मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

बागमतीमा कम्युनिस्ट गठबन्धनलाई प्राथमिकता दिने दुई दलको नीति

सोमबार, ०४ साउन २०८३, १८ : ०२
सोमबार, ०४ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसले प्रदेशहरूमा कांग्रेस र एमालेबीचको सत्ता सहकार्य टुटेको घोषणा गरेपछि एमाले र नेकपाबीच गठबन्धन गरी सहकार्य गर्ने नेताहरू पुगेका छन्।
  • बागमती प्रदेश सरकारबाट तत्काल अलग नहुने निर्णय गर्दै एमालेले केन्द्रको निर्णय कुर्दैछ।
  • बागमती प्रदेशमा एमाले र नेकपाबीच सहकार्य सुरु हुने र त्यसका लागि समझदारीको तयारी भइरहेको छ।

काठमाडौँ। नेपाली कांग्रेसले एकतर्फी रूपमा प्रदेशहरूमा भइरहेको कांग्रेस र एमालेबिचको सत्ता सहकार्य टुटेको घोषणा गरेसँगै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच गठबन्धन गर्दै सहकार्य गर्ने पक्षमा नेताहरू पुगेका छन्। 

सोही कारण सोमबार एमाले बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट तत्काल अलग नहुने निर्णय गरेको छ । 

दलको बैठकले केन्द्रको निर्णय कुर्ने भन्दै बागमती सरकारबाट बाहिरिने एमालेको यसअघिको निर्णय ‘होल्ड’मा राखेको नेताहरूले बताएका छन् ।

रोचक त के छ भने सोमबार कामठाडाैँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा एमालेका सचिव महेश बस्नेत र एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल समेत सहभागी भएका थिए। 

‘मन्त्रीहरू अहिले होल्डमै राख्ने निर्णय भयो’, दलको बैठकमा सहभागी एमाले प्रदेश अध्यक्ष ढुङ्गेलले भने, ‘हामीले दिएको सल्लाह र सुझाव मात्र होइन जनताको चाहाना बागमती लगायतका प्रदेशमा लेफ्ट शक्तिहरू नै मिल्नुपर्छ भन्ने छ र सोही अनुसार हाम्रो गृहकार्य पनि भइरहेको छ ।’

नेता ढुङ्गेलका अनुसार बागमती लगायतका प्रदेशहरूमा लेफ्ट शक्तिहरूबिचको सहकार्यका लागि समझदारीको तयारी समेत भइरहेको छ। 

‘नेकपाका संयोजक प्रचण्ड देश बाहिर भएकाले अलिकति ढिला भए पनि उहाँ फर्केपछि भेटघाट र संवाद अघि बढेको छ’, ढुङ्गेलले भने, ‘लेफ्टहरूबिचको कार्यगत एकता र सहकार्यमार्फत नै अघि बढ्ने लगभग निश्चित छ ।’ नेता ढुङ्गेलले प्रतिकुलतालाई अनुकूलतामा बदल्ने र आफूसँग भएको अनुकूलतालाई प्रयोग गर्ने नीति रहेको बताए । 

‘प्रतिकुलतालाई अनुकूलतामा बदल्ने र आफूसँग भएको अनुकूलतालाई प्रयोग गर्ने नीति अवलम्बन गर्ने हो । यसमा कांग्रेस मिलेर नजाने हो भने कतिपय ठाउँमा राप्रपालाई समेत साथ लिएर जाने हो’, ढुङ्गेलको भनाइ छ ।

त्यसका लागि सबै भन्दा पहिला बागमतीबाट सहकार्य सुरु हुने ढुङ्गेलको भनाइ छ । दुई वर्षअघि नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सत्ता गठबन्धन गर्ने सहमति अनुसार कांग्रेसले त्यसलाई तोडेको पनि एमालेको ठहर छ। 

कांग्रेसले एकपक्षीय रूपमा सुदूरपश्चिमा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेले विकल्पका रूपमा नेकपालाई रोजेको हो । सुदूरपश्चिमपछि कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाएका थिए। 

कांग्रेसले एमालेसँगको सहकार्य तोड्दै नेकपासँग सहकार्य गर्ने चाहना प्रकट गरेको छ तर, नेकपाले भने कांग्रेसभन्दा एमालेसँगको सहकार्यलाई जोड दिएको बताइएको छ । सोही अनुसार नेकपाका संयोजक प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर टुङ्गो लगाउने बताइएको छ। 

यसअघि नेकपाका नेताहरू प्रमेश हमाल र बर्षमान पुनले अध्यक्ष ओली निवास पुगेर प्रदेश सरकारमा सहकार्यबारे सामान्य छलफल गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप