शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
विकास निर्माण

नवलपरासीको हुलाकी सडक निर्माणमा ढिलासुस्ती, पटकपटक म्याद थप

शुक्रबार, ०६ पुस २०८०, १२ : ५०
शुक्रबार, ०६ पुस २०८०

बुटवल । नवलपरासी जिल्लास्थित हुलाकी सडक विस्तारका लागि २०७६ सालमा छुट्टाछुट्टै गरी तीन खण्डमा ठेक्का लगाए पनि तीन वटै खण्डको निर्माण कार्यमा ढिलासुस्ती भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्ड विस्तार थालिएपछि हुलाकी सडकलाई विकल्पका रुपमा प्रयोग गर्न थालिएको छ । जसले गर्दा हुलाकी सडकमा सवारी चाप बढेर थप समस्या सिर्जना गरेको छ ।

सडक वरिपरिका बस्ती धुलोले ढाकिएका छन् । साइकल, मोटरसाइकल र पैदल यात्रीलाई समेत धुलोका कारण सास्ती हुने गरेको छ ।

प्रतापपुर गाउँपालिका–८ का स्थानीयवासी युवराज मरियाले लामो समयदेखि सडक निर्माण पूरा नहुँदा आफूहरूले निकै समस्या झेल्नु परेको बताउँछन् ।

उनले रातोपाटीसँग भने, ‘बर्खामा हिलो, पानी नपर्दा धुलोको समस्या छ ।’

प्रतापपुर गाउँपालिका–२ का वडा अध्यक्ष राम नरेश यादवले स्थानीयले समयमै निर्माण सम्पन्न गर्न पटक पटक ध्यानाकर्षण गराएको रातोपाटीलाई बताए । ठेकेदारले निर्माणमा ढिलाइ गरेपछि स्थानीयहरूले बेलाबेला चक्का जाम समेत गरेर विरोध गर्नु परेको उनले सुनाए ।

विभिन्न स्थानमा निर्माण सामग्री राख्ने र कल्भर्ट निर्माणका लागि सडक भत्काएर नपुर्दा आवतजावतमा समस्या भएको गुनासो बारम्बार स्थानीयले गर्दै आएको उनको भनाइ छ ।

3

प्रतापपुर गाउँपालिकाको कठहवादेखि सुस्ता गाउँपालिकाको बेलाटारीसम्म २७ करोडको लागतमा निर्माण हुन लागेको सडकको काम सुस्त छ । ९ किलोमिटर लामो उक्त सडक निर्माणको काम सम्पन्न हुनुपर्ने समयमा जम्मा ४० प्रतिशत मात्र काम भएको छ । २०७७ सालमा निर्माण सुरु भएर २०७९ असार मसान्तसम्ममा सम्पन्न हुनुपर्ने काम पूरा नभएपछि दोस्रो पटक म्याद थपको तयारी छ ।

यो सडकको निर्माणको ठेक्का बज्र गुरु महालक्ष्मी जेभी कम्पनीले लिएको हो ।

जिल्लाको सदरमुकाम परासीदेखि नारायण चोकसम्मको साढे १२ किलोमिटर हुलाकी सडक निर्माणको काम अझैसम्म पूरा भएको छैन । यसको ठेक्का द कन्चन बिरुवा शिवशक्ति जेभीले लिएको थियो । ठेकेदार कम्पनीले भने नदीजन्य पदार्थको अभावका कारण काममा ढिलाइ भएको बताएको छ ।

hulaki sadak

गोपीगन्जदेखि त्रिवेणीसम्म १५ किलोमिटर सडकको अवस्था पनि उस्तै छ ।

हुलाकी सडक आयोजना निर्देशनालय कपिलवस्तुका प्रमुख इन्जिनियर युवराज पाण्डेले नवलपरासी जिल्लामा हुलाकी सडकका तीन वटै खण्डमा समस्या उस्तै रहेको बताए । परासीदेखि नारायण चोकसम्म तुलनामत्क रूपमा केही काम देखिए पनि अन्य खण्डमा खासै प्रगति नदेखिएको उनको भनाइ छ ।

1

कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई बारम्बार निर्देशन दिइएको पाण्डेले बताए । कोरोनाको बेला ठेक्का लागेको कारण सुरुका वर्ष काम गर्न नपाएको र गत वर्ष नवलपरासीमा नदीजन्य पदार्थ उत्खनन निकै छोटो समयमात्रै भएका कारण समयमै काम सम्पन्न हुन नसकेको उनको भनाइ छ ।

उनले रातोपाटीसँग भने, ‘अहिले ठेकेदार कम्पनीले काम निरन्तर गरिरहेका छन् । हामीलाई असारसम्म सक्ने बताएका छन् । समयमै काम सक्न हामीले पनि दबाब दिएका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप