शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
मध्यपहाडी यात्रा

एमालेमा खेदिएका भीम रावल ‘झुलाघाट–चिवा भञ्ज्याङ संकल्प यात्रा’मा पनि छुटाइए

बिहीबार, १४ मङ्सिर २०८०, २३ : ०७
बिहीबार, १४ मङ्सिर २०८०

धनगढी । नेकपा एमालेले निकै तामझामका साथ झुलाघाट–चिवा भञ्ज्याङ मध्यपहाडी संकल्प यात्रा सुरु गरेको छ ।

अभियानमा एमालेको सिङ्गो पार्टीपंक्ति जुटेको छ । तर एमालेका पूर्व उपाध्यक्ष भीम रावल भने अभियानभन्दा बाहिरै देखिएका छन् । रावललाई ‘इग्नोर’ गरेरै अभियान सञ्चालन गरिएको उनी निकट स्रोत बताउँछ ।

एमालेले गत फागुनमा ग्रास रुट अभियान सञ्चालन गरेको थियो । सो अभियानमा पनि एमालेभित्र ओली र रावलबिच कडा मतभेद देखियो । हालै सम्पन्न एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन पनि रावललाई बाहिरै राखेर गरिएको भन्दै एमालेभित्र असन्तुष्टि चुलिएको थियो ।

संकल्प यात्राको क्रममा शनिबार अछामको साँफेबगर र मंगलसेन पुगेर कार्यक्रम गर्ने एमालेको कार्यतालिका छ । साथै मंगलसेनमा सभा आयोजना गर्ने योजना छ । यद्यपि रावलको गृह जिल्लामा गरिने कार्यक्रममा उनलाई नै उपेक्षा गरिएको भन्दै नेतृत्वप्रति अछाममा नेता कार्यकर्ताको तीव्र असन्तुष्टि देखिएको छ ।

रावल निकट एक नेताले भने, ‘पार्टीको कुनै जिल्ला, प्रदेशको कार्यक्रम भएको भए केही थिएन । तर पार्टीको केन्द्रीय कार्यक्रममा पार्टीका सशक्त नेतालाई बाहिर राखेर कार्यक्रम गर्नु भनेको सरासर उहाँलाई इग्नोर गरिएको हो । यसले पार्टीलाई कतिको असर गरेको भन्ने त गत आमनिर्वाचनको परिणामले देखाइसकेको छ । तर अझै पनि नेता रावललाई पार्टीले खेद्ने काम गर्दै आएको छ ।’

आफ्नै प्रदेशको कार्यक्रममा पनि भीम रावल सहभागी हुन नपाउने अवस्था बारम्बार दोहोरिन थालेको बताउँदै अब के गर्ने भन्नेबारे आन्तरिक छलफल गरिरहेको र विरोधका क्रियाकलाप पनि हुन सक्ने उनी निकट नेता–कार्यकर्ता बताउँछन् ।

तर एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीले पार्टीको केन्द्रीय तहबाट निम्तो नभए पनि प्रदेश समितिको तर्फबाट आफूले नै निम्तोसहितको खबर रावललाई गरेको बताए । जैशीले अगाडि भने, ‘हामी र उहाँ एकै निर्वाचन क्षेत्रको हो । लामो समय सँगै काम गरेका छौँ । उहाँ कार्यक्रममा सहभागी भएको भए राम्रो सन्देश जान्थ्यो । तर उहाँ सहभागी नभए पनि कार्यक्रम त अगाडि बढ्छ नै ।’

रावल भने पार्टीको मध्यपहाडी संकल्प यात्राबारे आफूलाई जानकारी गराइएको भन्ने कुरा सत्य नभएको बताउँछन् । रावलले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै आफ्नो सहभागिताबारे अध्यक्ष ओलीले चासो नदिएको र महासचिव शंकर पोखरेलले पनि उपेक्षा गरेको प्रस्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘एमालेको मध्यपहाडी पुष्पलाल राजमार्ग अभियानबारे धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मेरो बारेमा सोधिएको प्रश्नको जवाफमा मलाई निम्तो दिइएको भन्ने सत्य होइन । तथ्य यस्तो छः प्रदेश अध्यक्ष कृष्ण प्र जैशीले फोनमा पत्र पठाउँ कि भन्नुभयो । मैले भनेँ– अभियान प्रदेशको भए तपाईंले भन्दा म आइहाल्थेँ । तर केन्द्रको भएकोले तपाईं अध्यक्षलाई फोन गरी मेरो सहभागिताको कुरा गर्नुस्, उहाँले मलाई भन्नुभयो भने म सहभागी हुन्छु । केही समयपछि उहाँले फोनमा भन्नुभयो– फोन गरेँ, अध्यक्षको स्वकीयसँग कुरा हुँदा महासचिवसँग कुरा गर्न भनियो । महासचिवसँग कुरा गर्दा इच्छा हुने जाँदा हुन्छ भन्ने जवाफ आएकोले तपाईं झुलाघाट जानु परेन, अछाम आफ्नै किसिमले गए हुन्छ । अब सबै विवेकशील व्यक्तिले सोचौँ । यही हो त मलाई अभियानमा निम्ता गरिने कायदा ?’

आजदेखि सुरु भएको एमालेको संकल्प यात्रा १९ दिनमा पाँचथरको चिवा भञ्ज्याङ पुगेर समापन हुने बताइएको छ ।

bhim_rawal_twit

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप