शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको औद्योगिक उत्पादन घट्यो, अत्यावश्यक औषधिको उत्पादनमा समेत ह्रास

बिहीबार, १२ पुस २०८०, २२ : ००
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । लुम्बिनी प्रदेशको औद्योगिक उत्पादनमा ह्रास आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रदेशका नमुना छनौटमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ५०.८२ प्रतिशत मात्र रहेको बैंकले जनाएको हो । 

गत वर्षको सोही अवधिमा समग्र प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ५६.३६ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा कागज, रोजिन, मदिरा र चामलको उत्पादनमा क्रमशः ३२.१४ प्रतिशत, २७.१६ प्रतिशत, २५.६२ प्रतिशत, १०.०५ प्रतिशत र ४.१६ प्रतिशतले वृद्धि भएको छ । तर, सो वर्ष पूर्वाधार निर्माणमा आएको शिथिलताका कारण कङ्क्रिट र सिमेन्टको उत्पादनतर्फ भने क्रमशः २२.५८ प्रतिशत र १.७० प्रतिशतले ह्रास आएको बैंकले जनाएको छ । समीक्षा वर्षमा आल्मुनियम, बिजुलीको तार÷केबुलको उत्पादनमा क्रमशः २९.४२ प्रतिशत र ३४.४८ प्रतिशतले ह्रास भएको छ ।

यसैगरी यस वर्ष गहुँको पिठो र चाउचाउको उत्पादनमा क्रमशः २१.३६ प्रतिशत र ११.३५ प्रतिशतले ह्रास भएको छ । औषधीको उत्पादन तर्फ ड्राइ स्यारोप, लिक्यूड र क्याप्सुलको उत्पादनमा क्रमशः २९.६९ प्रतिशत, १९.७४ प्रतिशत, ८.९३ प्रतिशत र ६.०६ प्रतिशतले ह्रास आएको बैंकको तथ्याङ्कले देखाएको छ ।

यद्यपि, समीक्षा वर्षमा औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधिको तुलनामा ५.९५ प्रतिशतले वृद्धि भई रु.१ खर्ब २६ अर्ब २८ करोड ५५ लाख पुगेको छ भने यस प्रदेशमा प्रवाहित कुल कर्जामा यसको हिस्सा २२.८२ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप