आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रंगशालामा राष्ट्रपतिले भने–विद्वान् र विदुषीहरूको जमघटले राष्ट्र निर्माणको  सुमार्ग होस्

सोमबार, ०२ पुस २०८०, १५ : २०
सोमबार, ०२ पुस २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरू राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडिरहेको बताएका छन् । 

त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई दशरथ रङ्गशालामा सोमबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देश परिवर्तनको बाटोमा अघि बढ्दाका संक्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि नेपालीले गर्नु परिरहेको बताए । उनले भने,‘शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वान् र विदुषीहरूको यस जमघटमा राष्ट्रहितप्रतिको सुमार्ग निर्धारण होस् । आज हामी हाम्रो राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडेका छौँ । देश परिवर्तनको बाटोमा अघि बढ्दाका संक्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि तपाईँ हामीहरूले नै गर्नुपरेको छ ।’ 

राष्ट्रपति पौडेलले समावेशी विशेषता युक्त अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको बताए । पौडेलले भौगोलिक, सांस्कृतिक र जातीय विविधतायुक्त नेपाली समाजको एकताका लागि अहिलेको संविधान र यो व्यवस्था अत्यन्तै महत्त्वपूर्ण पक्ष रहेको स्पष्ट पारे ।  

राष्ट्रपति पौडेलले राष्ट्र निर्माण र राष्ट्रिय समृद्धिका लागि उच्च शिक्षाको जननीका रूपमा विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाहरूको अहम् भूमिका रहने कुरा निर्विवाद रहेको बताउँदै कुनै पनि राष्ट्रको समृद्धि त्यहाँको प्राकृतिक स्रोतमा मात्र निर्भर नभई त्यसको समुचित परिचालनका लागि आवश्यक ज्ञान, सिप, प्रविधिको विकास र प्राप्तिमा निर्भर पर्ने उल्लेख गरे ।  ज्ञान, सिप, प्रविधिको विकासलाई प्रभावकारी, जीवनोपयोगी र मुलुकका लागि उपलब्धिमूलक बनाउन त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने उच्चशिक्षा समयसापेक्ष, बजारमुखी र विश्व बजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समय सापेक्ष नीति अँगाल्नु जरुरी रहेको उनको भनाई थियो ।

राष्ट्रपति पौडेलले राष्ट्रिय सत्चरित्र निर्माणका माध्यमबाट राष्ट्र निर्माण र राष्ट्रहितप्रति समर्पित भई उपलब्धि हासिल गर्नुमा नै यो ज्येष्ठ विश्वविद्यालयको स्थापना, यसमा सञ्चालित प्राध्यापन र अध्ययनको औचित्य पुष्टि हुने बताए । 

राष्ट्रपति पौडेलले नेपाल यस क्षेत्रमा सभ्यता र संस्कृतिको सङ्गमस्थलका रूपमा रहेको बताउँदै भने,‘यो हाम्रा लागि अवसरका साथै शक्ति पनि हो । बुद्ध र सीताको यस पवित्र भूमिलाई विश्वमा चिनाउने अवसर पनि हो ।’ उनले नेपालको अन्तर्राष्ट्रिय पहिचान र यस क्षेत्रमै जलवायुलाई स्थिर राख्ने कार्य नेपालका उच्च पहाड, खासगरी सगरमाथाले गरेको स्पष्ट पारे । 

राष्ट्रपति पौडेलले विद्यार्थीका लागि आजको दिन अविस्मरणीय रहने भन्दै यस्तो दिन पटकपटक पुनरावृत्ति नहुने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप