शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बालकुमारी घटना

फिल्ड कमान्डर डीएसपी लम्सालसहित मन्त्रीका पीएसओ दनुवार निलम्बित

ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक सुवेदी पनि निलम्बित
शनिबार, १४ पुस २०८०, २२ : ०२
शनिबार, १४ पुस २०८०

काठमाडौँ । बालकुमारीमा प्रदर्शनका क्रममा दुई जना युवकको ज्यान गएपछि गृह मन्त्रालयले घटनास्थलमा सुरक्षा कमान्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई निलम्बन गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने पनि मन्त्रालयले निर्णय गरेको हो ।

त्यस्तै ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय सम्बन्धित मन्त्रालयबाट भएको मन्त्रालयले जानकारी दिएको छ । साथै ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ ।

शुक्रबार ललितपुर महानगरपालिका वडा नं. ८ बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछाम चौरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौँ बस्ने वर्ष २१ को वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ को सुजन राउतको मृत्यु भएको थियो । गृह मन्त्रालयले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ । नेपाल सरकारका तर्फबाट मृतकका परिवारलाई प्रति परिवार दश लाख राहत रकम उपलब्ध गराउने र उक्त घटनाको छानबिन गर्न मन्त्रालयबाट गठन गरिएको छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिएको छ । 

‘यस दुःखद घटनाका सन्दर्भमा गृह मन्त्रालय अत्यन्त संवेदनशील रहेको छ र उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछ । सबै नागरिकहरूले आफ्ना विषयहरू शान्तिपूर्ण रूपमा राख्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्न सरकार निरन्तर लागि परिरहेको ब्यहोरा सम्बद्ध सबैमा मन्त्रालय अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

WhatsApp Image 2023-12-30 at 17.24.37_77c1b286

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप