शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
कलकारखाना

बुटवल धागो कारखाना व्यवस्थापन सम्बन्धी अर्थ मन्त्रालयको पत्र उद्योग मन्त्रालयद्वारा अस्वीकार

बिहीबार, ०५ पुस २०८०, ०६ : १५
बिहीबार, ०५ पुस २०८०

बुटवल । अर्थ मन्त्रालयले बुटवल धागो कारखानाको रेखदेख गर्ने जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने निर्णय गरे पनि त्यसको कार्यान्वयन हाललाई थाँती रहने भएको छ ।

दुई महिना अगाडि अर्थ मन्त्रालयले धागो कारखानाको संरक्षण र रेखदेख गर्ने जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने निर्णय गरेको थियो । तर उद्योग मन्त्रालयले त्यसमा असहमति जनाएपछि हाललाई उक्त निर्णय कार्यान्वयन हुन नसकेको हो ।

अर्थ मन्त्रालयले बुटवल धागो कारखाना र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड एउटै मन्त्रालय अन्तर्गत रहेको र जग्गा पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा भएकाले संरक्षण गर्न व्यवस्थापन लिमिटेडलाई जिम्मा दिने योजना बनाएको थियो । तर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले संरक्षण गर्दा लाग्ने खर्च, बरबुझारथ नभएको अवस्थामा के गर्ने भन्दै निर्देशनात्मक आदेशका लागि उद्योग मन्त्रालयलाई पत्राचार गरेको थियो ।

उद्योग मन्त्रालयले हाल उक्त जिम्मा नलिने बरु बजेट व्यवस्थापन गरेर हाल हेरेको धागो कारखाना यथावत् राख्ने निर्णय गरेको उद्योग मन्त्रालयका औद्योगिकीकरण क्षेत्र हेर्न महाशाखाका अधिकृत युवराज अर्यालले रातोपाटीलाई बताए ।

डेढ दशकदेखि बन्द रहेको धागो कारखानाको सञ्चालक समितिले असोज ११ गते औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई पत्र पठाएर कर्मचारीको तलब समेत खुवाउन नसकेको भन्दै कारखानाको सुरक्षा जिम्मेवारी लिन आग्रह गरेको थियो ।

butwal-indistrial-are

अहिले कारखानाको संरचना, मेशिनलगायत सामग्री बरबुझारथका लागि भन्दै तीन जना कर्मचारी खटाइएका छन् । कारखाना सञ्चालक समितिमा उद्योग विभागका महानिर्देशक अध्यक्ष तथा अर्थ मन्त्रालय, साल्ट ट्रेडिङ कर्पोरेसन, जनकपुर चुरोट कारखाना र हिमाल सिमेन्टका प्रतिनिधि सदस्य छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी उपसचिव भूषण कुमार उपाध्यायले आफूहरूले मागेको आदेशका कुनै पनि पत्र उद्योग मन्त्रालयले नपठाएपछि अहिले जे छ, त्यसैगरी चलाउने भन्ने बुझाइ रहेको रातोपाटीलाई बताए ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवलका धागो कारखानाका अधिकांश मेसिन बिग्रिएका छन् । कारखानाभित्र रहेका छुट्टाछुट्टै भवनमा रहेका विभिन्न समान हराउन थालेका छन् । यहाँ ठुलो मात्रामा तार हराएको खुलेको छ ।

२०६४ सालदेखि उत्पादन बन्द रहेको बुटवल धागो कारखानाले ०६६ असोजदेखि कर्मचारीलाई अनिवार्य अवकाश दिएको थियो । १४३ रोपनी क्षेत्रफलमा रहेको यो उद्योग परिसरमा ६ वटा ठुला भवन छन् । कर्मचारीको तलब सुविधा र औद्योगिक क्षेत्रलाई जग्गा भाडाबापतको खर्च धागो कारखानाले दिनुपर्ने हुन्छ । जग्गाको १ करोडभन्दा धेरै रकम तिर्न बाँकी छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवलका धागो कारखानाका अधिकांश मेसिन बिग्रिएका छन् । कारखानाभित्र रहेका छुट्टाछुट्टै भवनमा रहेका विभिन्न समान हराउन थालेका छन् । यहाँ ठुलो मात्रामा तार हराएको खुलेको छ । उक्त तार हराएको विषयमा इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन समेत परेको छ ।

dhogo 4

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दान बहादुर थापाले रातोपाटीलाई बताए । धागो कारखानाका निमित्त महाप्रबन्धक डोलराज शर्माले ठुलो मात्रा तामाको तार हराएको जनाउँदै प्रहरीकहाँ निवेदन दिएको बताए । उनले विद्युतको सब स्टेसनबाट मेसिनसम्म विद्युत पुर्याउने तामाको तारको मूल्य १ करोड भन्दा धेरै रहेको बताए ।

dhago 651

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप