बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आर्थिक विकास र सुशासन अहिलेका मुख्य मुद्दा हुन् : विनोद चौधरी

मङ्गलबार, ०३ पुस २०८०, २१ : २३
मङ्गलबार, ०३ पुस २०८०

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले राजनीतिक परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेसले अब देश विकासको पनि नेतृत्व लिनुपर्नेमा जोड दिएका छन् । उनले अबको मूल मुद्दा नै आर्थिक विकास भएको भन्दै कांग्रेसले स्पष्ट खाकासहित अगाडि बढ्नुपर्ने बताए । 

उनले भने, ‘ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने नेपाली कांग्रेसले आर्थिक विकासको नेतृत्व पनि लिन सक्छ भनेर हामीले प्रमाणित गर्नुपरेको छ । र, त्यो जिम्मेवारी पूरा गर्न हामी सक्षम छौँ भन्ने सन्देश पोखराबाट दिन चाहन्छु ।’

कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई मंगलबार पोखरामा सम्बोधन गर्दै नेता चौधरीले युवाहरूको बढ्दो विदेश पलायनप्रति संवेदनशील बन्दै देशको आर्थिक नीतिमा गम्भीर सुधार आवश्यक रहेकोमा जोड दिए । उनले नेपाललाई विकसित मुलुकमा परिणत गर्ने र युवाहरूको भविष्य यही देशमा सुनिश्चित गर्ने लक्ष्यका साथ आफू राजनीतिमा सक्रिय रहेको बताएका छन् ।

पछिल्लो समय देशभित्रै राम्रो रोजगारी भएका युवाहरु पनि विदेश पलायन हुने क्रम बढेको भन्दै नेता चौधरीले सरकार र दलहरु गम्भीर बन्नुपर्ने बेला आएको बताए । ‘आज बेरोजगार युवा मात्र होइन, राम्रो रोजगारीमा रहेका युवाहरू पनि जागिर छाडेर धमाधम विदेश गइरहेका छन् । जबसम्म हामीले उनीहरू र उनीहरूका सन्ततिको भविष्य यही देशमा सुरक्षित छ भनेर सुनिश्चित गर्न सक्दैनौँ यो प्रक्रिया जारी रहनेछ’, उनले भने ।  

आर्थिक विकास, सामाजिक रूपान्तरण र सुशासनको राजनीतिलाई मुख्य प्राथमिकता दिँदै आएका नेता चौधरीले यी विषयलाई गम्भीर रुपमा आत्मसाथ गर्दै कांग्रेसले आफूलाई नयाँ पुस्ताले भर पर्न सक्ने पार्टीका रुपमा उभ्याउनुपर्ने धारणा पनि व्यक्त गरे ।   

कांग्रेसले अवलम्बन गर्ने आर्थिक विकासको दृष्टिकोणले नै पार्टी संगठन र युवाहरूलाई आकर्षित गर्ने भएकाले गण्डकी प्रदेश सम्मेलनले यस दिशामा गंभिर निर्णय गर्नेछ भन्ने विश्वास पनि नेता चौधरीले व्यक्त गरे । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य संरचनामा अवतरण हुँदा खुसी लागेको उल्लेख गर्दै नेता चौधरीले विमानस्थल खाली रहनु भने राम्रो संकेत नरहेको बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप