शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

पौने अर्बको लगानी निर्माण भएको अन्तर्राष्ट्रिय सभाहल प्रयोगविहीन

१९ महिनामा जम्मा ७ वटा कार्यक्रम, हलभाडा बापत जम्मा १३ लाख ५० हजार आम्दानी
शुक्रबार, ०६ पुस २०८०, २० : ४३
शुक्रबार, ०६ पुस २०८०

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भएको अन्तर्राष्ट्रिय सभा हल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि सञ्चालन कार्यविधि अझै तयार भएको छैन । परिणाम स्वरुप अहिलेसम्म उक्त हलमा जम्मा ७ वटामात्रै कार्यक्रम भएका छन् ।

दुई चरणमा गरेर झन्डै ७० करोड रुपैयाँ लागतमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले डेढ वर्षको अवधिमा जम्मा सातवटा कार्यक्रमबाट १३ लाख ५० हजार रुपैयाँ मात्र आम्दानी गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

२०७९ साल जेठ २ गते २५६६औँ बुद्ध जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सभाहल उद्घाटन गरेका थिए । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार विकास कोषले अझै सम्म हल सञ्चालनको कार्यविधि निर्माण गरेको छैन ।

यस बिचमा उक्त हलमा आयोजना भएका सात वटा कार्यक्रम लुम्बिनी विकास कोषको सामान्य निर्णयका आधारमा गरिएको हो । चालु आर्थिक वर्षमा उक्त हलमा एउटा पनि कार्यक्रम भएका छैनन् ।

कोषका सूचना अधिकृत बस्नेत भन्छन्, ‘कार्यविधि छैन, गत वर्ष जम्मा ७ वटा कार्यक्रम आयोजना भए, यो आर्थिक वर्ष अझैसम्म एउटा पनि कार्यक्रम भएको छैन ।’

विकास कोष लेखा प्रमुख भीम बस्नेतका अनुसार हाल सम्म १३ लाख ५० हजार रुपैयाँ विकासको कोषको खातामा हल भाडाबापत आएको छ । जसमध्ये गत वर्षको माघमा १० दिने राम कथा प्रवचनको कार्यक्रमबाट ५ लाख रुपैयाँ, हेफर इन्टरनेसनल नामको गैर सरकारी संस्थाबाट १ लाख ५ हजार, सुनेयानी नामक सस्थाबाट १ लाख ५० हजार रकम उक्त हल प्रयोग गरेबापत कोषमा आएको छ ।

यस्तै नेपाल शिक्षक संघ, सत्य शाही सेवा संगठन, श्रुति फाउन्डेसनबाट एक–एक लाख रुपैयाँका दरले रकम आएको छ । यस्तै बुद्धिटह भिक्षु बन्नुभन्दा अगाडि गरिने कार्यक्रमबाट २ लाख रुपैयाँ आएको लेखा प्रमुख बस्नेतले रातोपाटीलाई बताए ।

आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसालले झन्डै पौने अर्ब खर्च गरेर निर्माण भएको सभाहलबाट मासिक एक लाख रुपैयाँ पनि नआउनुले लुम्बिनी विकास कोषको काम गर्ने शैलीमाथि प्रश्न गर्ने धेरै ठाउँ रहेको रातोपाटीलाई बताए ।

international-assembly-hall (3)

अर्थशास्त्री डा. दामोदर भुसालले पनि सम्मेलन केन्द्र शिलान्यास गर्न, उद्घाटन गर्न हतार गर्नेहरूले सञ्चालनमा पनि ध्यान दिनुपर्ने बताए ।

उनले यस्ता महत्त्वपूर्ण आयोजनाहरू निर्माण गर्दा नै कार्यविधि बनाएर काम गर्नु साटो विभिन्न बहाना देखाएर आलटाल गर्दा राज्यलाई नोक्सान भएको जनाए । ‘निर्माण सम्पन्न हुनासाथ यसरी चलाउने भन्ने स्पष्ट योजना नहुँदा  समस्या आएको छ, त्यसमा पहिल्यै स्पष्ट हुनुपर्थ्यो,’ उनले भने ।

२०७३ सालमा २५६०औँ बुद्ध जयन्ती समारोहका लागि खडा गरिएको टेन्ट हावाहुरीले उडाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम स्थलबाटै लुम्बिनीमा पाँच हजार जना अटाउने सभा हल निर्माण गर्ने घोषणा गरेका थिए ।

२०७५ साल वैशाख १७ गते २५६२ औँ बुद्ध जयन्तीका दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सभा हलको शिलान्यास गरेकी थिइन् । दुई वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको भए पनि चार वर्षमा निर्माण पूरा भएको उक्त सभा हल २०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

विकास कोषका प्रमुख इन्जिनियर सरोज भट्टराईले कार्यविधि ल्याउने अन्तिम तयारी भएको बताए । उनले केही भौतिक संरचनासँगै भित्र साउन्ड सिस्टम, गार्डेन, एसी, वाइफाई आदि निर्माणको काम बाँकी रहेको खुलाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप