६ : ३४
सोमबार, ०४ मङ्सिर २०८०

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा शिखर सम्मेलनको तयारी थालिएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी फागुन २७, २८ र २९ गते लुम्बिनीमा बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स’ नाममा सम्मेलन आयोजना गर्न लागेको हो । यो चौथो शिखर सम्मेलन हो ।

सम्मेलन सफल पार्न विशेष तयारी अघि बढाइएको सरकारमा प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेयले रातोपाटीलाई बताए । त्यसका लागि विभिन्न समिति, उप समिति गठन गरेर आ–आफ्नो जिम्मेवारी अनुसार काम भइरहेको उनले बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलन सफल पार्न विभिन्न व्यक्तिसँग भेटघाट गर्ने, समिति–उपसमिति गठन गर्ने, उनीहरूको कामको विषयमा सहजीकरण गर्ने काम गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार  गोपाल भट्टराईले बताए ।

शिखर सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीसहित बालबालिका, शान्ति क्षेत्रका विज्ञ, सरकारी तथा गैरसरकारी अधिकारी र सरोकारवाला सहभागी हुनेछन् ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमै शिखर सम्मेलनलाई समेटिएको छ । बजेट छुट्याएर सम्मेलनको तयारी गरिरहेको सरकारले सफल पार्न सबै निकायसँग छलफल र परामर्श गरिरहेको हो ।

उक्त कार्यक्रमलाई सफल बनाउन लुम्बिनी विकास कोष, पर्यटन व्यवसायी र प्रदेश सरकार मातहतका विभिन्न कार्यालय र निकायसँग समन्वय भइरहेको छ ।

के के काम भए ?

सम्मेलनलाई सफल बनाउन संघीय सरकारका परराष्ट्र मन्त्री एनपी साउदको संयोजकत्वमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सदस्य रहेको १३ सदस्यीय उच्चस्तरीय समन्वय समिति गठन गरिएको छ ।

मुख्यमन्त्री चौधरीको संयोजकत्वमा निर्देशक समिति, प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीको संयोजकत्वमा स्रोत समन्वय तथा सहजीकरण समिति, गृहमन्त्री पाण्डेयको अध्यक्षतामा सुरक्षा समिति, पर्यटन विकास परिषद्का कार्यकारी निर्देशकको संयोजकत्वमा अतिथि सत्कार आवास समिति, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुखको संयोजकत्वमा यातायात व्यवस्थापन समिति, गृह मन्त्रालय सूचना तथा सञ्चार मन्त्रालयका उपसचिवको संयोजकत्वमा सञ्चार तथा प्रचारप्रसार समिति गठन यस अघि नै गठन भएको छ । ती समितिले आ–आफ्नो तोकिएको जिम्मेवारी अनुसार काम सुरु गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री पाण्डेयले बताए ।

शान्ति, सद्भाव र करुणाको सन्देश जाने एवं विश्वभर लुम्बिनी क्षेत्रको पर्यटकीय प्रवर्द्धन गर्ने सम्मेलनको उद्देश्य रहेको उनले बताए । सम्मेलनमा विभिन्न विचारमूलक छलफल हुनेछ । विश्वका ख्यातिप्राप्त व्यक्ति आउने भएकाले पनि सम्मेलनलाई महत्त्वका साथ हेरेर तयारी गरिएको छ ।

उक्त कार्यक्रमबाट लुम्बिनीको थप प्रचार हुने लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले बताए । उनले उक्त सम्मेलनपछि लुम्बिनीको प्रचारसँगै यहाँको यसको महत्त्व झन् बढ्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप