शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
विकास निर्माण

बजेट अभाव र ठेकेदारको लापरवाहीले सालझन्डी–ढोरपाटन सडक निर्माण सुस्त

कतै ठेक्का तोड्ने तयारी, कतै नयाँ ठेक्का
बुधबार, २० मङ्सिर २०८०, ०८ : ३२
बुधबार, २० मङ्सिर २०८०

बुटवल । सरकारले धार्मिक पर्यटकीय स्थल लुम्बिनीबाट बाग्लुङको ढोरपाटनसम्म जोड्ने उद्देश्यले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको काम सुरु गरेको डेढ दशकसम्म पनि निर्माण पूरा हुन सकेको छैन ।

२०६६ सालदेखि सुरु भएको सडक निर्माणको काम पर्याप्त बजेट विनियोजन नहुनु, ठेकेदारको अटेरीपनका, बिचमा स्थानीयसँग विवाद लगायतका कारण सुस्त गतिमा अघि बढेको हो ।

राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको कुल लम्बाई १ सय ८५ किलोमिटर छ । १४ वर्ष अघि निर्माण सुरु भए पनि अहिलेसम्म १८ किलोमिटर पिच र ८३ किलोमिटर ग्राभेल भएको परियोजनाले जनाएको छ । उक्त सडक अन्तर्गत ६ वटा पुल निर्माण भएका छन् ।

८ अर्बको डीपीआर भएको सडकमा प्रत्येक वर्ष ३५–४० करोड मात्रै बजेट विनियोजन हुने गरेको छ । परियोजनाले हाल तीन वटा नयाँ ठेक्का लगाएको छ भने एउटा ठेकेदार कम्पनीले अटेरीपना देखाएपछि ठेक्का तोड्ने तयारी भइरहेको आयोजनाले जनाएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन परियोजनाकी सूचना अधिकारी इन्जिनियर दीक्षा बस्यालले केन्द्रबाट बजेटको सहमति लिएर काम गर्नु पर्ने भएकाले बजेट कम आउँदा समस्या हुने बताइन् ।

3

आयोजना अन्तर्गत रुपन्देहीमा ५ किलोमिटर, पाल्पामा २०, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र बागलुङ जिल्लामा ५० किलोमिटर सडक पर्दछ । हालै गुल्मीको पुर्कोटदहदेखि अर्खावाङ्गसम्मको १९ किलोमिटर र अर्घाखाँचीको माटेदेखि भन्डारासम्म ७ किलोमिटर गरी कुल २६ किलोमिटर पिचका लागि बिरुवा, पुष्प जेभीसँग १ अर्बको ठेक्का सम्झौता भएको छ ।

यस्तै पाल्पाको खुसार्नेदेखि अर्घाखाँचीसम्म पीके अर्घाखाँची निर्माण कम्पनीसँग २२ किलोमिटर पिच गर्न ठेक्का सम्झौता भएको बस्यालले रातोपाटीलाई बताइन् ।

ठेकेदार कम्पनीले अटेर गरेपछि पाल्पाको खुसार्ने कन्चन खोला खण्डको सम्झौता तोड्ने तयारी भइरहेको आयोजनाले जनाएको छ । १३ किलोमिटरसम्म २४ करोडमा पिच गर्न रमन जेभी ललितपुरसँग २०७७ पुसमा सम्झौता भएको थियो । तर बारम्बार कामका लागि ताकेता गर्दा पनि ठेकेदार पक्षले अटेर गरेपछि अहिले ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको छ । सम्झौता तोड्नका लागि परियोजनाले सूचना निकाल्ने तयारी गरिरहेको इन्जिनियर बस्यालले रातोपाटीलाई बताइन् । 

पुलमा समस्या

सालझन्डी–ढोरपाटन सडक खण्डमा डीपीआर अनुसार ८ वटा पुल निर्माण गर्नुपर्नेमा ६ वटा पुल निर्माण भइसकेका छन् । तर दुई वटा पुल निर्माण नहुँदै समस्या देखिएको छ ।

बाग्लुङ दोवल खोलाको पुल डिजाइन २०७४ सालमा भएको थियो । तर ठेक्का नलगाउँदै ०७७ सालमा आएको बाढीले खोलाको स्वरूप नै परिवर्तन गरेको थियो । ढोरपाटन नगरपालिकामा पर्ने दोवल खोलाको पुल र बहुला बाँसेको पुलको नक्सा डिजाइन नमिलेपछि फेरि अर्को नक्सा बनाउनुपर्ने अवस्था छ ।

4

हाल बनाएको नक्सालाई सडक विभागले नमानेपछि फेरि अर्को डिजाइनको तयारीमा रहेको आयोजनाले जनाएको छ । यो सडक निर्माण भएपछि अर्घाखाँचीबाट बुटवल आउन २७ किलोमिटर दूरी कम पर्छ । यस्तै बुटवलबाट अर्घाखाँची र गुल्मीको यात्रा छोट्टिनेछ ।

2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप