प्रधानमन्त्री प्रचण्डले गरे ‘एक्सन रुम’ बाट दुई सडक आयोजनाको अनुगमन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित कार्यालयमा रहेको ‘एक्सन रुम’ बाट दुई सडक आयोजनाको अनुगमन गरेका छन् । उनले सोमबार अपराह्न एक्सन रुममा बसेर नारायणघाट–बुटवल सडक र मुग्लिङ–पोखरा सडक आयोजनाको अनुगमन गरिरहेको मुख्य सचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए ।
लामो समयदेखि निर्माणाधीन रहेको दुवै सडक आयोजना ठेकदारको ढिलासुस्तीका कारण निर्माण सम्पन्न भएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेकेदारलाई पटकपटक चेतावनी समेत दिँदै आएको छ । डेढदेखि दुई घण्टा लाग्ने नारायणघाट बुटवलको बाटो अहिले चारदेखि पाँच घण्टासम्म यात्रा गर्नुपर्ने बाध्यता छ । मुग्लीनदेखि पोखरासम्मको साँघुर बाटो बिस्तार गर्ने योजनाको काममा पनि ढिलासुस्ती हुँदै आएको गुनासो प्रधानमन्त्री कार्यालयसम्म पुग्दै आएको छ ।
सर्वसाधारणको गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले एक्सन रुमबाट अनुगमन गरेका हुन् । अनुगमनपछि प्रधानमन्त्रीले भने, ‘हाम्रा परियोजनाहरू भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्ने गरी कामको प्रगति भएन। यसबाट सन्तुष्ट हुन सक्ने अवस्था देखिँदैन। यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ।’
‘गिट्टी, बालुवा ढुंगा, विद्युतका सानातिना समस्याहरू समाधान गर्ने कुरा हाम्रो काबुमा छ, त्यो हाम्रो जिम्मेवारी पनि हो’ प्रधानमन्त्रीले भने, ‘फिल्डका कार्यालयले समयमै सम्वन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुप¥यो। समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ। दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ।’
‘अब परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्छ। तोकिएको समयमा नै काम सकिनुपर्छ। यी कारणले काम भएन भन्न पाइने छैन’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यी दुई प्रजेक्ट महत्वपूर्ण छन्। समयमै सकिनुपर्छ। म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु।’
‘यो काम गर्ने अन्तिम अवसर हो। सबैले एकपटक अवसर लिऔं। अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन। राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ। यसका लागि गम्भीर गृहकार्य गरौं’ प्रधानमन्त्रीले भने । अनुगमनका क्रममा रुममा प्रधानमन्त्रीसँगै मुख्य सचिव अर्याल, प्रधानमन्त्री कार्यालयकै सचिवहरु, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, सचिव केशव कुमार शर्मा सडक विभागका प्रमुख शुशीलबाबु ढकाल उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
-
लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाऊ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण