आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

१५ दिनदेखि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापन बन्द

प्राध्यापकहरूले पाएनन् तलब, विद्यार्थीहरू मर्कामा
बिहीबार, ०७ मङ्सिर २०८०, ०९ : १५
बिहीबार, ०७ मङ्सिर २०८०

हेटौँडा । बागमती प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरू विरोधमा उत्रिएका छन् । प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरूले तलब, भत्ता बापतको भुक्तानी प्राप्त गर्न नसक्दा उनीहरूले विरोधमा उत्रिएका हुन् ।

विगत ४ महिनादेखि प्रतिष्ठानमा अध्यापन गराउँदै आएका विषयगत प्राध्यापकहरूले तलब, भत्ता लगायतका अन्य सुविधा बापतको रकम भुक्तानी प्राप्त गर्न नसकेको प्राध्यापक कल्याणकारी समिति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले जानकारी दिए । प्रतिष्ठानले विगत ४ महिनादेखि २४ जना प्राध्यापकहरूको तलब भत्ता लगायतका सुविधाको रकम भुक्तानी नदिएकाले विरोधमा उत्रिएको उनले बताए ।

विरोध स्वरूप प्राध्यापकहरूले गत कात्तिक २२ गतेदेखि पठनपाठन नै ठप्प पारेका छन् । अध्यक्ष सापकोटाका अनुसार प्रतिष्ठानले प्राध्यापकहरूको दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुग्दा समेत तलब भत्ता र अन्य सुविधा बापतको रकम भुक्तानी नदिएकाले पेन डाउन गरेको हो । प्राध्यापकहरूले पेन डाउन गरेसँगै विद्यार्थीहरुको पठनपाठन १५ दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ । पठनपाठन बन्द हुँदा विद्यार्थीहरू मर्कामा परेका छन् ।

प्राध्यापकहरूले गत भदौदेखि तलब भत्ता लगायतका अन्य सुविधा बापतको रकम भुक्तानी प्राप्त नगरेको अध्यक्ष सापकोटाले बताए । नवौँ तहमा कार्यरत एक कर्मचारीले बेसिक तलब ५१ हजार रुपैयाँ सहित भत्ता, लगायतका सुविधा प्राप्त गर्नुपर्ने भए पनि प्रतिष्ठानले भुक्तानी नदिएको उनको भनाइ छ । 

IMG-758fef26b04dfe9ad5c135a0d5b865d3-V

चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तलब सुविधा बापतको रकम पनि सघंर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यस यताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उनले बताए । तलब भत्ता लगायतका सुविधा बापतको रकम माग गर्दा समेत प्रतिष्ठानबाट मन्त्रालयले पैसा नपठाएको भन्ने गैरजिम्मेवारपूर्ण जवाफ आउने गरेको उनको भनाइ छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुदर्शन शेरचनका अनुसार प्रदेश सरकारले छात्रवृत्ति बापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ता बापतको रकम भुक्तानी दिन समस्या भएको बताए । उनका अनुसार चिकित्सा शिक्षा आयोगको नीति अनुरूप कुल विद्यार्थी सङ्ख्यामध्ये ७५ प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्नुपर्ने हुन्छ भने सो बापतको रकम प्रदेश सरकारले प्रतिष्ठानलाई भुक्तानी दिनुपर्ने हुन्छ । प्रदेश सरकारले गत आर्थिक वर्षदेखि सो शीर्षकमा प्राप्त हुने बजेट प्रतिष्ठानलाई उपलब्ध नगराउँदा प्राध्यापकहरूको तलब भत्ता लगायतका सुविधा बापतको रकम भुक्तानीमा समस्या भएको उनले बताए ।

सोही कारणले हाल प्रतिष्ठानले सञ्चालन गरेको सबै विषयका अध्यापन कार्य बन्द भएको र उक्त समस्या समाधानका लागि प्रदेश सरकार मातहतको स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहेको उनले बताए । मन्त्रालयले छात्रवृत्ति बापतको रकम भुक्तानी नगरेसम्म पठनपाठन सञ्चालन हुन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

प्रतिष्ठानले हाल चिकित्सा शिक्षा आयोगबाट अनुमति प्राप्त गरी ४ वटा विषयमा अध्यापन कार्य गरिरहेको छ । प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्यावरोटरी विषयमा आयोगले तोकेको कोटामा विद्यार्थी सहभागी गराएर अध्यापन कार्य गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप