मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

जनकपुरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन तीव्र

श्रम ऐन पालना नगर्नेलाई कारबाहीको चेतावनी
मङ्गलबार, २३ असार २०८३, १८ : ३१
मङ्गलबार, २३ असार २०८३

सारांश

  • श्रम तथा रोजगार कार्यालय जनकपुरधामले निजी अस्पतालहरूमा श्रम कानुनको कार्यान्वयन अवस्था बुझ्न अनुगमन तीव्र पारेको छ।
  • धनुषा अस्पतालमा गरिएको अनुगमनमा न्यूनतम पारिश्रमिक, रोजगार सम्झौता, सामाजिक सुरक्षा कोष र श्रम ऐन पालनाबारे छलफल गरिएको थियो।
  • अनुगमनबाट धेरै निजी प्रतिष्ठानमा कार्यरत कर्मचारीले न्यूनतम पारिश्रमिकसमेत नपाएको र सामाजिक सुरक्षा कोषबारे जानकारी नभएको पाइएको छ।

जनकपुरधाम । श्रम तथा रोजगार कार्यालय जनकपुरधामले श्रमसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनको अवस्था बुझ्न निजी व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था तथा अस्पतालहरूमा अनुगमनलाई तीव्र बनाएको छ।

कार्यालयले पछिल्लो समय जनकपुरधामस्थित निजी अस्पतालहरूमा विशेष निगरानी थालेको छ। सोही क्रममा मङ्गलबार जनकपुरधाम–१ स्टेसन एरिया स्थित धनुषा अस्पतालमा अनुगमन गरिएको हो।

श्रम तथा रोजगार कार्यालयका निमित्त प्रमुख रञ्जित यादवका अनुसार अनुगमनका क्रममा कर्मचारीहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाए–नपाएको, रोजगार सम्झौता गरिएको अवस्था, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा श्रम ऐनको पालना भए–नभएको विषयमा व्यवस्थापन पक्ष र कर्मचारीसँग छलफल गरिएको छ।

उनले अनुगमनका क्रममा देखिएका कमजोरीबारे सम्बन्धित प्रतिष्ठानलाई आवश्यक सचेत गराउँदै सुधारका लागि निर्देशन दिइने र अटेर गरे कानुनी कारबाहीका लागि सिफारिस गर्ने प्रक्रिया अपनाइने बताए।

यादवका अनुसार हालसम्म गरिएको अनुगमनबाट धेरै निजी प्रतिष्ठानमा कार्यरत कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत नपाएको तथा सामाजिक सुरक्षा कोषबारे पर्याप्त जानकारी नरहेको अवस्था भेटिएको छ।

कार्यालयका अनुसार अनुगमनलाई केवल निगरानीका रूपमा मात्र नभई श्रमिक र रोजगारदातामा श्रम अधिकार तथा कानुनी दायित्वबारे सचेतना फैलाउने अभियानका रूपमा समेत सञ्चालन गरिएको छ।

श्रम तथा रोजगार कार्यालयले आगामी दिनमा अनुगमनलाई अझ प्रभावकारी बनाउँदै सदरमुकाममा मात्र सीमित नराखी धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी जिल्लाका निजी प्रतिष्ठानहरूमा समेत निरन्तर सञ्चालन गर्ने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप