आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राप्रपा बैठक : राजेन्द्र लिङ्देनद्वारा आन्दोलनमा जाने प्रस्ताव

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने
आइतबार, ०१ पुस २०८०, १२ : ००
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव गरेका छन् । आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो समसामयिक प्रस्ताव पेस गर्दै लिङ्देनले देशको वर्तमान अवस्थालाई ध्यान दिई सडक संघर्षमा जानुको विकल्प नभएको बताएका हुन् । 

समान विचार भएकाहरूसँग एकता, सहकार्य आवश्यक भएको भन्दै लिङ्देनले त्यो सम्भव रहेको पनि बताए । ‘आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गरौँ’, बैठकमा लिङ्देनले भने, ‘ राप्रपाबारे भ्रम सिर्जना गर्ने, राप्रपा नेतृत्वलाई योजनाबद्ध रुपमा बदनाम गर्ने काम भने रोकिनुपर्छ।’

बैठकमा महामन्त्री डा धवलशमशेर राणाले बृहद आन्दोलन सम्बन्धी कार्य योजना प्रस्तुत गरेका थिए । यसअघि कार्यसम्पादन समिति बैठकबाट पास भइरहेको उक्त कार्य योजनाअनुसार राप्रपामा आन्दोलनमा जाने बताइएको छ ।  

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने

प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा लिङ्देनले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । ‘सत्ता केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति हुने उहाँले प्रष्ट पार्नुभएको छ’, श्रेष्ठको भनाइ छ । 

अध्यक्ष लिङ्देनले देशमा पुँजी निर्माण हुन नसकिरहेको अन्यौलपूर्ण अवस्थामा पनि सत्तापक्ष र प्रतिपक्ष समेत मिलेमतोमा कमाऊ धन्दामा लागेको आरोप लगाए । यस्तै भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएको उनको जिकिर थियो । 

यस्तै लिङ्देनले राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष समेत बैठकमा सुनाएका  छन् । 

अर्का प्रवक्ता सगुन लावतीका अनुसार कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदार बहादुर अधिकारीले सचिवालय सम्बन्धी प्रतिवेदन पेस गरेका छन् । यस्तै प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको प्रतिवेदन पेस गरेपछि छलफल सुरु हुने उनको भनाइ छ । 

बैठक पुस ३ गते विभिन्न निर्णय गर्दै सम्पन्न हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप