केपी ओली कप क्रिकेट : लगातार दोस्रो जितसँगै सन्दीप लामिछाने नेतृत्वको बागमती सेमिफाइनलमा
काठमाडौँ । लगातार दुई जितसँगै बागमती प्रदेशको टोली पोखरामा जारी केपी ओली कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बागमती प्रदेशले शुक्रबार खेलिएको आफ्नो दोस्रो खेलमा कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्यो ।
यसअघि बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा बागमती प्रदेशले मदन भण्डारी स्पोर्टस एकेडेमीको रातो टोलीलाई एकसय नौ रनको फराकिलो अन्तरले हराएको थियो । पोखरा रंगशालामा शुक्रबार खेलिएको खेलमा टस जिती पहिले ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले १७.३ ओभरमा अलआउट हुनुअघि ९९ रनमात्र बनाउन सक्यो । राष्ट्रिय टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमतीका लागि ओपनर रित गौतम र तेस्रो नम्बरका ब्याट्सम्यान इशान पाण्डेले उत्कृष्ट अर्धसतकीय पाली खेले ।
रितले ८२ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ५९ बलको सामना गरी दुई छक्का र १० वटा चौका हिर्काएका थिए । बागमतीले केवल १६ रनको कुल स्कोरमा आफ्नो पहिलो विकेट गुमाएको थियो । पहिलो विकेटका रुपमा ओपनर शुभ कंशाकार चार रन बनाउँदै आउट भएका थिए ।
त्यसपछि रित र इशानले टोलीको स्कोरलाई एक सय ५९ रनको बलियो स्थितिसम्म पुर्याएका थिए । इशानले पनि टोलीको खातामा ७० रन थपे । उनले केवल ३८ बलको सामना गरी ६ छक्का र चारवटा चौका पनि प्रहार गरेका थिए ।
प्रतिश जीसीले टोलीको खातामा अविजित १२ रन थपे । कर्णालीका बलर दिनेश अधिकारीले तीन विकेट लिए । दिवान पुन र अनुज चनाराले पनि एक—एक विकेट हात पारे । जवाफी ब्याटिङमा ओर्लिएको कर्णालीका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।
ओपनर अर्जुन घर्तीले २४ रन बनाए । विपिन शाहीले २१ रन जोडे । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान रविन्द्र शाहीले २० रन बटुले । दीपेन्द्र रावत १२ रन बनाउँदै पेभेलियन फर्किए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बागमती प्रदेशका बलर सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । उनले ३।३ ओभरमा केवल नौ रन खर्चिएका थिए । यसअघि पहिलो खेलमा पनि सन्दीपले चार विकेट लिएका थिए । जारी प्रतियोगितामा सन्दीपले लिएको विकेट सँख्या आठ पुगिसकेको छ ।
कर्णाली विरुद्धको खेलमा दीपेश श्रेष्ठले पनि दुई विकेट हात पारे । प्रतिश जीसी, रिजन ढाकाल, सुवाष खत्री र इशान पाण्डेले पनि एक—एक विकेट लिए । प्रतियोगिताको समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोड्दै बागमती पहिलो स्थानमा छ । एक—एक खेलेका मदन भण्डारी स्पोर्टस एकेडेमीको रातो टोली र कणर्णाली प्रदेशले भने खाता खोल्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण