सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

'खाडी मुलुकमा महिला कामदार पठाउन लगाइएको प्रतिबन्ध हटाउनुपर्छ'

शुक्रबार, ०६ पुस २०८०, १४ : २६
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । सरोकारवालाहरुले खाडी मुलुकमा महिलाहरुलाई घरेलु कामदारको रुपमा पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।  

अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसर पारेर शुक्रबार काठमाडाँैमा आयोजित घरेलु कामदारमा जानका लागि लगाइएको पूर्वशर्तहरु सम्बन्धी गालेमेच अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले यस्तो बताएका हुन् । 

कार्यक्रममा श्रमविज्ञ रामेश्वर नेपालले नियन्त्रण गर्नसक्ने अवस्था नभएकाले सरकारले लगाएको प्रतिबन्ध हटाउनुपर्ने बताए । उनले खाडी मुलुकमा घरेलु कामदारको रुपमा महिला पठाउने कुरालाई सरकारले फुकुवा गर्दै  कानूनहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

सत्तारुढ नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले नेपाली महिला कामदारहरु वैदेशिक रोजगारीमा जानुको कारणबारे खोजी गर्न जरुरी रहेको बताइन् । उनले नेपालमा नै महिला श्रमिकहरुले ठूलो पीडा भोग्नुपर्ने अवस्था विद्यमान रहेकाले त्यसको अन्त्य गर्नका लागि सरकारलाई गम्भीर हुन पनि आग्रह गरिन् ।

यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का निमयहरुको पालना नगर्ने देशहरुमा घरेलु काममा लागि महिलालाई वैदेशिक रोजगारमा पठाउने कुरा उपयुक्त नहुने बताए । उनले त्यहाँ गएर आएका महिलाहरुको पीडालाई पनि सम्बोधन हुनेगरी सो सम्बन्धी निर्णय लिनुपर्ने समेत बताए ।

कार्यक्रममा आप्रवासी महिला समूहकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले खाडी मुलुकमा महिलाहरुलाई घरेलु कामदारको रुपमा पठाउन लगाइएको प्रतिबन्ध फुकाउने विषयमा सरकारलाई आफूहरुले सुझाव दिएको बताइन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप