मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

जनतासँग माओवादी रूपान्तरण कार्यक्रम सशक्त ढङ्गले अघि बढिरहेको छ : जनार्दन शर्मा

शनिबार, ०७ पुस २०८०, १५ : ४३
शनिबार, ०७ पुस २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले जनतासँग माओवादी रूपान्तरण सशक्त ढङ्गले अघि बढिरहेको बताएका छन् । शनिवार जनतासँग माओवादी विशेष रूपान्तरण कार्यक्रम अन्तर्गत बुढानीलकण्ठ नगरस्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले यो अभियानबाट निरन्तर जनतासँगको एकता, सहकार्यलाई निरन्तरता दिँदै पार्टी अघि बढिरहेको उल्लेख गरे । नेता शर्माले बागमती प्रदेशका तमाम समस्याप्रति सरकारको ध्यानाकर्षण गरेको पनि जानकारी गराए ।  

उनले देशमा सङ्घीयता, समावेशी, समानुपातिक प्रणालीको एजेन्डा माओवादीले अघि बढाएर त्यसमा सफलता पाए पनि त्यसको स्वामित्व लिन माओवादी पछि परिरहेको जनताले बताइरहेको उल्लेख गरे ।  किसान, सबै क्षेत्रमा काम गर्ने जनताहरूले सबै क्षेत्रमा माओवादीका नेताहरू पुगेर त्यहाँका समस्याहरू समाधानका लागि अग्रसर हुन आग्रह भइरहेको उनले बताए । 

नेता शर्माले भने– ‘हामीले ठुलो त्याग र बलिदानबाट रोपेको सङ्घीय गणतन्त्रको बिउबाट माओवादी आन्दोलनबाट जुन भूमिका निर्वाह भएको थियो, त्यो आन्दोलनलाई आज विकास गर्नुपर्ने आवश्यकता छ । हिजो रोपेको खेतीमा पर्याप्त समय दिन नसक्दा जनतामा देखिएको असन्तुष्टि माओवादी रूपान्तरण अभियानबाट त्यसमा मल जल गर्नुपर्छ भन्ने जनताको दृष्टिकोण छ । म प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु सरकारबाट पनि यो कुरा लागू गरिनेछ ।’

जनताले सुकुम्वासी अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न, रोजगारीको वातावरण बनाउन आग्रह गरेको बताउँदै सरकारले यसका लागि काम गर्ने आफूले विश्वास गरेको उनले बताए । 

काठमाडौँ सांस्कृतिक सहरलाई संरक्षण गर्न तिमीहरूको ध्यान पुगेन भनेर नेवार समुदायले भनेको बताउँदै यो अभियानबाट जनताको चाहना के छ भनेर थाहा पाइरहेको बताए । नेवार, तामाङ, मगर समुदायले आज तिमीहरू कहाँ हरायौ भनेर प्रश्न गरिरहेको बताउँदै उनले जनतासँग माओवादी रूपान्तरण सशक्त ढङ्गले अघि बढिरहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप