सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
घुस प्रकरण

५ लाख घुससहित पक्राउ जनप्रतिनिधिलाई पीडितले थप १४ लाख बुझाएको दाबी

वडाध्यक्ष कार्कीलाई अनुसन्धानका लागि टंगाल पठाइयो
बुधबार, ०४ पुस २०८०, ११ : ३८
बुधबार, ०४ पुस २०८०

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष ताराबहादुर कार्की सोमबार ५ लाख घुससहित पक्राउ परे । घर बाटो सिफारिस गरिदिने प्रयोजनका लागि घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा सोही उपमहानगरपालिकाको वडा नम्बर ७ बाट पक्राउ गरेको थियो । 

जनप्रतिनिधि कार्कीलाई अख्तियारले पक्राउ गरेसँगै उनीबारे थप विवरण सार्वजनिक भएको छ । पीडित राजन उप्रेतीले आरोपी वडाध्यक्ष कार्कीले घुससहित पक्राउ पर्नुअघि पनि आफूबाट पटक पटक गरेर १४ लाख रुपैयाँ बुझिसकेको दाबी गरेका हुन् । उनले आफूसँग यससम्बन्धी पर्याप्त प्रमाणसमेत रहेको बताएका छन् । घर बाटो सिफारिसमा वडाध्यक्ष कार्कीले पटक पटक गरेर रकम लिएको उनको दाबी छ । 

स्थानीय घरजग्गा कारोबारी उप्रेतीले काठमाडौँका राणा परिवारसँग जग्गा खरिद गर्ने क्रममा घर बाटो सिफारिसका लागि वडामा निवेदन दिएका थिए । सो क्रममा वडाध्यक्ष कार्कीलाई ३ लाख ५ लाख र ६ लासहित कुल १४ लाख रुपैयाँ बुझाएको  र अहिले सोही जग्गा बिक्री गर्ने क्रममा सिफारिस माग्दा वडाध्यक्षले पुनः आफूसँग १० लाख रुपैयाँ मागेको उप्रेतीको भनाइ छ । 

रकम मागेर हैरान पारेपछि बाध्य भएर अख्तियार गुहार्नु परेको उनको भनाइ छ ।  ‘मैले राज्यलाई कर बुझाएर कानुन सम्मत ढंगले नम्बरी जग्गा किनबेच गर्न नपाउने भन्ने त कानुनमा छैन । तर घर बाटो सिफारिस माग्न जाँदा कहिले वडाध्यक्षको खातामा २ लाख ५ लाख, कहिले को मार्फत रकम दिइरहेको थिएँ’, उनले रातोपाटीसँग भने, ‘तर अन्तिममा एकमुष्ट १० लाख रुपैयाँ मागेपछि बाध्य भएर म आफैले अख्तियार गुहारेको हुँ । होटलको सिसी क्यामरा हेर्दा सबै प्रमाण स्पष्ट देख्न सकिन्छ ।’

वडाध्यक्ष कार्कीले सोमबार जीतपुरस्थित एक होटलबाट उप्रेतीसँग नगद ५ लाख रकम लिएको बताइएको छ । कार्कीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएपछि उनले मन्दिर निमार्णका लागि रकम लिएको दाबी गरेका थिए । तर, केरकारका क्रममा उनले घुस नै लिएको खुलेको बताइएको छ ।

वडाध्यक्ष कार्कीले पटक पटक घुस रकम मागेपछि सो बारेमा आफूले उपप्रमुख भोला प्रसाद अधिकारी र बारा ४ (क) का प्रदेश सभा सदस्य देवनारायण चौधरीसमक्ष समेत गुनासो गरेपनि कुनै सुनवाइ नभएको उप्रेतीको भनाइ छ । 

वडाध्यक्ष कार्की, उपप्रमुख अधिकारी र प्रदेश सभा सदस्य चौधरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । वडाध्यक्ष कार्की तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा स्वकीय सचिव भएर काम गरेका थिए । माओवादीबाट राजनीतिमा प्रवेश गरेका कार्की यसअघि जनजागरण मध्यवर्ती सामुदायिक वनका अध्यक्षसमेत भएका थिए । मध्यवर्ती सामुदायिक वनको अध्यक्ष हुँदा सालको काठ आफूखुसी बिक्री गरेर रकम हिनामिना गरेको आरोप समेत उनीमाथि छ । जुन विषय अहिले अख्तियारमा विचाराधीन छ ।

स्थानीय तहमा जग्गाको किनबेच गर्दा घर बाटो सिफारिस गर्ने अधिकार वडा कार्यालयलाई मात्रै हुन्छ । सो सिफारिसमा वडाध्यक्षको हस्ताक्षर चल्दछ । 

घर बाटो सिफारिसमा स्थानीय कल्याणी गौतमले पनि घुस दिनुपरेको गुनासो गरेकी छन् ।  हरेक सिफारिसमा  रकम बुझाउनुपर्ने बाध्यता रहेको बताउँदै उनले भनिन्, ‘मैले अरू वडा कार्यालयमा हत्तपत्त रकम बुझाउनु परेको छैन ।  तर वडा नम्बर ३ मा हरेक सिफारिसमा पैसा बुझाउनुपर्छ ।’ उनले अगाडि भनिन्, ‘बाटो नभएको खेतलाई जबरजस्ती कागजमा बाटो भएको देखाउन लगाएर बाध्य पारेर मजबुरीमा हामीले घुस रकम दिएका थियौँ, अव ढिलो भए पनि मैले त्यति बेला घुस दिएको रकम खोजी गर्छु, यस्तो गलत काम गर्ने जनप्रतिनिधिलाई कारबाही हुनुपर्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रमुख उमाकान्त आचार्यले वडाध्यक्ष कार्कीलाई थप अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालय टंगाल पठाइएको जानकारी दिए ।  वडाध्यक्ष कार्कीको विषयमा बाँकी अनुसन्धान र अभियोजनको सबै काम आयोगको केन्द्रीय कार्यालयले गर्ने उनको भनाइ छ । 

 आचार्यले भने ‘उहाँको विषयमा पुरानो उजुरीहरू छन् भने पनि एकीकृत रूपमा अनुसन्धान  अगाडि बढ्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप