शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बिहानैदेखि चाँगुनारायणमा भक्तजनको घुइँचो

बिहीबार, ०७ मङ्सिर २०८०, ११ : ४६
बिहीबार, ०७ मङ्सिर २०८०

भक्तपुर । हरिबोधनी एकादशीका दिन आज भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । चारनारायणमध्येका जेठो नारायणका रुपमा पुजिँदै आएको चाँगुनारायण मन्दिरमा आज बिहान ४ बजेदेखि दर्शनार्थीको घुइँचो लागेको मन्दिरका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए । 

आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शन गर्ने गर्दछन् । 

मेला व्यवस्थापन समितिका पदाधिकारीका अनुसार चार नारायणको दर्शन गर्दा जेठो नारायणको रुपमा मानिएको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता रहेकाले बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।
    
सहज रुपमा दर्शन र पूजा गर्ने व्यवस्थाका लागि मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको चाँगुनारायणका गोकर्ण पुरीले जानकारी दिए। उनका अनुसार आज बिहानैदेखि मन्दिर परिसरमा भक्तजनको घुइँचो लागेको छ ।

असाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवाण विष्णु आजै जागा हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीको रुपमा विशेष पूजाअर्चना गरेर मनाइने पूजारी राजोपाध्यायको भनाइ छ । 
 
“हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको मठलाई आज परम्परा अनुसार सिगारेर पूजा गरी माला लगाएर विष्णुसँग विवाह गराइएको दिने गरिन्छ”, उनले भने, “आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्परा अनुसार पिँडालु र सख्खरखण्डको परिकार खाने प्रचलन छ ।”

त्यसैगरी चाँगुनारायण नगरपालिकाल–५ छालिङ गोकुल गाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । नारायणका पूजा एवं दर्शन गर्न व्रतालुको भीड लागेको गोकर्ण पुरीले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप