सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

चिनी उद्योगले उत्पादन थाले, बजारमा अझै छैन सहज आपूर्ति

बिहीबार, २१ मङ्सिर २०८०, १९ : ५६
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । स्वदेशी उद्योगले उत्पादन थाले पनि बजारमा सहजरुपमा चिनीको सहज आपूर्ति भएको छैन । सरकारले दसैँ र तिहारदेखि नै बजारमा चिनीको सहज आपूर्ति हुने दाबी गरे पनि मध्य मङ्सिरमा समेत त्यसो हुन सकेको छैन ।

यतिबेला स्वदेशी उद्योगले समेत चिनीको उत्पादन थालिसकेका छन् । तर, पनि बजारमा चिनीको सहज आपूर्ति हुन नसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नै स्विकार्छ । मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार ६ वटा उद्योगले चिनी उत्पादन सुरु गरिसकेका छन् ।

यसबाहेक पूर्वका उद्योगसमेत चिनी उत्पादन सुरु गर्ने चरणमा छन् । यति हुँदाहुँदै पनि बजारमा चिनीको सहज आपूर्ति हुन नसकेको ठाकुरको भनाइ छ ।

उनका अनुसार स्वदेशी उद्योगले उत्पादन थालेपछि भारतबाट आयातसमेत नगर्ने योजना छ । यसबाहेक, पश्चिम नेपालमा रहेका उद्योगबाट थालिएको उत्पादनबाट त्यसक्षेत्रमा सहज आपूर्ति सुरु भएको छ । यसबाट पश्चिम नेपालमा चिनीको अभाव सकिएको र सहज आपूर्ति भइरहेको मन्त्रालयको भनाइ छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय निर्देशक ब्रजेशकुमार झाले पश्चिम नेपालबाट चिनी ल्याएर बजारमा आपूर्ति गरिरहेको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अहिले बजारमा कर्पोरेशनबाट केही सहज आपूर्ति भइरहेको छ । तर, यसबाट बजारको सम्पूर्ण माग पूर्ति भइरहेको भने छैन ।’

कर्पोरेशनले हाल पश्चिम नेपालबाट दैनिक ८/१० गाडी चिनी ल्याएर बजारमा वितरण गरिरहेको छ । झाका अनुसार अबको हप्ता दिनभित्रमा भने सबैतिर उत्पादन सुरु हुने भएकाले बजारको अभाव पूर्ति हुन्छ । ‘अहिले पश्चिम नेपालका उद्योगले मात्रै उत्पादन गरिरहेका छन्,’ उनले थपे, ‘अब अन्यत्रका उद्योगले समेत उत्पादन थालिरहेका छन् ।’

खासगरी, भारत सरकारले आन्तरिक मूल्य नियन्त्रण र बजारको अभाव पूर्ति गर्ने भन्दै चिनीको निर्यातमा परिमाणात्मक बन्देज लगाएको छ । यसकारण, भारतीय बजारबाट नेपालले चिनी ल्याउन सकिरहेको छैन । यसअघि भारत सरकारले अक्टोबर ३१ सम्मलाई निर्यात बन्देज लगाएकामा पुनः निरन्तरता दिएको छ ।

नेपालमा प्रतिवर्ष करिब ३ लाख टन चिनी खपत हुने सरकारी तथ्याङ्क छ । उद्योग मन्त्रालयका अनुसार यसमध्ये ७० प्रतिशत चिनी औद्योगिक प्रयोजनका लागि खपत हुन्छ । बाँकी ३० प्रतिशत चिनीमात्रै घरायसी प्रयोजनमा खपत हुने गरेको छ ।

घट्दै उखु उत्पादन

पछिल्लो ४ आर्थिक वर्षको तथ्याङ्क हेर्दा नेपालमा चिनीको खपत बढ्दो अवस्थामा र उखुको उत्पादन घट्दो अवस्थामा छ । आर्थिक वर्ष २०७६/७७ मा २१० लाख क्विन्टल उखु उत्पादन भएको थियो । आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा घटेर १५० लाख क्विन्टल मात्रै उखु उत्पादन भएको छ । यो ४ वर्षको अवधिमा ५० लाख टनको गिरावट हो ।

तर, यस अवधिमा चिनीको खपत भने निरन्तर उकालो अवस्थामा छ । यसअघि नेपालमा २ लाख ७० हजार टन चिनी खपत हुने गरेकोमा पछिल्लो तथ्याङ्कअनुसार ३ लाख टन पुगेको छ । अघिल्ला वर्षहरुमा नेपालमा उत्पादित चिनीले ६२ प्रतिशत माग धान्थ्यो । जुन, पछिल्ला वर्षहरुमा निरन्तर घट्दो अवस्थामा छ ।

यस्तै, उद्योग संख्यासमेत १४ बाट घटेर ८ मा आइपुगेको छ ।

उखु उत्पादन (लाख क्विन्टल) र नगद अनुदान (रुपैयाँ प्रति क्विन्टल)

u

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप