आइतबार, २० फागुन २०८०
ताजा लोकप्रिय

शीतगृहले किसानलाई राहत

आइतबार, १७ मङ्सिर २०८०, १८ : ०६
आइतबार, १७ मङ्सिर २०८०

धरान । कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा धरानमा निर्माण भएको शीतगृह (चिस्यान केन्द्र) ले किसानलाई राहत मिलेको छ । विगतमा बिक्री नभएका आफ्ना उत्पादन खेर फाल्न बाध्य किसान अहिले बिक्री नभएको कृषिजन्य उत्पादन भण्डारणका लागि शीतगृह पुर्‍याउने गर्छन् । धनकुटाका कृषक शिवकुमार राईले शीतगृह निर्माण भएपछि किसानलाई ठूलो राहत मिलेको बताए । 

“दुःख गरेर धरान ल्याइएका फलफूल र तरकारी बिक्री भएन भने कि त सित्तैमा दिएर जानुपर्ने, नत्र नालीमा फाल्नुपर्ने अवस्था थियो”, उनी भन्छन्, “अहिले चिस्यान केन्द्र भएपछि बिक्री नभए पनि यहीँ थन्क्याएर जान पाइन्छ । अर्को हप्ता आएर फेरि बिक्री गर्न सकिन्छ ।” 

शिवकुमार मात्र होइन धरान–१३ स्थित कृषि उपज बजार स्थलमा तरकारी तथा फलफूल बिक्री गर्न आउने धनकुटा, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, खोटाङलगायत पहाडी क्षेत्रका किसानका लागि शीतगृह बरदान साबित भएको छ । 

कोशी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६—७७ मा बाली विशेष भण्डार गृह निर्माण कार्यक्रमअन्तर्गत उपलब्ध गराएको रु ४९ लाख ८३ हजार तीन सय र कृषि बजार व्यवस्थापन समितिको रु २६ लाख ९७ हजार आठ सय ४० गरी कूल रु ७६ लाख ८१ हजार एक सय ४० लागतमा शीतगृह निर्माण भएको थियो ।

शीतगृहमा कृषि उपज राख्न कृषक र व्यापारीको माग झनै बढेपछि आर्थिक वर्ष २०७७र७८ मा पनि कोशी प्रदेश सरकारले रु ५० लाख उपलब्ध गरायो । त्यसमा कृषि बजार समितिले रु १७ लाख थप गरेर कूल रु ६७ लाख लागतमा अर्को शीतगृह थप गरियो । 

हाल कृषि बजारमा शीतगृहका ६ वटा च्याम्बर छन् । एउटा च्याम्बरमा २५ टनदेखि ३० टनसम्म भण्डारण गर्न सकिन्छ । छ वटा च्याम्बरमध्ये २५ टन क्षमताको एउटा च्याबर कृषकका लागि आरक्षणका रुपमा छुट्याइएको कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराई बताउछन् । उनी भन्छन्, “अरू च्याम्बरमा कृषक, व्यापारी सबैले राख्न पाउँछन् तर एउटा च्याम्बर कृषककै लागि छुट्याइएकाले अरूले राख्न पाउँदैनन् । यो कृषकलाई आरणक्षका रुपमा राखिएको हो ।” 

शून्य डिग्री तापक्रम रहने शीतगृहमा अहिले किसानले आलुको बीउ, ड्रागन फ्रुट, किबी, जुम्ली स्याउ र नौनी घीउ राखेका छन् । शीतगृहमा ड्रागन फ्रुट एक महिनासम्म, किबी तीन महिनासम्म, आलुको बीउ एक वर्षसम्म र हरियो तरकारी एक हप्तासम्म भण्डारण गर्न सकिने व्यवस्थापक भट्टराई बताउछन् । 

भट्टराईका अनुसार यसरी भण्डार गर्दा कृषकले प्रतिकेजी मासिक दुई रुपैयाँ ५० पैसा तिर्नुपर्छ । शीतगृहमा व्यापारीहरुले पनि बाहिरबाट किनेर ल्याएका स्याउ, अङ्गुर, अनारजस्ता फलफूलहरु राख्ने गर्छन् । कतिपय व्यापारीले च्याम्बर नै लिजमा लिने गरेका छन् । उनीहरुले ३० टन क्षमताको प्रतिच्याम्बर मासिक रु ३० हजार तिर्ने गरेका छन् ।
    
तरकारी र फलफूलका लागि शीतगृह भए पनि खाद्यवस्तुका लागि अझै शीतगृह आवश्यक रहेको व्यवस्थापक भट्टराई बताउछन् । मासु, चिज, पनिरजस्ता खाद्य वस्तु राख्न शीतगृहको माग भए पनि त्यसका लागि करिब रु दुई करोड खर्च हुने भएकाले आर्थिक अभावले निर्माण गर्न नसकिएको उनको भनाइ छ । तरकारी, फलफूललाई शून्य डिग्रीमा राख्न सकिने भए पनि मासुजन्य खाद्यलाई माइनसमा राख्नुपर्ने भएकाले अर्को शीतगृह आवश्यक परेको हो ।

धरानस्थित कृषि उपज बजारमा दैनिक करिब एक हजार किसान र दुई सय ५० हाराहारी व्यापारीबीच कारोबार हुन्छ । यहाँ दैनिक दुई करोडदेखि तीन करोडसम्मको कारोबार हुने गरेको छ । वार्षिक कारोबार सात अर्बभन्दा बढी हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप