सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

नेता छान्ने विधिबारे एकीकृत समाजवादीमा तीव्र विवाद

मङ्गलबार, ०३ पुस २०८०, ११ : ०७
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादी मौजुदा पार्टी विधान संशोधन गर्ने प्रक्रियामा छ । सोमबार सुरु भएको सो पार्टीको केन्द्रीय सचिवालय बैठकमा प्रस्तुत विधान संशोधन मस्यौदामाथि छलफल भइरहेको छ । 

जसमा नेता छान्ने विधि के हुने भन्ने विषय पेचिलो बनेको छ ।  जसमा नेताहरूबिच केन्द्रीय सदस्य बन्न तल्लो तहबाटै प्रतिनिधि छनोट भएर आउनु पर्ने वा सोझै बन्ने भन्नेबारेमा मतभेद भएको हो ।

‘विधान संशोधन मस्यौदामाथि सामान्य छलफल हुँदा कसरी नेता छान्ने भन्ने विषयमा नेताहरूले एकसरो धारणा राख्नुभएको छ । त्यसमा धारणा राख्दा दुईथरी मत आएका छन्’, एक सचिवालय सदस्यले भने, ‘अहिलेको अवस्थामा नेता हुन तल्लो तहबाटै विधि विकास गर्नु ठिक हुने मत पनि आएको छ ।’

‘एकथरीले प्रतिनिधिले केन्द्रीय परिषद् छान्ने र केन्द्रीय परिषद्ले केन्द्रीय कमिटी छान्नुपर्छ भन्ने विचार राखेका छन्,’ उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि नेता छान्ने विधिबारे दुईथरी विचार प्रकट भएको स्वीकार गरे । यदि कोही महाधिवेशन प्रतिनिधि बन्न चाहन्छ भने सो व्यक्ति सम्बन्धित क्षेत्रबाटै निर्वाचित हुनुपर्ने प्रावधान राखिनुपर्ने पाण्डेको धारणा छ ।

 ‘प्रतिनिधिले केन्द्रीय परिषद् छान्ने र केन्द्रीय परिषद्ले केन्द्रीय कमिटी छान्नुपर्छ भन्ने विधि ठिक छैन,’ पाण्डेले बैठकमा राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘हामीले प्रत्यक्ष केन्द्रीय नेतृत्व छान्नुपर्छ । हामी नेताहरू पनि प्रतिनिधि बन्न आफ्नो क्षेत्रमा अनिवार्य गएर निर्वाचित हुन जरुरी छ ।’ 

पाण्डेले केन्द्रमा भएकै कारण स्वतः आयोजक कमिटी स्वतः प्रतिनिधि हुनुपर्छ भन्ने कुरा स्वीकार्य नहुने धारणा राखेका छन् । अरूलाई निर्वाचित भएर आऊ भन्ने तर हामी आफै भने चुनिनु नपर्ने भन्ने व्यवस्था विधानमा राख्नु नहुने पाण्डेको धारणाप्रति उपाध्यक्ष प्रमेश हमाल लगायतका नेताहरूले विरोध गरेका छन् ।

मौजुदा विधानमा अहिलेको केन्द्रीय कमिटी स्वतः प्रतिनिधि बन्ने भन्ने उल्लेख छ । जसलाई संशोधन गर्नुपर्ने एक थरीको माग रहँदा अर्को थरीले भने अहिलेकै व्यवस्थालाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।

त्यसैगरी पार्टी कमिटीहरूमा युवापंक्तिलाई समेट्न २५ देखि ४० वर्षसम्मका युवा अनिवार्य ३० प्रतिशत हुनुपर्ने, ४० देखि ७० सम्मका ६० प्रतिशत र ७० देखि माथिकालाई १० प्रतिशत समेट्ने व्यवस्था विधानमा गर्नुपर्ने कोणबाट समेत छलफल भएको छ । 

पार्टी कमिटीमा यसरी प्रतिनिधित्व गराएपछि उमेर हदको कुरै हुँदैन’ एक सचिवालय सदस्यको भनाइ छ । त्यस्तै पार्टीमा विभिन्न क्षेत्रका व्यक्तिहरू जस्तो वैज्ञानिक, डाक्टर, इन्जिनियर, आइटी विज्ञलाई पनि प्रतिनिधित्व गराउनुपर्ने माग उठेको छ । नेताहरूका अनुसार नेपाली राजनीतिमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई स्थान दिने नाममा व्यापारी, ठेकेदारहरू हाबी भएको र त्यस्ता व्यक्तिहरूका कारण मुलुकमा भ्रष्टाचार, अनियमितता र कुशासन बढ्न पुगेकाले नेतृत्वमा पुग्न एउटा निश्चित मापदण्ड बनाउनुपर्ने आवाज उठेको छ । ‘त्यसलाई करेक्सन गर्न एउटा निश्चित मापदण्ड बनाउन जरुरी छ । जसले ती मापदण्ड पुरा गर्छ उसले पार्टीमा अवसर पाउँछ, जसले गर्दैन उ स्वतः त्यो स्थानमा पुग्न सक्दैन,’ एक नेताको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप