सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

खाली तालुमा कपाल उमार्ने नयाँ तरिका

सोमबार, १८ मङ्सिर २०८०, १० : ०३
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । कपाल झर्ने समस्या नभएको व्यक्ति पाउन अहिले निकै मुस्किल छ । समस्या कपाल झर्नेसँग मात्रै सम्बन्धित छैन । हिजोआज कम उमेरकै युवायुवतीहरूमा समेत कपाल झर्ने समस्या व्याप्त छ । विशेष गरी युवा पुरुषहरूमा कपाल झरेर तालु खुइलिने समस्या बढिरहेको छ । 

यो समस्या हटाउने उपाय भनेको कपाल प्रत्यारोपण हो । यसमा व्यक्तिको टाउकोमा अन्य हिस्साको कपाललाई झिकेर टाउकोमा कपाल नउम्रिएको ठाउँमा प्रत्यारोण गरिन्छ । यो लोकप्रिय तरिका हो रित्तो टाउकोमा कपाल उमार्नेे । तर यसको पनि आफ्नै जोखिम छ । 

यसैबिच इरानको इरान युनिभर्सिटी अफ मेडिकल साइन्सेजले  गरेको एउटा अनुसन्धानमा तालुको रिक्तपन हटाउनका लागि नयाँ तरिका ल्याएको छ । यसमा भने व्यक्तिको शरीरबाट निकालिएको फ्याटी टिस्यूमार्फत फेरि कपाल उमार्न सकिने यो अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको दाबी थियो ।

अधिकांश पुरुषहरूमा टाउकोको कपाल झर्ने ‘प्याटर्न’ एउटै खालको हुन्छ । ५० वर्ष पुग्नु अगावै तालुको आधा कपाल झरिसकेको हुन्छ । कसै कसैको तालु पूरै खाली भइसक्छ । यो अनुसन्धानमा यस्तै खालको तक्लुपनको समस्याबाट पीडित चार पुरुष र पाँच महिलालाई समावेश गरिएको थियो । अनुसन्धानको क्रममा उनीहरूको तिघ्राबाट २० मिलिमिटर फ्याटी टिस्यूसहित झिकिएको कपाललाई तीन महिनाको अन्तरालमा तीन पटक टाउकोमा इन्जेक्ट गरिएको थियो । उपचार शुरु गरिएको ६ महिनापछि प्रत्यारोपण गरिएको कपालको मोटाइमा उल्लेख्य वृद्धि देखियो ।

यो कपाल सजिलै, छिट्टै झर्छ कि भनेर हेयर पुल–टेष्ट गरिएको थियो । यो टेस्टमा कपाल निकै कम झरेको पाइयो । यो उपचार पद्धतिले कपाल प्रत्यारोपण गर्दा टाउकोभित्र सुन्निने अवस्थालाई नियन्त्रण गर्न सक्ने अनि यसले कपालको घनत्व र मोटाई बढ्न सक्ने बताइएको छ । फ्याटी टिस्यूसहित प्रत्यारोपण गरिने भएकोले कपाल फेरि उम्रन सक्ने पनि बताइएको छ । यो अनुसन्धानको प्रतिवेदन जर्नल अफ कस्मेटिक डर्मेटोलोजीमा प्रकाशित भइसकेको छ । यसमा हेयर ट्रान्सप्लान्टदेखि माइक्रोनिडल्सको प्रयोगसम्मको विद्यमान उपचारको वर्णन गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप