बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

फ्लोरमा आधा दर्जनभन्दा बढी फिल्म, स्टारकै जगजगी

आइतबार, १० मङ्सिर २०८०, १७ : २२
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’ युनिट यतिबेला पोखरा पुगेको छ । सोमबारबाट फिल्मको सुटिङ थाल्ने उद्देश्यसहित युनिट पोखरा पुगेको हो । रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको निर्देशन रहने फिल्मको शुक्रबार ललिपुरको बंगलामुखी मन्दिरमा शुभ–मुर्हुत गरिएको थियो ।

farki farki team 2

‘फर्की फर्की’ मात्र होइन, यतिबेला ‘महाजात्रा’, ‘मायावी’, ‘डिग्री माइला’, ‘एन्जिला’, ‘रङ्गेली’, ‘हात्ती छाप’, ‘यो मन त नेपाली हो’ र ‘दान्भी’लगायत आधा दर्जन माथि फिल्म फ्लोरमा छन् । यसमध्ये केहीको छायाङ्कन अन्तिम चरणमा छ भने केहीको छायाङ्कन आधा पनि भएको छैन ।

फिल्म ‘महाजात्रा’ प्रदीप भट्टराईले निर्देशन गरिरहेका छन् । लेखनसमेत भट्टराई कै रहेको फिल्मको कात्तिक १५ देखि छायाङ्कन सुरु भएको थियो । प्रदर्शन मिति चैत ९ गते तोकिएको फिल्मको छायाङ्कन आधा पुरा भएको निर्देशक भट्टराईले बताए ।

mahajatra-2-1698823031

‘मायावी’ दिवाकर भट्टराईले निर्देशन गरिरहेको फिल्म हो । गत कात्तिक ४ बाट फ्लोर रहेको फिल्मको छायाङ्कन अब २–३ दिनमा सकिनेछ । मौसमको कारण छायाङ्कन सोचेभन्दा ढिलो भएको निर्देशक भट्टराईले बताए ।

त्यस्तै ‘हात्तीछाप’ गत असार २४ गतेबाट छायाङ्कन सुरु भएको फिल्म हो । सिमोस सुनुवारको निर्देशन रहेको फिल्म माघको २६ गते प्रदर्शन हुँदैछ । फिल्मको भने केही दिनको छायाङ्कन अझै बाँकी छ । छिट्टै फिल्मको छायाङ्कन सकाउने निर्माता किरण नेपालीले बताए ।

अर्जुन सुवेदी निर्देशित फिल्म ‘रंगेली’ पनि अहिले फ्लोरमा छ । फागुनको २५ गतेबाट रिलिज मिति तोकिएको फिल्म गत भदौ २७ बाट फ्लोरमा निस्किएको हो । फिल्मको एक साताको काम अझै बाँकी रहेको बताइन्छ ।

त्यसो त फिल्म ‘डिग्री माइला’ पनि  फ्लोरमा छ । ओखलढुङ्गाबाट छायाङ्कन सुरु भएको फिल्म कलाकार प्रकाश घिमिरे दुर्घटनामा परेको कारण ढिलो भएको हो । फिल्मका निर्देशक रामबाबु गुरुङ हुन् । फिल्म छिट्टै सकाउने योजना आफ्नो रहेको निर्देशक गुरुङले बताए ।

ANJILA_ANNOUNCEMENT_3_1ODz4m02XL

महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘एन्जिला’ पनि अहिले फ्लोरमा छ । एन्जिलाकै गाउँ इलाममा छायाङ्कन भइरहेको फिल्मका निर्देशक मिलन चाम्स हुन् । फिल्मको अहिले ७५ प्रतिशत काम सकिएको छ ।

फिल्म ‘दान्भी’को पनि छायाङ्कन सकिएको छैन । पहिलो चरणको छायाङ्कन सकाएको फिल्मको दोश्रो चरणको छायाङ्कन मंसिरको १५बाट दार्जिलिङमा सुरु हुनेछ । फिल्मका निर्देशक रुपेश तामाङ हुन् ।

फिल्म ‘यो मन त मेरो नेपाली हो’ पनि अहिले फ्लोरमा छ । चितवनको विभिन्न स्थानमा छायाङ्कन भइरहेको फिल्मका निर्देशक मित्र प्रधान हुन् । फिल्म मङ्सिर ६ गतेदेखि फ्लोरमा निस्किएको हो ।

स्टारको जगजगी, कथा कस्तो ?

पछिल्लो समय स्टार कलाकारका फिल्मले व्यवसाय नगरे पनि उनीहरूलाई लिएर फिल्म बन्ने क्रममा भने रोकिएको छैन । अहिले फ्लोरमा रहेका ‘महाजात्रा’, ‘मायावी’, ‘डिग्री माइला’, ‘एन्जिला’, ‘रङ्गेली’, ‘हात्ती छाप’, ‘यो मन त नेपाली हो’ र ‘दान्भी’लाई हेर्ने हो भने पनि धेरै फिल्ममा स्टार कलाकारकै जगजगी छ ।

फिल्म ‘महाजात्रा’ षट्कोण आर्ट्सको ब्यानरमा बनिरहेको हो । काठमाडौँमै छायाङ्कन भइरहेको फिल्ममा विपिन कार्की, हरिवंश आचार्य, राजाराम पौडेल, वर्षा राउत, दिव्यदेव पन्त, गौमाया गुरुङ, शिशिर बाङ्देल, सुमन कार्की, प्रेम पाण्डे, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा लगायतको अभिनय रहने छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको निर्माण रहेको फिल्म सामाजिक कथामा बन्न लागेको हो ।

movie11_qnVXjHsrFa

मुस्ताङको निलगिरी हिमाल क्षेत्रबाट छायाङ्कन सुरु भएको फिल्म ‘मायावी’को अहिले पोखरामा छायाङ्कन भइरहेको छ । पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार लगायत यसका मुख्य कलाकार हुन् । फिल्मले प्रेमकथा विषय बनाएको छ ।

degree

त्यस्तै फिल्म ‘डिग्री माइला ः एमए थर्ड क्लास’मा पनि स्टार कलाकार नै रहेका छन् । दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे कलाकार रहेको फिल्म २०७१ सालमा मण्डला थिएटरमा तीन पटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियाबाट बन्न लागेको हो । फिल्मको निर्माण संंस्था बासुरी फिल्मस् हो ।

आफ्नो जीवनीमा आधारित चलचित्र ‘अन्जिला’ मा उनी स्वयंको मुख्य भूमिका रहेको छ । फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको पनि भूमिका फिल्ममा रहनेछ । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् ।

फ्लोरमै रहेको ‘रङ्गेली’ले केही अगाडि मिरुना मगरको फष्टलुक समेत ल्याएको थियो । यो फिल्म पनि चलेको कलाकारले भरिएको छ । दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीको मुख्य कलाकार छन् । फिल्मको कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा र  निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ रहेका छन् ।

‘हात्ती छाप’मा पनि स्टार कलाकारको कमी छैन । किरण नेपाली निर्माता रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासनासिंह ठकुरी, बुद्धि तामाङ लगायतका मुख्य कलाकार हुन् ।

अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा देखिन लागेको फिल्म हो ‘दान्भी’ । फिल्ममा पूजाको साथमा नायक कुन्साङ बोमजोमको पनि अभिनय देख्न सकिन्छ । फिल्म महिलाको विषयमा बन्न लागेको हो ।

1

फिल्म ‘यो मन त मेरो नेपाली हो’ पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुन लागेका हुन् । फिल्ममा नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषा गौरव हुन् भन्ने विषयवस्तु कथा बनाइएको छ ।

फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल लगायत मुख्य कलाकारको रूपमा अभिनयरत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप