सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उखु क्रसिङको तयारीमा मिल, यस वर्ष ३० लाख क्विन्टल क्रसिङ हुने अनुमान

क्रसिङअघि समर्थन मूल्य तोक्न आग्रह
बुधबार, ०६ मङ्सिर २०८०, १४ : ३६
बुधबार, ०६ मङ्सिर २०८०

 बारा । बाराको कलैयास्थित रिलायन्स चिनी मिलले उखु क्रसिङका लागि तयारी थालेको छ । मिलले आगामी मंसिर २२ गते विधिवत् रूपमा पूजाआजा गरेर उखु क्रसिङ सुरु गर्ने जनाएको छ ।

कलैया उपमहानगर वडा नम्बर १६ श्रीपुरस्थित सो चिनी मिलमा बारा र पर्साका करिब १० हजार उखु किसानले उखु क्रसिङ गर्ने बताइएको छ । उद्योगभित्रका मेसिनहरूको सरसफाइ गर्ने र पार्टपुर्जा फेर्ने काम ९० प्रतिशत सकिएको मिलले जनाएको छ । 

मिलका कार्यकारी निर्देशक शैलेन्द्र कुमारले यस वर्ष उखुको उत्पादन राम्रो भएकोले गत वर्ष भन्दा छिटो मिल सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । गत वर्ष मिलले पुस १० गतेदेखि लगातार ३ महिनासम्म १९ लाख ३५ हजार क्विन्टल उखु क्रसिङ गरेको जानकारी दिँदै यो वर्ष थप परिमाणमा क्रसिङ हुने बताए । 

यस वर्ष उखुको उत्पादन राम्रो भएकाले करिब ४ महिना मिल सञ्चालन हुने उनको भनाइ छ । उनका अनुसार करिब ३० लाख क्विन्टलसम्म उखु क्रसिङ हुने अनुमान गरिएको छ ।  गत वर्ष  १९ लाख ३५ हजार उखु क्रसिङ गर्दा १ लाख ९० हजार क्विन्टल चिनी उत्पादन भएको उनले बताए । 

ss4

मिलले गत वर्ष  साउन मसान्त अगावै प्रतिकिलो ७२ देखि ७८ रुपैयाँमा काठमाडौँ, पोखरा,तनहुँ, सिन्धुलीका ठुला व्यापारीलाई चिनी ब्रिकी गरेको  थियो । 

यता, उखु किसानहरूले भने क्रसिङअघि सरकारले समर्थन मूल्य तोक्नुपर्ने माग गरेका छन् ।  उखु किसान इन्द्रदेव कुशवाहाले यस वर्ष प्रतिक्विन्टल ७६० रुपैयाँ उखुको समर्थन मूल्य हुनुपर्ने आफूहरूको माग रहेको बताए । ‘मंसिर १५ गतेभित्र उखुको समर्थन मूल्य तोक्नुपर्यो भन्ने सरकारसँग हाम्रो माग हो, अहिलेको बजार मूल्यका आधारमा न्युनतम् उखुको मूल्य प्रतिक्विन्टल ७६० रुपैयाँ हुनुपर्छ’ कुशवाहाले भने ‘उखुको समर्थन मूल्य सार्वजनिक नभएसम्म मिल नचलाउन हामीले अनुरोध गरेका छौँ ।’

ss5

गत वर्ष सरकारले प्रतिक्विन्टल उखुको मूल्य ६१० रुपैयाँ निर्धारण गरेको थियो । जसमा मिलले प्रतिक्विन्टल ५४० रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान दिएको  थियो । किसानले बिक्री गरेको उखुबाट मिलले चिनी बाहेक, मलासिस, स्पिड, प्रांगरिक मल लगायत अनेकौँ वस्तु उत्पादन गरेर बिक्री गर्दछ । तर ती वस्तुको बिक्रीबाट हुने फाईदा उद्योग एक्लैले लिँदै आएको उखु कृषकहरुको गुनासो छ । 

‘पहिला डिजेल, मलखाद, बिउ, औषधि सस्तो थियो, उखु सस्तो भए पनि भाउ अनुसार नाफा अलि बढी नै हुन्थ्यो । तर, अहिले यतिको महँगी छ, खर्चै धान्नै मुस्किल छ, खेत बेचेर मलखादको पैसा तिर्नुपर्ने अवस्था आइसक्यो,’ कलैया १६ का अर्का उखु किसान धर्मजित कोइरीले भने, ‘हाम्रो उखु छिलाई (खेतमा उखु सफा) गर्दा प्रतिक्विन्टल ११० रुपैयाँ, भाडा प्रतिक्विन्टल ७० रुपैयाँ लाग्छ । हामीलाई बच्ने भनेको क्विन्टलमा त्यही ४ सय रुपैयाँ हो, त्यो पनि मलखाद, बिउ, औषधि, लेबर, पानी सबै हिसाब जोड्दा फाइदा छैन, यस पटक उखुको मूल्य बढाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप