बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अङ्ग्रेजी नयाँ वर्षमा फेवा किनारमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल

सोमबार, १८ मङ्सिर २०८०, २२ : १६
सोमबार, १८ मङ्सिर २०८०

कास्की । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता’ सञ्चालनको तयारी गरिएको छ ।

स्थानीय स्तरबाट देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पोखरा महानगरपालिका भलिबल सङ्घको आयोजनामा आगामी पुस १४ देखि १६ गतेसम्म फेवाताल किनार बसुन्धरा पार्कमा प्रतियोगिता हुँदैछ ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्दै आएको सडक महोत्सवको २५औँ संस्करणको आकर्षणका रुपमा सो प्रतियोगिता हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा १२ वटा टोली सहभागी हुने आयोजकको अनुमान छ ।

प्रतियोगितामा पोखराबाहिरका क्लब पनि सहभागी हुन पाउने र टोलीमा दुईजनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाइने सङ्घका अध्यक्ष एवं खेल संयोजक रामबहादुर लामिछानेले बताए । उनका अनुसार प्रतियोगिताको विजेताले रु एक  लाख ११ हजार एक सय ११ र उपविजेताले रु ७७ हजार सात सय ७७ सहित सिल्ड, मेडल र प्रमाणपत्र  पुरस्कार पाउने छन् । 

यसैगरी ‘बेस्ट सेटर’, ‘बेस्ट स्पाइकर’, ‘बेस्ट सर्भर’, ‘बेस्ट ब्लकर’, ‘बेस्ट डिफेन्डर’ले जनही रु तीन हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु १० हजारसहित कप र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ । अध्यक्ष लामिछानेले स्थानीय स्तरबाट खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउने विश्वास लिइएको बताए ।

सामुदायिक एवं संस्थागत विद्यालयमा रहेका भलिबल खेलाडीलाई प्रतियोगिताले भलिबल खेलप्रति ऊर्जा भर्ने आयोजकको भनाइ छ ।  ‘स्रस्टालाई सम्मान, नयाँ पुस्तालाई प्रोत्सहान’ भन्ने उद्देश्यका साथ आयोजना हुने प्रतियोगिता पोखरा महानगर खेलकुद विकास समितिको समन्वय तथा पोखरा महानगरपालिका प्रवद्र्धक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप