शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

नेपाल माछामा कहिले आत्मनिर्भर हुन्छ ?

शुक्रबार, ०६ पुस २०८०, २० : ३२
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । नेपालमा माछाको कुल मागको करिब ९० प्रतिशत स्वदेशी उत्पादन र १० प्रतिशत आयातित माछाको योगदान छ । यस अर्थमा नेपाल माछामा आत्मनिर्भर नजिक पुगेको देखिन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार वार्षिक औसतमा १ लाख ३ हजार ४ सय २६ मेट्रिक टन माछा उत्पादन हुन्छ । केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रले नेपालमा वार्षिक रुपमा औसत ५ हजार २ सय मेट्रिक टन माछा आयात भएको जनाएको छ ।

केन्द्रकी सूचना अधिकारी तथा वरिष्ठ मत्स्य विकास अधिकृत सुमित्रा लौडारीका अनुसार देशभर वार्षिक करिब १ लाख ८ हजार ६ सय २६ मेट्रिक टन माछाको खपत हुन्छ । नेपाल आफ्नो उपभोगका हिसाबले माछामा आत्मनिर्भर नजिक रहेको लौडारीले बताइन् । ‘माग अनुसार नेपाल आत्मनिर्भर नजिक छ,’ उनले भनिन्, ‘हाल वार्षिक रूपमा सरदर प्रतिव्यक्ति माछाको उपलब्धता ३.५६ केजी छ, तर अन्तर्राष्ट्रिय तुलनामा माछाको उपलब्धता कम हो ।’

विश्वमा औसतमा २०.५ केजी प्रतिवर्ष प्रतिव्यक्ति माछा उपलब्धता भएको संयुक्त राष्ट्र खाद्य एवम् कृषि सङ्गठन (एफएओ) ले उल्लेख गरेको छ । विकसित मुलुकको तुलनामा नेपालमा माछाको उपलब्धता गराएर आत्मनिर्भर हुन कति समय लाग्ने भन्ने आकलन गर्न नसकिने लोडारीले उल्लेख गरिन् ।

नेपालमा उत्पादित माछाको बजार शृङ्खला नियमित तथा व्यवस्थित बनाउने हो भने नेपाल पूर्ण रुपमा माछामा आत्मनिर्भर हुन सक्ने जिउँदो माछा व्यवसाय संघका अध्यक्ष जंगबहादुर साह दाबी गर्छन् । ‘२०६९ सालतिर ४० देखि ४२ हजार मेट्रिक टन माछा खपत हुने गर्दथ्यो,’ उनले भने, ‘हाल आएर नेपाली माछा १ लाख ४ हजार मेट्रिक टन उत्पादन भइ खपत भइरहेको छ ।’

नेपालमा १ लाख ६० हजार मेट्रिक टन माछाको माग भएको साहको दाबी छ । राज्यबाट माछामा आत्मनिर्भर बनाउनका लागि प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रम लागयत विभिन्न कार्यक्रम सञ्चालन भए पनि वास्तविक किसानसम्म सो कार्यक्रम नपुगेको साहले गुनासो गरे ।

नेपालमा कति हुन्छ माछा उत्पादन ?

नेपालमा माछा उत्पादन गर्न उपयुक्त देखिएका प्राकृतिक जलाशयहरू (नदी, नाला, ताल तलैया, धान खेत) हुन् । यी क्षेत्रबाट आर्थिक वर्ष २०७८/०७९ मा १ लाख ८ हजार ३ सय ८५ मेट्रिक टन माछा उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा कुल १ लाख ४ हजार ६ सय २३ हजार मेट्रिक टन माछा उत्पादन भएको छ । आर्थिक वर्ष २०७६/७७ मा ९७ हजार २ सय ७१ मेट्रिक टन माछा उत्पादन भएको थियो ।

माछा पालनमा कृषकको संलग्नता

पोखरीमा मत्स्य पालनतर्फ १ लाख ५० हजारभन्दा बढी कृषकको संलग्नता रहेको केन्द्रले जनाएको छ । त्यस्तै, ट्राउट माछा पालनतर्फ ३८ जिल्लाका करिव २ सय ४० जना कृषक परिवारले वार्षिक रूपमा ६ सय ६८ मेट्रिक टनभन्दा बढी माछा उत्पादन गर्दै आएका छन् ।

अन्य माछा पालन र प्राकृतिक जलाशयबाट माछा संकलन तथा बेचबिखन गर्नेसमेत करिब ३ लाख ९५ हजारले पूर्ण एवं अल्प रोजगारीका अवसर प्राप्त गरेको केन्द्रले उल्लेख गरेको छ । माछा उत्पादनमा पोखरीको योगदान ९५ प्रतिशत छ । सोको ८८ प्रतिशत हिस्सा तराईको उत्पादनबाट प्राप्त भएको केन्द्रले जनाएको छ ।

आत्मनिर्भरको प्रयास

मुलुकलाई माछामा आत्मनिर्भर बनाउन विभिन्न प्रयास भएको केन्द्रले उल्लेख गरेको छ । देशभर सरकारी ९ वटा र निजी १ सय १७ गरी १ सय २६ वटा मत्स्य ह्याचरी छन् । यहाँबाट वार्षिक रूपमा ५१ करोड मत्स्य विज (फ्राई) उत्पादन भएको केन्द्रले जनाएको छ । मत्स्य विजको आपूर्तिमा निजी क्षेत्रले वार्षिक कुल माछा भूराको मागको ८० प्रतिशतभन्दा बढी आपूर्ति गर्दै आएको केन्द्रले उल्लेख गरेको छ ।

ह्याचरीको थप प्रवर्द्धनका लागि तराईमा २ सय २२ वटा नर्सरी, मध्य पहाडी क्षेत्रको करिब ४ सय हेक्टर जलाशयमा विज आपूर्ति गर्न १२ मत्स्य विज स्रोत केन्द्रको स्थापना भएको केन्द्रले जनाएको छ । यस्तै, देशभर सात कार्प जातको माछाको सफल कृत्रिम प्रजनन् हुँदै आएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गुणस्तरीय मत्स्य विजको बढ्दो चुनौतीलाई समयमै सम्बोधन गर्न विगत केही वर्षदेखि कार्पको नश्ल सुधारको कार्यक्रम सञ्चालनमा छ । केही वर्षभित्र पुरानो पुस्ताको बिउलाई नश्ल सुधारको भुराबाट पूर्ण रुपमा विस्थापन गर्ने तयारी भइरहेको लौडारीले उल्लेख गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप