शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको कृषि उत्पादन ५ प्रतिशतले बढ्यो

बिहीबार, १२ पुस २०८०, ११ : ३८
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । लुम्बिनी प्रदेशको कृषि उत्पादन बढेको छ । आर्थिक वर्ष २०७९/८० मा समग्र प्रदेशको कृषि बाली उत्पादन ५.०७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।  बिहीबार आर्थिक वर्ष २०७९/८० को प्रदेशको आर्थिक स्थितिको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले समीक्षा वर्षमा प्रदेशको खाद्य तथा अन्य बालीको उत्पादन बढेको जनाएको हो ।

समीक्षा वर्षमा खाद्य तथा अन्य बालीको कुल उत्पादनमध्ये धान, मकै, जौ, आलु, भटमास र तेलहन बालीको उत्पादन वृद्धि भएको छ भने गहुँ, कोदो, फापर, उखु, सनपाट र दलहन बालीको उत्पादनमा ह्रास आएको छ । त्यसैगरी समीक्षा वर्षमा तरकारी, फलफूल र मसलाको उत्पादन क्रमशः५.५६ प्रतिशत, २२.०६ प्रतिशत र ९.६१ प्रतिशतले वृद्धि भएको छ । 

समीक्षा वर्षमा पशुपन्छीजन्य उत्पादनमध्ये दूध उत्पादनमा ६.३० प्रतिशत र मासु उत्पादनमा ४.८० प्रतिशतले ह्रास आएको छ भने माछा उत्पादन १०.६३ प्रतिशतले वृद्धि भएको छ । लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल गत वर्षको तुलनामा ०.८५ प्रतिशतले ह्रास भएको छ ।

खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफलमध्ये मकै, गहुँ, फापर, आलु र भटमास बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको छ भने धान, कोदो, जौ, उखु, तेलहन र दलहनको क्षेत्रफल ह्रास आएको छ ।

यसैगरी समीक्षा वर्षमा तरकारी, फलफूल र मसला बालीले ढाकेको क्षेत्रफल क्रमशः २.४७ प्रतिशत, ९.२३ प्रतिशत र ५.५३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा वर्षमा वनजन्य उत्पादन अन्तर्गत काठ, दाउरा, औषधीजन्य वस्तु र अन्य उत्पादन क्रमशः ४९.४७ प्रतिशत, ७०.९९ प्रतिशत, १०.१९ प्रतिशत र ४.८६ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा कुल खेती गरिएको क्षेत्रफलको ४४.८८ प्रतिशत हिस्सा सिञ्चित भएको छ । सिञ्चित क्षेत्रफलगत वर्षको सोही अवधिको तुलनामा १.३७ प्रतिशतले वृद्धि भई २ लाख ५५ हजार ३६ हेक्टर पुगेको छ । समीक्षा वर्षमा कृषि क्षेत्रमा प्रवाहित कृषि कर्जा ७.५२ प्रतिशतले वृद्धि भई रु.५४ अर्ब १० करोड ६६ लाख पुगेको छ । जुन यस प्रदेशमा प्रवाहित कुल कर्जाको ९.७८ प्रतिशत हिस्सा हो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप